Comments Add Comment

धर्म के होइन ?

धर्म के हो ? यसको जवाफ एकछिन थाती राखौं । बरु धर्म के होइन ? यसबारे चर्चा गरौं । अहिले समाजमा धर्म र धार्मिक सम्प्रदायको नाममा विभिन्न भ्रमजाल विच्छ्याइएको छ ।

यदि तपाईंलाई कसैले फलानो धर्ममा लाग्नुपर्छ भन्छ भने सोध्नुहोस्, ‘के उनी देवदूत हुन् ?’ किन उनले ‘धर्मको प्रचार गर्ने’ ठेक्कापट्टा लिएका छन् ? तपाईंलाई कुनै धर्ममा प्रेरित गरेर उनले के पाउँछ ?

तपाईंलाई कसैले ‘यो धर्ममा लाग्नुपर्छ, त्यो धर्म त्याग्नुपर्छ’ भन्छ भने तपाई आफै गोलचक्करमा फस्दै हुनुहुन्छ । किनभने धर्म कसैको पेवा वा ठेक्का होइन । उनीहरुले तपाईंलाई प्रलोभन देखाएर वा डर देखाएर धर्म बदल्नुपर्छ वा कुनै धर्ममा प्रेरित गर्छ भने त्यो सरासर झुट हो । झुटको खेती हो । तपाईंको अवोधपनमाथि गरिने अत्याचार हो ।

किनभने अहिले समाजमा जुन कुरालाई धर्म भनेर प्रचार गरिंदैछ र जसरी धर्मका लागि दोषारोपण भइरेका छन्, ति कुनै धर्म होइनन् । धर्ममा गुट-उपगुट हुन्छ भनेर तपाईं विश्वास गर्नुहुन्छ ? धर्ममा घृणा-अपहेलना हुन्छ ? धर्ममा अर्का-आफ्नो हुन्छ ? धर्ममा मतभेत हुन्छ ?

मन्दिर कि चर्च ?

एकथरी भन्छन्, ‘मन्दिर जानुपर्छ, पूजापाठ गर्नुपर्छ । तप-जप गर्नुपर्छ । शंख-घण्ट बजाउनुपर्छ । भजन किर्तन गर्नुपर्छ । तीर्थयात्रा गर्नुपर्छ ।’ अर्काथरी भन्छन्, ‘चर्च धाउनुपर्छ । प्रार्थना गर्नुपर्छ । बपतिस्मा लिनुपर्छ । बाइबल पढ्नुपर्छ ।

कोही गुम्बा धाउनुपर्छ भन्छन्, कोही मस्जिद । कोही बौद्धमार्गी बन्नुपर्छ भन्छन्, कोही हिन्दु । अखिर कहाँ धाउँदा धर्म हुन्छ ? के गर्दा पाप मोचन हुन्छ ? कसरी पूण्य आर्ज हुन्छ ? कसले तपाईंलाई स्पष्टसँगले भन्न सक्छ ?

वास्तवमा धर्मको लोभ र पापको भय देखाएर हामीकहाँ राजनीति र व्यापार भइरहेको छ । बौद्ध, हिन्दु, ईशाई, इस्लाम आदि दर्शन र पद्धतीको अपव्याख्या गरेर दुरुपयोग गरिदैछ । किनभने यिनीहरुको मर्म र महत्व आ-आफ्नो ठाउँमा उच्च अनि विशिष्ठ छन् । कुनैपनि कमसल र कुनैपनि उच्चतम छैनन् । भूगोल, हावापानी अनुसार सबै उत्तिकै महत्वपूर्ण छन् ।

हो, हामीले मठ मन्दिर बनाएका छौ । मन्दिर धाउनु, पूजाआजा गर्नुको बेग्लै महत्व छ । यो शरीर विज्ञान र मानसिक स्वास्थ्यसँग जोडिएको कुरा पनि हो । तर, हाम्रा पूजारी, कथित धर्मगुरुहरुले यसको सही व्याख्या गर्दैनन् । सही महत्व दर्शाउँदैनन् । किनभने उनीहरु या त भ्रममा छन्, या कुटिल चाल चाल्दैछन् ।

हामीले चर्च बनाएका छौ । प्रार्थना गरेका छौ । बाइबल पढेका छौ । यी सबै कुरा पनि आफ्नो ठाउँमा महत्वपूर्ण छ, यदि सही विधी पालना गरेका छौ र सही ढंगले बुझेका छौ भने । तर, आज ‘धर्मका ठेकेदार’ले चर्च धाउनुको, प्रार्थना गर्नुको खास अर्थ बुझाउँदैनन् । बाइबलको रहस्य बताउँदैनन् । आफुखुसी यसको अपव्याख्या गरेर फाइदा लिने चेष्टा गर्छन् ।

तपाईं गीता वा कुनै हिन्दु ग्रन्थ पढ्नुहोस्, तपाईंको जीवन कसरी राम्रो, सहज हुन्छ भन्ने नै त्यसमा खुलाइएको हुन्छ । ठिक यसैगरी बाइबलको आशय बुझेर पढ्नुहोस्, त्यसले पनि तपाईंलाई सही जीवन पद्धतीमा डोहोर्‍याउँछ ।

ईशाई, बौद्ध, हिन्दु, इस्लाम सबै एक आस्था र विश्वासको पुञ्ज पनि हुन्, जसले मानव जीवनलाई बाँच्न र हाँस्न प्रेरित गर्छ ।

तर, टुप्पी बाँधेर गीता पाठ गर्नु, घुँडा धसेर बाइबल घोक्नुको कुनै अर्थ छैन । त्यसको महत्व र मर्म नबुझी पढ्नु भनेको समय नष्ट गर्नु मात्र हो । ठिक यसैगरी मन्दिर धाउनुको अर्थ नबुझी मन्दिर धाउनु, मस्जिद धाउनुको अर्थ नबुझी मस्जिद धाउनुको पनि अर्थ छैन ।

आँखा चिम्लेर मन्दिरको एक सय आठ फन्को लगाएर पूण्य प्राप्त हुँदैन । यदि त्यसो हुँदो हो त संसारका सबैभन्दा धर्मात्मा पूजारीहरु हुने थिए ।

धर्म कि जीवन पद्धती ?

हिन्दु, ईशाई, बौद्ध, इस्लाम यी कुनैपनि ‘धर्म’ छान्ने र अपनाउने स्वतन्त्रता तपाईंसँग हुन्छ । र, यो नितान्त तपाईंको इच्छाको कुरा हो । यदि कसैले तपाईंलाई फलानो धर्म ठिक हुन्न भन्छ भने उनले किन त्यसो भनिरहेको छ ? के उनी कुनै धर्मका ठेकेदार हुन् ?

खासमा हामीले धर्म भनेर बुझिरहेका हिन्दु, ईशाई, बौद्ध, इस्लाम यी सबै भिन्न भूगोल, रहनसहन र हावापानी अनुकुल जीवन दर्शन र पद्धती हुन् । अतः हाम्रो भूगोल र हावापानीमा कुन पद्धती सही हुन्छ भन्ने कुराको निक्र्यौल हामी आफैले गर्ने हो ।

र्मको भ्रम र खेती

धार्मिक सम्प्रदाय र धर्मको कुरा निकै संवेदनशिल विषय हुन् । त्यही कारण यस सम्बन्धमा प्राय टिका-टिप्पणी गरिदैन । यद्यपी अहिले समाजमा जसरी धर्म प्रचार, धर्म राजनीति, धर्म व्यापार भइरहेको छ, त्यसबारे भने हामी चुपचाप बस्नु उचित हुँदैन ।

स्पष्ट के भने, धर्म लगाउने, बनाउने, परिवर्तन गर्ने, फकाउने, फुल्याउने कुरा होइन । धर्म निश्वार्थ भावले गरिने सत्कर्म हो । हामी जे जति राम्रो कार्य गर्छौं र त्यसले सबैको भलाई हुन्छ, त्यही नै धर्म हो । अहिले प्रचार गरिने ‘धर्म’ वास्तवमा धर्म नभएर गुटबन्दी बनाउने हतियार हो । यहि हतियार प्रयोग गरेर कोही राजनीति गरिरहेका छन् । कोही व्यापार गरिरहेका छन् । कोही फरक समुदायबीच विभाजन ल्याइरहेका छन् ।

धर्मकै नाम भजाएर समाजमा विभिन्न किसिमका स्वार्थ फिजाइएको छ । कसैलाई गुटबन्दी त कसैलाई जुटबन्दी गराउनका लागि धर्म माध्याम बनाइएको छ । जबकी यि तमाम खेल आफैमा धर्म होइन । धार्मिक होइन । हिन्दु, ईशाई, बुद्धिष्ट, मुश्लिम आफैमा धर्म नभएर धार्मिक पद्धतीमा डोहोर्‍याउने माध्याम हुन् । तर, हामी यसैलाई धर्म ठानेर जातिय, क्षेत्रिय, बर्गिय कित्ताकाट गरिरहेका छौ । यसरी धर्मको मर्मलाई नबुझी भ्रमको भूँमरीमा फसिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment