Comments Add Comment

डडेल्धुरा साक्षर जिल्ला घोषित

९ वैशाख, डडेल्धुरा । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुरालाई साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आइतबार डडेलधुरालाई साक्षरता जिल्ला घोषणा गरेका हुन् ।

साक्षर घोषणा भएको डडेल्धुरा देशको ५० औं जिल्ला हो । जिल्लामा १५ देखि ६० वर्ष उमेरको कुल जनसंख्या ८९ हजार ८ सय ८ रहेकोमा ८६ हजार ९ सय ३२ जना साक्षर रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

१५ देखि ६० वर्षसम्मका नागरिकमध्ये ९६.८ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षरता जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायणदत्त भट्टले बताए । उनका अनुसार जिल्लामा अझै २ हजार ८ सय ७६ जना निरक्षर छन् ।

साक्षरताका लागि तोकिएका १२ मापदण्डमध्ये न्यूनतम ७ मापदण्ड पूरा गरेकाले जिल्लाका ७ वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएको थियो । साक्षरता अभियानको लागि जिल्लामै सरोकारवाहरुको गठित समितिले कुल जनसंख्याको न्युनतम ९५ प्रतिशत जनसंख्या साक्षर भएको पाइएमा साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको थियो ।

साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले साक्षरता अभियानसँग विद्यार्थी भर्ना अभियान जोड्न जरुरी रहेको बताए । जिल्लाहरुलाई धमाधम साक्षर जिल्ला घोषणा गरे पनि विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन नसकेको उनले बताए ।

‘अझै धेरै बालबालिका विद्यालय बाहिर छन्, सबै स्थानीय तहले तिनको तथ्यांक खोजेर विद्यार्थी भर्ना अभियानलाई तदारुकताका साथ अगाडि बढाउनुपर्छ,’ उनले भने ।

मन्त्री पोखरेलले भने, ‘९६.८ प्रतिशत पछि बाँकी रहेका ३.२ प्रतिशत निरक्षरको खोजी गरेर साक्षर बनाएमात्र पूर्णरुपमा साक्षर जिल्ला बन्नेछ ।’

आर्थिक, भौगोलिक विकटता र साँस्कृतिक कारणले बालबालिकाहरु विद्यालयमा आउन नसकिरहेको उनले औंल्याए । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन यी तीन वटा कारणलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने उनको तर्क थियो ।

मन्त्री पोखरेलले सरकार राष्ट्रिय शिक्षा नीति बनाउन लागिरहेको पनि बताए । उच्चस्तरीय शिक्षा आयोगले गत माघ १ गते प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाइसकेको जानकारी दिँदै उनले सो मस्यौदा मन्त्रिपरिषदमा पेश भइसकेको बताए । अब चाँडै राष्ट्रिय शिक्षा नीति पास हुने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment