Comments Add Comment

१० वर्षीया बालिकाको आत्महत्या, बुवाबिरुद्ध बलात्कारको उजुरी

१७ वैशाख, विराटनगर । १० वर्षीया बालिकाले आत्महत्या गरेपछि मोरङमा बुवाबिरुद्ध बलात्कार प्रयास गरेको उजुरी परेको छ । मोरङको बेलबारी नगरपालिका- ११ मा बस्दै आएकी बालिकाले आत्महत्या गरेपछि १४ वर्षीया दिदीले बुवाबिरुद्ध बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएकी हुन् ।

प्रहरीका अनुसार आइतबार आफ्नै घरमा झुण्डिएको अवस्थामा बालिकाको शव भेटिएको थियो । आइतबार झुण्डिएको अवस्थामा बहिनीको शव फेला परेपछि सोमबार उनकी दिदीले झड्केलो बुवाबिरुद्ध बलात्कार प्रयासको किटानी जाहेरी दिएकी हुन् ।

बालिकाको उजुरीपछि सोमबार नै झड्केलो बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बुबालाई जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाले पासो लगाएर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ । आइतबार आमाबुवा काममा निस्किएको बेला बालिकाले घरको सिलिङमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

दिदीले दिएको उजुरीमा भने बुवाले बलात्कार प्रयास गरी दिएको मानसिक यातनाका कारण बहिनीले आत्महत्या गरेको दावी गरिएको छ ।

प्रहरीका अनुसार गत वैशाख १ गते झड्केलो बुबाले उजुरी गर्ने छोरीलाई जबरजस्तीकरणी प्रयास गरेका थिए । तर, भागेर बचेकी उनले आफन्तलाई बुबाको व्यवहार बारे सुनाएकी थिइन् ।

घटना बाहिर आए बदनाम हुने भन्दै आफन्तले घटनालाई घरभित्र नै थामथुम पारेका थिए । आफूमाथि दुर्व्यबहार भएको १५ दिनपछि बहिनीले आत्महत्या गरेपछि दिदीले बुबाबिरुद्ध जाहेरी दिएकी हुन् ।

आफ्ना बुबाको दुर्घटनामा मृत्यु भएको र आमाले दोस्रो बिहे गरेपछि तीन बालिकाहरु आमा र झड्केलो बुबासँग बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment