Comments Add Comment

किन कम्बोडिया जाँदैछन् प्रधानमन्त्री ओली ?

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– पर्यटक ल्याउन चाहन्छौं

१९ वैशाख, काठमाडौं । निर्वाचनमा विपक्षीलाई निषेध गरेर नेशनल एसेम्ब्ली कब्जा गरेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनले १० महिनामा लाओस, न्यूयोर्क, जापान र नेपालको भ्रमण गरे । एकलौटी चुनाव गरेर कार्यकाल लम्ब्याएका उनी आफ्नो निरंकुश सत्तालाई अन्तरराष्ट्रिय मान्यता दिलाउने ठूलो कसरतमा छन् ।

विवादास्पद निर्वाचनपछि अन्तर्राष्ट्रिय जमघटहरुको अवसर पारेर देश बाहिर निस्केका प्रधानमन्त्री हुन सेनले छिमेकी भियतनामका राष्ट्रपति, दक्षिण कोरियाका राष्ट्रपति, म्यान्मार की नेतृ आङ साङ सुकी, थाइल्याण्डका सेना प्रमुख र भारतका विदेशमन्त्री बाहेक अरु मुलुकका सरकार तथा राष्ट्र प्रमुखलाई कम्बोडिया भ्रमण गराउन सकेका छैनन् ।

तर, अब यो सूचीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली थपिने भएका छन् । तानाशाह हुन सेनकै निमन्त्रणमा प्रधानमन्त्री ओलीले ३० वैशाखबाट कम्बोडियाको भ्रमण गर्नेछन् । बैशाख २६ गते भियतनाम जाने उनी त्यहीँबाट ३० गते कम्बोडिया पुग्ने छन् र १ जेठमा स्वदेश फर्कने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

कति उपयुक्त छ भ्रमण ?

प्रधानमन्त्री हुन सेन विवादास्पद एसिया प्यासिफिक सम्मेलनको अवसर पारेर काठमाडौं आएका थिए । त्यहीबेला उनले नेपाली समकक्षीलाई भेटेर कम्बोडिया भ्रमणको निम्तो दिए । त्यही अनुसार, प्रधामन्त्री ओली कम्बोडिया जान लागेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

परराष्ट्र मामिलाका जानकारहरुले भने यो भ्रमणको औचित्यबारे प्रश्न उठाएका छन् । नेपालका लागि यो भ्रमण कति सान्दर्भिक छ भन्ने प्रश्नमा संयुक्त राज्य अमेरिकाका लागि पूर्वनेपाली राजदुत डा. जयराज आचार्य भन्छन्, ‘तपाईकै प्रश्नमा यसको उत्तर छ, के गरेको यो ?’

रुसका लागि पूर्वनेपाली राजदूत हिरण्यलाल श्रेष्ठ भने प्रधानमन्त्रीको यो भ्रमणको महत्वपूर्ण अर्थ रहेको बताउँछन् । ‘नेपालको कूटनीतिक सम्बन्ध भारतमा मात्र सीमित हुनु हुँदैन’, श्रेष्ठले भने, ‘नेपालले बढीभन्दा बढी देशसँग सम्बन्ध राख्नुपर्छ ।’

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई जननिर्वाचित हुन सेनको निम्तो मानेर नेपालले कम्बोडियाको सार्वभौमसत्ताको सम्मान गरेको बताउँछन् । हुन सेनको अन्तर्राष्ट्रिय छविबारे भट्टराईले भने, ‘अरुले के भन्छ, त्यसको पछाडि हामी कुद्ने हो र ?’

डा. भट्टराईले अब नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध केही देशमा मात्रै सीमित नहुने बताए । ‘विकास र समृद्धि प्राथमिकता हो’, उनले भने, ‘लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल बन्दैछ, हामी कम्बोडियाबाट बौद्ध धर्मावलम्बी पर्यटक ल्याउन चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment