
१६ वैशाख, काठमाडौं । विभागीय टिम एपीएफ क्लब दोस्रो संस्करणको चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
चन्द्रागिरिको नैकाप फुटबल मैदानमा सोमबार भएको खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई अतिरिक्त समयमा २-१ ले गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । एपीएफको जितमा प्रविन स्याङ्तान र आशिष लामाले गोल गरे । फ्रेन्डसका बिकास लामाले एक गोल फर्काए ।
३०औं मिनेटमा प्रविन स्याङ्तानले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । तर, एपीएको त्यो अग्रता लामो सयम टिकेन । ३३औं मिनेटमा बिकास लामाले फ्रेन्ड्स क्लबका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा एपीएफले सुधारिएको खेल पस्केपनि गोल भने गर्न सकेन । निर्धारित समयसम्म दुबै टिमले १-१ गोलको बराबरी खेलेपछि खेलमा अतिरिक्त समय थप गरिएको थियो । थप गरिएको अतिरिक्त समयको पहिलो मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई २-१ को जित दिलाए ।
दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा मंगलबार आयोजक दीपशिखा युवा समूह र ‘ए’ डिभिजन क्लब सरस्वती युवा क्लबबीच दिनको ठीक ३ बजे खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्बाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया 4