Comments Add Comment

प्रहरीले नियन्त्रणमा लिनु नियोजित घटना : अध्यक्ष श्रेष्ठ

शंकर भन्छन् : व्यवसायिक कारोबार नसुल्झिएपछि उजुरी

युएई । गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठले व्यवसायिक लेनदेनलाई विषय बनाएर आफूलाई नियोजितरुपमा फासाइएको बताएका छन् ।

झापाका शंकर श्रेष्ठसँग व्यवसायिक लेनदेन रहेको र आर्थिक कारोबार सुल्झाउने प्रयासमा रहेको अवस्थामा घटना गराइएको उनको भनाइ छ । शुक्रबार धुर्मुस-सुन्लती साँझ कार्यक्रममा सहभागी भइरहेको अवस्थामा उनलाई यहाँको प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

प्रहरीको हिरासतबाट शनिबार निस्किएपछि अनलाइनखरसँग कुरा गर्दै श्रेष्ठले भने,’ शंकरसँग २०११ देखिको व्यवसायिक तथा पारिवारिक सम्बन्ध हो । समय समयमा आर्थिक लेनदेन हुँदै आएको छ ।’

शंकरबाट २ लाख दिराम लिएको मध्ये १ लाख दिराम पहिल्यै बुझाएको रमेशले बताए ।

बाँकी रकम मध्ये ४० हजार चेकमार्फत भुक्तानी भइसकेको, ४० हजार दिरामको मुद्धा चलिरहेको र २० हजार दिरामको चेक लिन बोलाउदा शंकर नआएको र आफूविरुद्ध उजुरी गरेको उनको भनाइ छ । उनीहरु दुवैजना म्यानपावर व्यवसायी हुन् ।

२०१९ को जुन १६ सम्ममा सबै रकम चुक्ता गर्ने गरी चेक तयार भएको तर शंकरले त्यसअगाबै रकमको माग गरेपछि गत मंगलबार पैसा लिन कार्यालयमा बोलाउँदा उनी नआएको रमेशले जनाए ।

हालसम्म ५ वटै चेक शंकरलाई दिएको र अदालतमा मुद्धा रहेको ४० हजार दिराम बाहेक अब अरु कारोबार नरहेको श्रेष्ठको दावी छ ।

व्यवसायिक कारोबार नसुल्झिएपछि उजुरी गरेको शंकरको भनाइ

यता शंकर श्रेष्ठले भने आफूले हालसम्म ४० हजार दिराम पाएको र अब ६० हजार दिराम रकम पाउन बाँकी रहेको दावी गरेका छन् ।

रमेशबाट आफूले ५ वटा चेक पाएको तर दुईवटा बाट मात्र पैसा पाएको जनाए । पछिल्लो चेकको म्याद १६ जुन ०१९ सम्म रहेको र यसअघिको दुईवटा चेकको मुद्धा अदालतमा रहेको हुनाले त्यसको रकम आफूले पाउन बाँकी रहेको उनको तर्क छ ।

शंकरले रमेशविरुद्ध दुईपटक नेपाली दूतावास आबुधाबीमा उजुरीसमेत गरेका थिए । उनले डिसेम्बर, ०१७ र नोभेम्बर, ०१८ मा दूतावासमा उजुरी गरेका हुन् ।

उक्त उजुरीमा तीनवर्ष भित्रमा रकम भुक्तानी गरी सक्ने र ५ वटा चेकमार्फत २० हजारका दरले पैसा दिइने उल्लेख छ ।

दुईवटा चेकमा रकम नभएकाले चेक फिर्ता भएको र उक्त चेकविरुद्धको मुद्धा यहाँको अदालतमा रहेको छ ।

अदालतले आफुले पैसा पाउनु पर्ने भनेर फैसला सुनाएको र सो अनुसार पैसा पाउनु पर्ने शंकर बताउँछन् । तर, अदालतको फैसला अनुसारको ४० हजार मध्ये १० हजार दिराम आफूले सम्बन्धित अदालतमा बुझाइसकेको रमेशले जनाए । अन्य रकमपनि महिनैपिच्छे बुझाउँदै आएको उनको भनाइ छ ।

भाका राखिएको समयमा आफूलाई रकम नदिएको र विभिन्न बहानामा झुलाएको शंकरको भनाइ छ । तर, सम्बन्धित अदालतको फैसला मान्दै बुझाउनु पर्ने रकम सोही अनुसार भुक्तानी गरेको रमेशले बताए ।

लामो समयसम्म व्यवसायिक कारोबार नसुल्झिएपछि रमेशविरुद्ध उजुरी गर्न बाध्य भएको शंकरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment