Comments Add Comment

भारतमा चौथो चरणको चुनाव : कन्हैया कुमारले बाजी मार्लान् ?

यी दिग्गज नेताको हुनेछ भाग्य फैसला

१६ वैशाख, काठमाडौं । भारतमा लोकसभाको लागि चौथो चरणको मतदान जारी छ । नौ राज्यका ७२ सिटमा चुनाव भइरहेको छ । कुल ९६१ उम्मेदवारको भाग्यको फैसला यहाँका जनताले गर्नेछन् ।

मतदानको क्रममा पश्चिम बंगालमा तृणमुल कांग्रेस र भाजपा कार्यकर्ताबीच झडप समेत भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको छ ।

चौथो चरणको चुनावमा कन्हैया कुमार, डिम्पल यादव, गिरिराज सिंह, उर्मिला मतोडकर, उपेन्द्र कुशवाहा, वैभव गहलोतसमेत धेरै दिग्गज उम्मेदवार चुनावी मैदानमा छन् । चौथो चरणको चुनावमा कुन-कुन दिग्गज नेताको भविष्य दाउमा छ, चर्चा गरौं ।

बेगुसराय (बिहार)

४० लोकसभा सिट भएको बिहारको यसपटक सबैभन्दा टक्कर बेगुसरायको लोकसभा सिटमा छ । अहिले भारतको मात्र होइन, नेपालीको नजर पनि बेगुसरायको चुनावमा छ । किनभने यहाँ जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)का विद्यार्थी नेता कन्हैया कुमार उम्मेदवार छन् । उनलाई चुनाव प्रचारमा हौसला दिन नेपालबाटै उनका फ्यानहरु बेगुसराय पुगेका थिए ।

यो पनि पढ्नुहोस नरेन्द्र मोदीलाई अत्याउने कन्हैया कुमार !

कन्हैया कुमार भारतीय कम्युनिस्ट पार्टी (सीपीआई)का उम्मेदवार हुन् । उनकै क्षेत्रमा सत्तारुढ भारतीय जनता पार्टीका कट्टर हिन्दुवादी वरिष्ठ नेता गिरिराज सिंह पनि उम्मेदवार छन् ।

यहाँको चुनावमा विचारधाराको साथसाथ जातीय समीकरणको पनि असर देखिने भारतीय मिडियाहरुले जनाएका छन् । यहाँ भूमिहार मतदाताको संख्या धेरै छ र चुनावमा भूमिहार समाजका उम्मेदवार पनि प्रत्यासी छन् । तर मुख्य प्रतिस्पर्धी कन्हैया कुमार र गिरिराज नै हुन् । भूमिहार समाजले उनीहरुको भोट काट्ने आँकलन गरिएको छ ।

उजियारपुर (बिहार)

राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)बाट नित्यानन्द राय र संयुक्त प्रगतिशील गठबन्धन (यूपीए)बाट राष्ट्रिय लोक समता पार्टी (रालोसपा) सुप्रीमो उपेन्द्र कुशवाह यहाँको चुनावी प्रतिस्पर्धामा छन् । राय भाजपाका प्रदेश अध्यक्ष एवम् सांसदसमेत हुन् । उनले सन् २०१४ को चुनावमा राष्ट्रिय जनता दल (राजद)का प्रत्याशी आलोक कुमार मेहतालाई झण्डै डेढ लाख मतान्तरले हराएका थिए ।

यहाँका मतदातामा जातीय समीकरणको प्रत्यक्ष असर देखिन्छ । तर यस पटकको चुनावमा केही फेरबदल हुने अनुमान छ । अहिले एनडीएसँग जनता दल युनाइटेड (जदयू) र मुख्यमन्त्री नितिश कुमार मिलेर विकासको नारा लगाएका छन् । तर विकासको क्षेत्रमा यो क्षेत्र धेरै पछाडि छ । यस्तो अवस्थामा भाजपा पुनरागमन यो कुरामा निर्भर गर्ने छ कि नित्यानन्द राय र भाजपाको कामलाई लिएर जनता कति सन्तुष्ट छन् ।

कन्नौज (उत्तरप्रदेश)

कन्नौजको प्रतिस्पर्धा यसपटक आफ्ना उम्मेदवारका कारण जनताबीच चर्चाको विषय बनेको छ । महागठबन्धनको टिकटमा समाजवादी पार्टी (सपा)का उम्मेदवार डिम्पल यादव र भाजपाका सुब्रत पाठक एक पटक फेरि आमने-सामने भएका छन् । विगतको चुनावमा भएको झडप र आरोप-प्रत्यारोपका कारण कन्नौजलाई लिएर मतदाताको उत्साह थप बढेको छ । सन् २०१४ मा डिम्पल यादवले सुब्रत पाठकलाई लगभग २० हजार मत अन्तरले हराएकी थिइन् ।

यद्यपि यसपटक प्रतिस्पर्धा त्यति सहज मानिएको छैन । तर डिम्पलको पक्षमा सपा र बहुजन समाज पार्टी (बसपा) दुवैको भोट जाने छ । त्यसैले महागठबन्धनलाई फाइदा हुन सक्छ । सपा र बसपाले चुनावमा तालमेल गरेका छन् ।

उन्नाव (उत्तर प्रदेश)

लखनउ र कानपुरसँग जोडिएको उन्नाव लोकसभा सिट पहिले कांग्रेसको गढ मानिन्थ्यो । अघिल्लो चुनावमा भने नरेन्द्र मोदीको पक्षमा आएको लहरका कारण भाजपाका साक्षी महाराज विजयी भए । यसपटक पनि भाजपाले साक्षी महराजप्रति नै भरोसा गर्दै उम्मेदवार बनाएको छ ।

यसैगरी कांग्रेसले अन्नु टन्डन र महागठबन्धनले अरुण शंकर शुक्लालाई उम्मेदवार बनाएका छन् । यहाँ भाजपा र महागठबन्धनको तर्फबाट सपाका उम्मेदवारबीच दोस्रो पटक प्रतिस्पर्धामा भइरहेको छ । यहाँ कांग्रेसले अन्नु टन्डनलाई मौका दिएको छ । तर मुख्य प्रतिस्पर्धा साक्षी महाराज र अरुण शंकर शुक्लाबीच हुने अनुमान गरिएको छ ।

उत्तरी मुम्बई (महाराष्ट्र)

महाराष्ट्रको उत्तरी मुम्बईको लोकसभा सिट सुरुदेखि नै भाजपा र कांग्रेसबीच टक्कर हुने चुनावी मैदान हो । पहिले अभिनेता गोविन्दाले भाजपाका उम्मेदवार राम नाइकलाई हराएका थिए । फेरि कांग्रेसका सन्जय निरुपमले जिते । तर सन् २०१४ को चुनावमा भने भाजपाका गोपाल शेट्टीले बाजी मारे ।

अहिले पनि गोपाल शेट्टीलाई भाजपाले दोस्रो पटक चुनावी मैदानमा उतारेको छ ।

यता, संयुक्त प्रगतिशील गठबन्धन (यूपीए)ले सेलिब्रिटी अनुहारको फाइदा उठाउँदै हालै कांग्रेसमा सामेल भएकी अभिनेत्री उर्मिला मतोडकरलाई टिकट दिएको छ । एक समय हट अवतारका कारण बलिउडमा सनसनी मच्चाएकी उर्मिलाका लागि चुनावको नतिजा कस्तो हुन्छ चासोको विषय बनेको छ ।

मुम्बई उत्तरपश्चिम (महाराष्ट्र)

यहाँ लामो समयदेखि फिल्म क्षेत्रबाट राजनीतिमा आएकाहरुको दबदबा रहँदै आएको थियो । तर, सन् २०१४ को चुनावमा गजानन कीर्तिकारले शिवसेनाको झण्डा फहराए । हालको चुनावमा पनि शिवसेनाका गजानन नै उम्मेदवार छन् । अर्का प्रत्यासी यूपीएका सन्जय निरुपम उम्मेदवार छन् । सन्जय मुम्बई कांग्रेसका पूर्वअध्यक्ष हुन् । उनीहरुलाई हाई प्रोफाइल उम्मेदवार मानिएको छ र कडा टक्कर हुने अनुमान गरिएको छ ।

बोलपुर (पश्चिम बंगाल)

पश्चिम बंगालको बोलपुर लोकसभा सिट राजनीतिक रुपमा महत्वपूर्ण मानिन्छ । यहाँ भाजपाका रामप्रसाद दास, कांग्रेसका अभिजित साह र तृणमुल कांग्रेस (टीएमसी)का आसित कुमार प्रतिस्पर्धामा छन् ।

अघिल्लो चुनावमा तृणमुलका अनुपम हजाराले यहाँबाट चुनाव जितेका थिए । त्यसअघि कांग्रेस र फेरि मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा)ले चुनाव जितेका थिए । यसपटक यहाँ फेरि पनि तृणमुल कांग्रेसले आफ्नो झण्डा फहराउला या भाजपाले रणनीतिक फाइदा उठाउला भन्ने चासो छ ।

केन्द्रपाडा (ओडिशा)

ओडिशामा सरकार बनाउने र लोकसभा सिट बढाउनका लागि भारतीय जनता पार्टीले बीजू जनता दल (बीजद) छाडेर भाजपामा आएका बैजयन्त जय पान्डालाई उम्मेदवार बनाएको छ । दोस्रो तर्फ विगत २१ वर्षदेखिको पार्टीको गढ जोगाउन बीजदले फिल्म स्टार अनुभव मोहन्तीको सहारा लिएको छ । मोहन्ती राज्यसभा सदस्यसमेत हुन् ।

केन्द्रपाडामा यस पटक बीजद र भाजपा बीच नै प्रतिस्पर्धा हुने छ । यद्यपि भाजपामा रहेका र मतदाताबीच राम्रो प्रभाव रहेका कारण बैजयन्त जय पान्डा फाइदामा रहन सक्ने आँकलन छ ।

झालावाड-बारा (राजस्थान)

झालावाड-बारा लोकसभा सिटमा भाजपाले राज्यका पूर्वमुख्यमन्त्री बसुन्धरा राजेका छोरा एवम् वर्तमान सांसद दुष्यन्त सिंहलाई मैदानमा उतारेको छ । अर्का प्रत्याशी कांग्रेसका प्रमोद शर्मा छन् ।

यसअघि पनि दुष्यन्त सिंहलाई चुनावमा बसुन्धरा राजेका कारण फाइदा हुँदै आएको छ । झालावाडा-बारा लोकसभा क्षेत्र राजस्थानको हाईप्रोफाइल क्षेत्रमध्येको एक हो । यो बसुन्धरा राजेको राजनीतिक कार्यक्षेत्र पनि हो । दुष्यन्त यसैकारण फाइदामा रहने बताइन्छ । किनभने उनका प्रतिद्वन्द्वी प्रमोद शर्मा कांग्रेसमा आउनुअघि भाजपा युवा मोर्चाका कार्यकर्ता थिए ।

जोधपुर (राजस्थान)

जोधपुरको लोकसभा सिटमा प्रतिस्पर्धा निकै चाखलाग्दो हुने बताइन्छ । यहाँ भाजपाका गजेन्द्र सिंह शेखावत र कांग्रेसबाट मुख्यमन्त्री अशोक गहलोतका छोरा वैभव गहलोत उम्मेदवार छन् । वैभव पहिलो पटक चुनाव लडेका हुन् । तर जोधपुर अशोक गहलोतको कर्मभूमि भएका कारण त्यसको फाइदा वैभवलाई हुने अनुमान छ । यस चुनावमा केन्द्रीय मन्त्रीविरुद्ध गहलोतका छोराको प्रतिस्पर्धा प्रतिष्ठाको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment