Comments Add Comment

डेढ वर्षमा वीरगञ्जमा आगलागीका दुई डरलाग्दा घटना, कहिले खुल्छ चेत ?

१८ वैशाख, वीरगञ्ज । २०७४ पुस ५ गते वीरगञ्ज महानगरपालिका स्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भयो । ग्यासमा लागेको आगो पानीले निभाउन सकिदैन भन्ने सामान्य जानकारीको अभावमा आगो निभाउन गएका २ जना अग्नि नियन्त्रकले ज्यान गुमाउनुपर्‍यो ।

वीरगञ्जमा ग्यास प्लान्टमा कसरी आगो नियन्त्रणमा लिने भन्ने बारेमा जानकार व्यक्ति र प्रविधि नभएका कारण रमिते बनेर बस्नुको विकल्प थिएन । अन्यत्रबाट स्रोत साधन जुटाएर आगो नियन्त्रणमा लिन झण्डै ८ घण्टा लाग्यो । सुरक्षाका उपाय नअपनाउँदा, कर्मचारी र सुरक्षा गार्डलाई ग्यास लिक भएको अवस्थामा के गर्ने भन्नेबारे जानकारी नगराउँदा उद्योगले १५ करोड मुल्य बराबरको क्षति ब्यहोर्नुपर्‍यो ।

त्यो भन्दा खतरनाक स्थिति मंगलबार वीरगञ्जमा देखियो । वीरगञ्ज–११ श्रीपुरमा सञ्चालित पेन्ट उद्योग र गोदाममा भीषण आगलागी भयो । बस्तीको बीच र नजिकै नेपाल फर्मास्युटिकल्स प्रालि औषधी उद्योग भएकाले आसपासका बासिन्दाको सातो नजाने कुरै भएन ।

पौने ६ बजेतिर लागेको आगो नियन्त्रणमा लिन वीरगञ्ज महानगरपालिका २, पोखरिया, कलैया, जीतपुर सिमरा, सिमरा विमानस्थल, अमलेखगञ्ज स्थित आयल निगम डिपो, हेटौंडा, निजगढ, चन्द्रपुर, हरिवन, रक्सौल लगायतका स्थानबाट आएका दर्जन दमकल प्रयोग भए ।

अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई आगो नियन्त्रणमा लिन हम्मे हम्मे पर्‍यो । उनीहरु पानीसमेत नभनी अनवरत खटे । सयौं लिटर केमिकल र दर्जनौं ट्याङ्की पानी हालियो ।

निकै कठिन प्रयत्नपछि राति साढे ११ बजेतिर मात्रै नियन्त्रणमा आयो । सुखद पक्ष भनेको निरन्तर प्रयास जारी राखिएकोले आगालगी फैलन पाएन र मानवीय क्षति पनि भएन । आदर्शनगरका अजय साहले सञ्चालन गरेको लक्ष्मी दिप इन्टरप्राइजेज र लक्ष्मी पेन्ट एन्ड केमिकल इन्डष्ट्रिज प्रालीमा आगलागी हुँदा ३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ ।

आगलागीबाट छिमेककै रामराजा महतोको घरको पर्खाल र पानी ट्याङ्कीमा क्षति पुगेको छ । आगलागीमा १३ वटा पेन्ट बनाउने मेसिन, एक लिटरको तयारी एडिसन पेन्ट २ सय ७५ थान, ३५ लिटरको तयारी पेन्ट ३१ थान, कच्चा पदार्थहरु पुटिन २० लिटरको १ सय ५० र १ सय ६० लिटरको ६० वटा ड्रम, ४ सय वटा बोरा लगायत क्षति भएको दावी सञ्चालकले प्रहरी समक्ष गरेका छन् ।

वीरगञ्जमै भएकाले खबर पाउनासाथ सुरक्षाकर्मी र वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्र पुग्यो । हावाहुरी प्रभावित क्षेत्रमा जस्तै मोबाइल सहितका रमितेहरुको ठूलो हुल पनि घटनास्थलमा पुगिसकेको थियो । आगो नियन्त्रणमा लिन जति पानी हाल्दै गयो । त्यति ठूलो बलिरहेको थियो । पानीले आगो ननिभ्ने संकेत पाएपछि केमिकल र फमको खोजी शुरु भयो । रात पर्दै जाँदा उज्यालोको समेत समस्या भयो । आगलागी हुँदा उद्योगका सम्बन्धित व्यक्ति कोही पनि थिएनन् । गेटमा लागेको ताल्चा फुटाउन निकै समय लाग्यो ।

महानगरपालिकाको जेसिबी बोलाएर ढोका फोरियो । केमिकल वगेर बाहिर आई नालाको पानीमाथि दनदनी आगो बलिरहेको देखिन्थ्यो । कुनै आणविक भट्टी वा तेलखानीमा आगलागी भएजस्तो कलो धुँवा आकासमा मडारिरहेको देखिन्थ्यो ।

उद्योगको बारेमा जानकारी नहुँदा समस्या

बस्तीको बीचमा सुरक्षा सतर्कताको कुनै उपाय नअपनाई, ज्वलनशील पदार्थको उद्योग सञ्चालन गरी कारोबार भइरहेको बारेमा प्रशासन बेखबर थियो ।

महानगरपालिकासँग समेत खासै जानकारी थिएन वा जानकारी भएका मानिस उपस्थित थिएनन् । आगलागी भइरहँदा उद्योग सञ्चालन गर्ने साह र उद्योगमा कार्यरत कर्मचारी कोही त्यहाँ भित्र भएका बस्तुको बारे जानकारी दिन आएनन् । छर छिमेकलाई पनि उद्योगको बारेमा जानकारी नभएको पाइयो ।

पर्साका डिएसपी मानबहादुर राई भन्छन् ‘सञ्चालक वा उद्योगको प्रतिनीधि नै नभएपछि त्यहाँ के कुरा छ, कति मात्रामा छ ? भन्ने थाहा नै भएन, जसले गर्दा निकै समस्या भयो ।’ उनका अनुसार आन्तरिक सुरक्षा सतर्कता शून्य थियो, सुरक्षा गार्डहरु समेत राखिएको थिएन ।

नेपाली सेनाको चण्डीप्रसाद गणका गणपति सृजन बहादुर मल्ल प्रज्वलनशील पदार्थको कारोबार गर्नेले आगो नियन्त्रणका लागि फायर एक्सटिंग्वीसर नराख्नु र स्थानीय तह चुप बस्नु उचित नहुने बताउँछन् । ‘उद्योगमा ५०÷५० किलोको फायर एक्सटिंग्वीसर दुई तीन थान हुन्थ्यो भने आगलागी त्यति भीषण हुने नै थिएन, कर्मचारीले नै निभाउन सक्थे । होइन भने हामी गएर पनि निभाइदिन्थ्यौं ।’

घनाबस्तीमा ग्यास, पेट्रोल पम्प, विषादी, पेन्ट जस्ता प्रज्वलनशील वस्तुहरुको कारोबार हुनु, साँघुरा सडक दमकल र एम्बुलेन्स समेत छिर्दैनन्, यसर्थ भविष्यमा अझै ठूलो विपद नआउला भन्न नसकिने भएकोले पूर्व तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ ।

फोटो र भिडियो खिच्नेको रमिता

आगलागी भएका बेला घटदनास्थल कुनै प्रदर्शनी स्थल र सेल्फी स्पटजस्तो बनेको थियो । मोवाइलबाट फोटो र भिडियो खिच्नेहरु आगो नियन्त्रणका लागि बाधक नै बने । आगलागी भएको उद्योगबाट पड्कदै आगोको लप्काहरु बाहिर आइरहेको थियो । तर भीडले टेर पुच्छर लाएन ।

सुरक्षाकर्मीले लखेटेपछि भाग्ने फेरि दौडेर आगलागी भएको ठाउँमा पुगीहाल्ने गर्दा सुरक्षाकर्मीले थप हैरानी बेहोर्नुप¥यो । भागदौडका क्रममा दुई जनाको खुट्टा भाँचिएको र कतिपयलाई चोट लागेको चर्चा छ ।

कुनै सरोकार नभएका मानिस हुलका हुल आएर आगो नियन्त्रणमा सास्ती दिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्ल बताउँछन् । ‘आगो नियन्त्रण मुख्य काममा ध्यान दिन भन्दा ती मानिसलाई कसरी जोगाउने भन्ने भयो । रोक्दारोक्दै सयौं मानिस अटेरी गर्दै आगलागी भएको क्षेत्र वरिपरि आउँदा हटाउँदैको सास्ती भयो’ उनी भन्छन् ।

दीर्घकालीन योजना आवश्यक छ : प्रजिअ

आगो लागेको जानकारी पाए लगत्तै घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई आगलागी, बाढी, डुवानजस्ता विपदको सामना गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताउँछन् ।

‘यो घटनाबाट सबैले पाठ सिक्नुको विकल्प छैन । मैले उद्योग खोल्ने हो सुरक्षा सरकारले दिने हो भनेर पनि भएन, अरु निकाय पनि जिम्मेवार बन्नुपर्छ सबै सजग र सतर्क हुनुपर्छ’ उनले भने ।

नागरिकको व्यवहारमा सुधार ल्याउनु पनि अर्को आवश्यकता देखिएको उनको भनाइ छ । ‘सार्वभौम सत्ता सम्पन्न नागरिकले आगलागी भएको स्थानमा मोबाइलले घण्टौं भिडियो खिच्न पाउनुपर्ने कुरालाई अधिकार माने, कर्तव्य वोध देखिएन । ननस्टप मोबाइलमा भिडियो खिच्नु आवश्यक थिएन’  प्रजिअ भट्टराईले भने, ‘सरकारले दुई चारवटा दमकल चाहेको खण्डमा भोलि किन्न सक्छ तर मानिसको दिमाग परिवर्तन गर्ने कुरा एक दुई दिनमा हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment