
१३ वैशाख, वीरगञ्ज । अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । नेपालतर्फ अमलेखगञ्जदेखि रक्सौलसम्म ३६.२ किलोमिटर पाइप गाड्नुपर्नेमा अब जंगल क्षेत्रको करिब ४ किलोमिटरको काम मात्रै बाँकी छ ।
भारततर्फको रक्सौलदेखि मोतिहारीसम्मको ३२.७ किलोमिटर पाइप गाड्ने काम भने यसअघि नै सम्पन्न भइ टेष्टिङसमेत भइसकेको आयोजनाका मेकानिकल इन्जिनियर सरद पौडेलले जानकारी दिए ।
अहिले रुख कटान भएका क्षेत्रमा पनि धमाधम काम भइरहेको छ । ‘रुख कटानको काम भइरहेको जंगल क्षेत्रमा ४ किलोमिटर बाहेक अन्य सबै ठाउँमा पाइप गाड्ने काम सम्पन्न भइसकेको छ । अरु केही ठाउँमा जोड्ने काम बाँकी छ,’ इन्जिनियर पौडेलले भने, ‘दुबैतिरबाट रुख कटानको काम अघि बढेकोले छिट्टै काम सकिनेमा हामी आशावादी छौं ।’
गत माघ ३ गते बसेको नेपाल सरकारको मन्त्री परिषदको बैठकले रुख काट्ने निर्णय गरेपछि त्यस क्षेत्रमा रुख कटानको काम सुरु गरिएको छ ।
रुख कटान गरेर पन्छाएका क्षेत्रमा भूमिगत पेट्रोलियम पाइपलाइन विछ्याउने काम धमाधम भइरहेको आयोजनाका इन्जिनियर पौडेलले बताए । रुख काट्नुपर्ने सिमरादेखि-पथलैयासम्मको करिब एककिलोमिटमा पनि पाइप बिछ्याइएको छ ।
सन् २०१७ डिसेम्बरदेखि सुरु भएको परियोजनाको लागत १ किलोमिटरमा औषत ५ करोड रुपैयाँ पर्ने अनुमान छ ।
भारत सरकारको सहयोगमा भारत कै कम्पनि लिखिता इन्फास्ट्रक्चर प्राइभेट लिमिटेडले परियोजना निर्माण गरिरहेको छ ।
पाइपलाइनमार्फत पेट्रोल, डिजेल र मट्टतिेलको ढुवानी गर्न सकिने भएपनि परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट डिजेल मात्रै ल्याइने छ । यसको इन्धन बहाब क्षमता मोतिहारीमा २९४ किलोलिटर प्रतिघण्टा र रक्सौलमा १९१ किलोलिटर प्रतिघण्टा हुनेछ ।
नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत वीरगञ्ज-रक्सौल नाका हुँदै ट्याङकरमा भित्र्याउने गरिन्छ । यसमा ढुवानी लागत बढी पर्दै आएको छ भने चुहावटले गर्दा पनि नोक्सानी हुने गरेको छ ।
पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा चुहावट नियन्त्रण हुनुको साथै इन्धन आयातमा लागिरहेको वाषिर्क अर्वौ रुपैयाँ बचत हुने दावी गरिएको छ ।
४ मध्ये २ वटा ट्याङ्की मर्मतको काम सकियो
पेट्रोलियम पदार्थ भण्डारणका लागि अमलेखगञ्ज डिपोमा ४१ सय लिटरका २ वटा र ३९ सय किलो लिटरका २ वटा गरी ४ वटा ट्यांकी मर्मत गर्ने लक्ष्य राखिएको थियो । जसमध्ये ४१ सय किलोलिटर र ३९ सय किलोलिटर तेल अटने क्षमताका १/१ वटा ट्याङ्की मर्मत भई तयारी अवस्थामा छन् । ती दुई ट्याङकीमा तेल हालेर परीक्षण शुरु गरिएको छ ।
अर्को ४१ सय किलो लिटर क्षमताको ट्याङकी मर्मतको काम अन्तिम चरणमा पुगेको छ । र बाँकी रहेको ३९ सय लिटरको ट्याङकीलाई पनि खाली गराइएको छ ।
मर्मत गर्न बाँकी रहेको ३९ सय किलो लिटरको ट्याङ्की खाली गराएर तल रहेको लेदो फालेर सफा गर्ने काम भइरहेको र त्यसपछि मर्मतको काम सुरु हुने इन्जिनियर पौडेलले बताए ।
प्रतिक्रिया 4