Comments Add Comment

पोखरा विश्वविद्यालयमा प्रश्नपत्र चोरीको आशंका !

परीक्षा शाखाको भिडियो बाहिरियो

१५  वैशाख पोखरा । पोखरा विश्वविद्यालयको वार्षिक परीक्षा वैशाख १६ गतेदेखि हुँदैछ । परीक्षा मिति नजिकिँदै गर्दा एउटा भिडियो बाहिरिन्छ र सामाजिक सञ्जालमा भाइरल बन्छ । उक्त भिडियोमा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयबाट ३ जना व्यक्ति बाहिर आउँदै गरेको देखिन्छ ।

विद्यार्थीहरु बाहिर ढोका कुरेर बसेका हुन्छन् । एउटाले सोध्छ, ‘तपाईं ह्याँको कर्मचारी हो ?’ सेतो झोला भिरेको एउटा अधबैंसे सबैभन्दा पहिले हुन्छ । उसैले उत्तर दिन्छ, ‘होइन । होइन । काठमाडौंबाट आएको हो ।’ भनाभन हुँदै गर्दा अर्की महिला भित्रैबाट आएर अर्कोतिर जान्छिन् ।

पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले परीक्षा नियन्त्रक कार्यालयमा असम्बन्धित व्यक्ति घुसेर शंका पैदा गरेको आरोप लगाएका छन् । उनीहरुले उक्त कार्यालयमा सीमित र सम्बन्धित व्यक्तिमात्रै जाने भएकाले बाहिरको मान्छे जान नमिल्ने बताएका छन् ।

‘भित्र गोप्य शाखामा विश्वविद्यालयका गोप्य कागजात, प्रश्नपत्र र सम्पूर्ण रजिस्ट्रेसन राखिन्छ,’ एक विद्यार्थीले भने, ‘त्यस्तो गोप्य ठाउँमा सम्बन्धित नै नभएको मान्छे कसरी पस्यो ? त्यहाँ छिर्न पनि औंठा छाप चाहिन्छ ।’ उनले नजिकिँदै गरेको परीक्षाको प्रश्न पत्रबारे पनि शंका उत्पन्न गराएको बताए ।

पोविविको परीक्षा नियन्त्रक कार्यालयमा असम्बन्धित मान्छे पसेर शंका उत्पन्न गराएको र त्यसबारे छानबिन हुनुपर्ने माग राख्दै विभिन्न विद्यार्थी संगठनले आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्र बुझाएका छन् । पत्र नेपाल विद्यार्थी संघ कास्की, अनेरास्ववियु कास्की, अनेरास्ववियु क्रान्तिकारी र समाजवादी विद्यार्थी फोरम पोविविले संयुक्त रुपमा बुझाएका हुन् ।

‘उक्त कार्यले पोविविको परीक्षा प्रश्न पत्रमै ठूलो प्रश्न चिन्ह खडा गरेको छ । यसअघि पनि यस्तै चोरी भएको थियो,’ नेपाल विद्यार्थी संघ कास्कीका नेता विकास थापाले भने, ‘विश्वविद्यालयको यस्ता कार्यले त्यहाँ अध्ययनरत हजारौं विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेको छ ।’ उनले केही दिनअघिबाटै पोविविको प्रश्न प्रत्र बाहिरिएको हल्ला पनि सुनिएको दाबी गरे ।

विश्वविद्यालयका परीक्षा नियन्त्रण समितिका सदस्य राजु वाग्लले आफूलाई पनि त्यस घटनाले शंका उत्पन्न गराएको प्रतिक्रिया दिए । उनले उक्त गोप्य शाखामा बाह्य व्यक्ति कोही जान नपाउने हुँदा घटना शंकास्पद नै भएको बताए । ‘त्यहाँ जान परिचयपत्र चाहिन्छ । ढोकामा सुरक्षा विधि अपनाइएको हुन्छ । को कसरी गयो भन्ने कुरा छानविनबाटै थाहा होला,’ उनले भने ।

उक्त घटनाबारे बुझ्न खोज्दा रजिस्टार गोविन्दप्रसाद शर्माको मोबाइल ‘स्वीच अफ’ थियो । उपकुलपति चिरञ्जिवी शर्मालगायत परीक्षा नियन्त्रक समितिका अन्य सदस्यहरुले फोन नउठाएका कारण सम्पर्क हुन सकेन ।

गतवर्ष भदौ ७ गते पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा डाटा चोरी भएको थियो । उक्त चोरीमा कार्यालयकै कर्मचारीको संलग्नता पाइएको थियो ।

हेर्नुहोस् उजुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment