Comments Add Comment

आफन्त पोस्न मन्त्रीले गरे साढे २ अर्ब रकमान्तर

राष्ट्रपति चीन उड्ने क्रममा आकाशसमेत खाली गराइयो, २ सय उडान प्रभावित

१३ वैशाख, काठमाडौं । आजका पत्रिकाहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी चीन उड्ने क्रममा काठमाडौंको आकाशसमेत खाली गराइएकोदेखि औलो सार्ने लामखुट्टे पहाड चढेकोसम्मका समाचार पढ्न पाइन्छ । खुलामञ्च कब्जा र एनसेलसँग कर असुल्न सर्वोच्चले रोक लगाएको विषयलाई पनि पत्रिकाहरुले महत्वका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले खुलामञ्च कब्जा गरिएको विषयलाई मुख्य समाचार बनाएको छ । यसैगरी बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा कांग्रेसका संस्थापक नेता सुवर्णसमेशर राणाका हकदारका नाममा रहेको समाचारलाई पनि छापेको छ ।

यस्तै एनसेलसँग कर असुल्न सर्वोच्चले रोक लगाएको समाचार पनि छ । न्यायाधीश बम कुमार श्रेष्ठको इजलासले कर असुली र अन्य प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यसअघि सर्वोच्चले नै एनसेलसँग कर असुल्न आदेश दिएको थियो । त्यो आदेश जारी भएको दुई साता नबित्दै फेरि सर्वोच्चकै आदेशले रोकिदिएको छ ।

कान्तिपुरमा आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का दुई मन्त्रीले २ अर्ब ३७ करोड रुपैयाँ रकमान्तर गरेको एंकर समाचार छ । ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहले आफ्ना मान्छेको नामै किटेर ठूलो योजनाको रकम फुटकरमा सारेका हुन्,’ कान्तिपुरले लेखेको छ ।

नागरिक दैनिकले ‘एनसलेललाई बहिष्कार आह्वान’ शीर्षकको मुख्य समाचार छापेको छ । नेकपा सम्बद्ध युवा र विद्यार्थी संगठनका नेताहरुले संयुक्त विज्ञप्ति निकालेर कर नतिर्दासम्म एनसेलको सिमकार्ड प्रयोग नगर्न आह्वान गरेको विषय समाचारमा छ ।

अन्नपूर्ण पोष्टले राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङ पुगेको विषयलाई मुख्य समाचार बनाएको छ । नेपालमा गणतन्त्र स्थापनाको दशकपछि उत्तरी छिमेकी चीनले राष्ट्रपतिलाई पहिलोपटक बेइजिङमा स्वागत गरेको समाचारमा उल्लेख छ ।

अन्नपूर्णमै लामखुट्टेको टोकाइबाट सर्ने औलो रोग पहाडमा पनि सरेको समाचार पनि छ । एनोफिलिज प्रजातिको लामखुट्टे पहाडतर्फ चढेपछि औलो पनि सँगसँगै देखा परेको छ । एनोफिलिज प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट औलो रोग लाग्छ । वायुमण्डलमा तातो बढ्दा एनोफिलिज लामखुट्टेका लागि उच्च पहाडी क्षेत्रको वातावरण अनुकूल बनेको समाचारमा उल्लेख छ ।

राजधानी दैनिकले भूमाफियाले हडपेका सबै जग्गा खोज्न आयोग गठनको प्रस्ताव अर्थमन्त्रालय पुगेको विषयलाई मुख्य समाचार बनाएको छ ।

गोरखापत्र दैनिकले निर्धारित समयमै पुनर्निर्माण हुने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई प्रमुख हेडलाइन बनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको क्रममा दुई सम्झौतामा हस्ताक्षर हुने विषयलाई पनि गोरखापत्रले महत्वका साथ पहिलो पृष्ठमा स्थान दिएको छ ।

नयाँ पत्रिका दैनिकले राष्ट्रपति विद्यादेवी भण्डारी चीन उड्ने क्रममा आकाश पनि ५७ मिनेटसम्म खाली गराइएको विषय उठाएको छ । राष्ट्रपतिको उडानका लागि विहान ५७ मिनेट एयरपोर्ट जाम गराउँदा दिनभरिको उडान अस्तव्यस्त भएको थियो । राष्ट्रपतिको एक उडानले २ सय उडान प्रभावित भए । दर्जनौं विमानहरु आकाशमा घुमिरहनु परेको थियो । उत्तरी चीनको ल्हासाबाट काठमाडौं आएको सिछुवान एयरलाइन्सको जहाजलाई दक्षिण वीरगञ्ज पुर्‍याएर फेरि काठमाडौंको आकाश हुँदै ल्हासा नै फर्काइएको समाचारमा उल्लेख छ ।

हेर्नुस् आजका पत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment