Comments Add Comment

बसपार्कका सुकुम्बासी, सक्कली भन्दा नक्कली धेरै !

९ वैशाख, पोखरा । ४ दशकअघि पोखरा नगर उपत्यका विकास समितिले बसपार्क बनाउन २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । अधिग्रहण गरेको जग्गामा बसपार्क त बनेन नै भएको क्षेत्रमा मिचिएर खुम्चिँदै गएको थियो ।

जसका कारण यसबारे चौतर्फी विरोध पनि हुँदै आएको छ । बसपार्क बनाउन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले त्यहाँ बसेको बस्ती हटाउनुपर्ने र त्यसका लागि वास्तविक सुकुम्बासी र जग्गा पुर्जा धनी छुट्याउन भनी फागुन १० गते ४ सदस्यीय समिति गठन गरेका थिए ।

उक्त समितिले बसपार्कभित्र बसोबास गर्नेहरु अधिकांश सुकुम्बासी नै रहेको प्रतिवेदन बुझाएको हो । समितिले सबै क्षेत्रफलमा अवैध बसोबास भएर ४० रोपनी जग्गामात्रै सुरक्षित रहेको प्रतिवेदन प्रस्तुत गरेको छ । समितिमा पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेको संयोजकत्वमा पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल, पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बराल र पोखरा ८ का वडासचिव लोकदर्शन कोइराला सदस्य सचिव छन् ।

वैशाख ६ गतेको बसेको कार्यपालिका बैठकमा छानबिन समितिले प्रतिवेदन पेश गरेको थियो । बसपार्कमा बसोबास गर्ने सुकुम्बासीमध्ये केही वर्षौं पहिलेदेखि नै बसोबास गर्दै आएको र केही नयाँ समेत थपिएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

केही एकै घरका परिवार पनि फरक फरक रुपमा बसेको पाइएको प्रतिवेदनमा खुलाइएको छ । समितिले नगर विकास समितिले वितरण दिएको जग्गाधनी लगत, शिव टोल, गणतन्त्र टोल र कृष्ण टोलको लगत लिई त्यस बमोजिम अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

१ सय ४ परिवारसँग लालपूर्जा

समितिले कार्यपालिकामा पेश गरेको प्रतिवेदन अनुसार बसपार्कमा बसोबासभरि १ सय ४ जनाको मात्रै जग्गाधनी पुर्जा छ । जसमध्ये बसपार्कको पूर्व मोहोडातर्फ ३१ जना पुर्जा भएका जग्गा धनी छन् । बसपार्कको दक्षिण मोहोडातर्फ ११ जना पुर्जा भएका जग्गा धनी छन् । पृथ्वी राजमार्ग मुलबाटोतर्फ २५ जना पुर्जा भएका जग्गाधनी छन् । पश्चिम मोहोडामा ३७ जनाको जग्गा धनी पुर्जा भएको प्रतिवेदमा उल्लेख छ ।

यो पनि पढ्नुहोस बसपार्कभरि आवादी, सडकभरि गाडी पार्किङ !

छानबिन समितिका संयोजक रामराज लामिछानेले जग्गा पुर्जा भएका ठाउँमा जग्गाधनी नबसी सुकुम्बासी नै बसेको पाइएको जानकारी दिए । ‘जग्गाधनी पुर्जा भए पनि त्यहाँ सबै सुकुम्बासी नै बसेका हुनाले वास्तविक जग्गाधनीहरु पनि अन्यत्र ठाउँमा बसिरहेको देखिएको छ,’ उनले भने, ‘जग्गा धनी आफ्नो जग्गामा बसेका छैनन् ।’

लामिछानेले कुनै कुनै जग्गाधनीले भने जानाजान जग्गा छोडेर आफू पनि सुकुम्बासी बनेर बसेको पाइएको खुलाए । ‘कुनै जग्गा धनीहरुचाहिँ आफ्नो जग्गामा आफैं सुकुम्बासी राखेर आफूहरु पनि सुकुम्बासीजस्तो बनेर अन्यत्र बसेको पाइयो,’ उनले भने, ‘कुनै जग्गाधनीले आफ्नो जग्गासमेत व्यापारका लागि अन्यलाई भाडामा दिएका रहेछन् ।’

बसपार्क बनाउन जग्गा अधिग्रहण गर्दा जग्गा धनीलाई २ रोपनी जग्गावापत राजमार्ग मोहोडा बनाई ८ मिटर मोहोडा, १५ मिटर पिछाड र बसर्पाकतर्फ फर्केका १५ मिटर मोहोडा र २० मिटर पिछाड घडेरी दिइएको थियो ।

२ सय ७६ परिवार सुकुम्बासी

कार्यपालिका बैठकमा समितिले बुझाएको प्रतिवेदन अनुसार बसपार्कमा जग्गाधनी पुर्जाबिनै २ सय ७६ जना अवैध बसोबास गरिरहेको पाइएको छ । समितिले विभिन्न जिल्लाबाट आएर बसपार्कको जग्गामा बसोबास गरिरहेको प्रतिवेदन प्रस्तुत गरेको छ ।

बसपार्क बीच भागमा ६ परिवारले अनाधिकृत रुपमा संरचना बनाएका छन् । त्यहाँ बसोबास गर्नेमध्ये सबैजसो कास्कीकै रहेको प्रतिवेदनमा उल्लेख छ । शिवटोल अन्तर्गत मुल सडकबाट पश्चिमतर्फ ३५ परिवारले बसपार्कको जग्गा हडपेका छन् । त्यसरी जग्गा हडप्नेहरु कास्की, लमजुङ, तनहुँ, स्याङजा, खोटाङलगायत जिल्लाबाट आएको प्रतिवेदनमा उल्लेख छ । उक्त क्षेत्रभित्र सहारा आधारभूत विद्यालय, एउटा समाज घर र एउटा मन्दिरले समेत मापदण्ड मिचेको देखिएको छ ।

गणतान्त्रिक टोलमा ५९ परिवारले जग्गाधनी पुर्जा विपरीत संरचना बनाएका छन् । त्यसरी अवैध संरचना बनाउनेमा कास्की, बाग्लुङ, रुपन्देही, चितवन, पर्वत, सर्लाहीदेखि सुनसरी लगायत जिल्लाबाट आएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार उक्त क्षेत्रमा समेत एउटा समाज घर बसपार्कको जग्गा मिचेर निर्माण भएको छ ।

कृष्ण टोल अन्तर्गत बसपार्कमा नगर उपत्यका विकास समितिले बसपार्क बनाउन अधिग्रहण गरेको जग्गामा १ सय ९४ परिवारले अवैध रुपमा जग्गा हडपेको प्रतिवेदनमा उल्लेख छ । त्यस स्थानमा अवैध रुपमा बसोबास गर्नेमा अधिकांश स्याङ्जाका स्थायी बासिन्दा भएको र त्यसबाहेक तनहुँ, कास्की, गोरखा लगायत जिल्लाबाट आएको प्रतिवेदनमा उल्लेख छ ।

अब काम छिटो सुरु हुन्छ : मेयर जिसी

पोखरा महानगरका मेयर मानबहादुर जिसीले समितिले प्रतिवेदन बुझाइसकेकाले त्यसै अनुरुप काम सुरु गरिने बताए । उनले बसपार्कमा अधिकांश सुकुम्बासी बसेको प्रतिवेदन आएकाले अब उनीहरु वास्तविक सुकुम्बासी हुन् या होइनन् भन्नेबारे थप अध्ययन गरिने सुनाए ।

‘बाहिर जिल्लाबाट यहाँ आएर सुकुम्बासी बनेर बसेका छन् । पोखरामा पो घर नहोला उनीहरुको ठाउँमा त होला नि !’ मेयर जिसीले भने, ‘यसबारे पनि हामी चाँडै छानबिन गरेर नतिजा निकाल्छौं ।’ उनले पहिलो प्राथमिकतामा बसपर्क बनाउनु नै रहेकाले कुनै हेलचेक्र्याईं नगरिने प्रष्ट्याए ।

मेयर जिसीले प्रतिवेदनमा आएका जग्गा धनी पुर्जा भएकालाई उचित क्षतिपूर्ति दिने बताए । बसपार्क बनाउन बजेटको अभाव नभएको र बसपार्कमा बसेकाहरुको पनि सहमति भइसकेकाले आफ्नै कार्यकालमा सुरु गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment