Comments Add Comment

हस्पिटालिटी सेवाः पाहुना छन्, सेवक छैनन्

सरकारको लक्ष्य छ, बर्षमा २० लाख पर्यटक भित्र्याउने । समस्या के छ भने, पर्यटकलाई एउटै क्याटगोरीमा राखेर हेर्न मिल्दैन । पर्यटक थरीथरीका हुन्छन् ।

कोही घुमफिरका लागि आउने, कोही अध्ययनका लागि आउने, कोही व्यवसायका लागि आउने । यसैगरी उनीहरुको गन्तव्य पनि एकनास हुँदैन । कोही हिमाल चढ्ने, कोही सौराह घुम्ने, कोही पोखराको फन्को लगाउने, कोही जनकपुर पुग्ने, कोही लुम्बिनी अवलोकन गर्ने ।

तर, हामीले पर्यटकको विधा र गन्तव्यलाई एकमुष्ठ हेरिरहेका छौ । यसले गर्दा उनीहरुलाई दिने सेवा-सुविधा पनि स्पष्ट छैन । कोही धार्मिक पर्यटक हुन्छन्, कोही सौन्दर्यका पारखी । उनीहरुलाई हामीले उनीहरुको विधा अनुसार उपयुक्त सेवा र सुविधा दिन सक्नुपर्छ ।

नेपालमा पर्यटनको प्रचुर संभावना छ । हामीसँग लाखौं-लाख पर्यटकलाई लोभ्याउने प्राकृतिक सौन्दर्य छन् । खोज-अध्येतालाई आकषिर्त गर्ने पुरातात्विक महत्वका संरचना छन् । तिर्थालुहरुलाई तान्ने मठमन्दिर र देवस्थलहरु छन् । भोलिका दिनमा यिनी सम्पदाहरुले तानेर लाखौं लाख पर्यटकलाई नेपाल भित्र्याउनेछ । त्यसबेला हामीले उनीहरुलाई हार्दिकतासाथ आतिथ्य दिन सकौला ? उनीहरुको यातायात, बसोबास, खानपानको उपयुक्त व्यवस्था गर्न सकौला ? फेरी-फरी आउनेगरी रहरलाग्दो सेवासुविधा दिन सकौला ?

यस्तो छ हाम्रो हस्पिटालिटीको अवस्था

हामीलाई के थाहा छ भने, पर्यटकको ओइरो लागेमा हामी समृद्ध हुन्छौं । उनीहरु यहाँ आउनेछन्, हामीले दिने सेवा सुविधा उपभोग गर्नेछन् । हाम्रा उत्पादन उपभोग गर्नेछन् । तर, हामीलाई थाहा नभएको कुरा के छ भने, यसरी आउने पर्यटकलाई कसरी उपयुक्त सेवा सुविधा दिने ? उनीहरु नेपाल किन आउँछन् ? कसरी आउँछन् ? उनीहरुको उदेश्य र गन्तव्य के हो ?

हामीले पर्यटकलाई तान्नका लागि आफ्नो तर्फबाट पनि प्रशस्तै मेहनत गर्नुपर्छ । खासगरी हस्पिटालिटी क्षेत्रलाई बलियो, भरपर्दो, सेवामुखी र पर्यटनमैत्री बनाउनुपर्छ ।

सेवक खै त ?

पर्यटक छन् । पर्यटकलाई लोभ्याउने प्राकृतिक सौन्दर्यदेखि भौतिक संरचनासम्म छन् । तर, यसरी आउने आगन्तुकलाई सेवा सुविधा दिलाउनका लागि हामीकहाँ जनशक्ति पुग्दो छैन ।

कामको खोजीमा दिनहुँ औसत १५ सय विदेशिदै गरेको अवस्थामा यो कुरा अलि अपत्यारिलो लाग्न सक्छ कि, हामीकहाँ काम छ । काम गर्ने मान्छे छैनन् । खासगरी हस्पिटालिटी क्षेत्रमा ।

कुक, वेटर देखि अरु थुप्रै किसिमको जनशक्ति अभाव छ, यस क्षेत्रमा । काठमाडौं, पोखरा जस्ता शहरी क्षेत्रमा त जेनतेन पाइएला । तर, काठमाडौं बाहिरका स्थानमा हस्पिटालिटीका लागि उपयुक्त जनशक्तिको चरम अभाव नै छ ।

त्यही कारण हामी यस किसिमको जनशक्ति उत्पादनमा पनि लाग्ने तयारीमा छौं । संभवत सिटिइभिटीबाट सम्बन्धन लिएर हस्पिटालिटीको विभिन्न कोर्स सञ्चालन गर्ने हाम्रो योजना छ ।

हस्पिटालिटीमा हाम्रो अभ्यास र प्रयास

मैले सिंगापुरमा होटल म्यानेजमेन्टको अध्ययन गरेर नेपाल फर्किएँ । यहाँ फर्किएपछि हायत रिजेन्सी, र्‍याडिसन र होटल अन्नपूर्णमा विभिन्न भूमिकामा रहेर काम गरें ।

मलाई यी तारे होटलहरुमा काम गरिरहँदा के लाग्यो भने, ‘काम गर्ने कालु मकै खाने भालु’ भनेजस्तै । अधिकांश होटलमा विदेशीका लगानी । तर, काम गर्ने स्वदेशी । उनीहरुले सम्पूर्ण होटल रेखदेखका लागि एक जना व्यक्ति आफ्नो तर्फबाट खटाउँछन् । उनकै अह्राई-खटाईमा हामी नेपालीहरु लाग्नुपर्ने ।

यसमा मेरो कुनै विरोध होइन । तर, यसरी काम गरिरहँदा मलाई के अनुभव भयो भने हामी नेपाली आफै सक्षम छौं । हामी आफैमा पनि त्यतीका होटल सञ्चालन गर्ने क्षमता छ । हामीसँग उम्दा जनशक्ति छन् । त्यसो भए किन आफै सुरु नगर्ने ?

मेरो जस्तै मत मिल्ने अरु तीन जना साथी जोडियौ । २ जना स्विटजरल्यान्ड र एक जना अष्ट्रेलियाबाट हस्पिटालिटीकै अध्ययन गरेर फर्किएका । साथै नेपालका पाँच तारे होटलमा काम गरेका । हामी चार भाई मिलेर ‘पिक हस्पिटालिटी म्यानेजमेन्ट’ स्थापना गर्‍यौं । आफुले यसअघि गरिरहेको कामबाट बिदा लियौं । र, हस्पिटालिटीलाई फरक ढंगबाट अगाडि बढाउनका लागि लागिपर्यौं ।

हामी कुनैपनि होटल, जसले हाम्रो मापदण्ड पुरा गर्छ, त्यसको व्यवस्थापन जिम्मा लिन्छौं । अहिले हामीले सिनामगंलको एयरपोर्ट होटल र भैरहवाको अर्को एक होटलको व्यवस्थापन सम्हाल्दैछौ । यसैगरी हामी देशभरका विभिन्न होटल/रेष्टुरेन्टको व्यवस्थापन हेर्नेछौ । यसैगरी हस्पिटालिटी सम्बन्धी कुनैपनि परामर्श हामी उपलब्ध गराउनेछौं । हस्पिटालिटी क्षेत्रकै जनशक्ति उत्पादन गर्ने तयारी पनि छ ।

हाम्रो योजना चाहि के छ भने, बुद्धिष्ट सर्कल बनाउने, जस्तो काठमाडौंको स्वयम्भु, बौद्ध हुँदै लुम्बिनीबाट वाराणसी । भारत वा देशबाहिर पनि हामी यस किसिमको एउटा चक्र बनाउनेछौ, जहाँ बौद्धमार्गीहरुको गन्तव्य छन् ।

नेपालीहरु घुम्न थाले

विगतमा घुमफिर गर्ने भनेको विदेशी मात्र हुन् भन्ने लागेको थियो । विदेशीहरु नै नेपाल घुम्न आउथे र हाम्रो पर्यटन व्यवसाय उनीहरुकै आडमा चलेको थियो ।

अहिलको अवस्था भने फरक छ । अहिले नेपालीहरु पनि घुमफिरमा रमाउन थाले । आन्तरिक पर्यटनले बढाव पाइरहेको अवस्था छ । नयाँ बर्ष, चाडपर्व जस्ता विशेष अवसरमा नेपालीहरु आफ्नै देशको फन्को लगाउन थालेका छन् ।

नेपालीहरु खर्चालु पनि छन् । उनीहरु मन खोलेर खर्च गर्छन् । तर, समस्या के छ भने हामीस्तरिय वा उन्नत होटल, रेष्टुरेन्टको सेवा सुविधा लिन अलि हच्किन्छौं । फाइभ स्टार होटलमा पस्नै डराउँछौं । एक किसिमको हाउगुजी छ । निश्चय पनि तुलनात्मक रुपमा सामान्य होटलभन्दा फाइभ स्टार होटल महंगो हुन्छ । तर, उसको खानेकुराको गुणस्तर, सेवा सुविधा पनि उच्चस्तरकै हुन्छ । अर्को कुरा के भने, हामी नेपालीले फाइभ स्टारमा हुने खर्च अन्यत्र गरिरहेका हुन्छौ ।

यदि खर्च नै गर्ने हो भने, त्यही अनुसारको सेवा सुविधा लिएर किन खर्च नगर्ने ?

लेखक पिक हस्पिटालिटी म्यानेजमेन्टका उपाध्यक्ष हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment