Comments Add Comment

कसले लुकायो भृकुटीमण्डपको सक्कली रेल ?

यस्तो छ जवाहरलाल नेहरुले बनाइदिएको रेलको कथा

Photo Credit : पुरानो रेल, जुन अहिले बन्द कोठामा थुपारिएको छ

२० वैशाख, काठमाडौं । भृकुटीमण्डपमा रहेको फन पार्क पुग्नेहरुले त्यहाँ बच्चाहरुलाई राखेर दौडिने ‘बाल रेल’ त देखेकै छन् । तर, धेरैलाई थाहा छैन कि यहाँ धेरै वर्ष अगाडि कोइलाबाट चल्ने ‘साँच्चैको’ रेल थियो । अहिले अस्तित्वमा नरहेको उक्त रेलको कथा यस्तो छ:

भारतीय प्रधानमन्त्री स्व.जवाहरलाल नेहरुले आफ्नो कार्यकालमा ७० वटा राजकीय विदेश भ्रमण गरे । जसमध्ये दुईवटा भ्रमण नेपालमा भएका थिए ।

नेहरुको पहिलो नेपाल भ्रमण बि.सं. २००८ असार २ गते ३ दिन र  दोस्रो २०१६ जेठ २८ देखि ४ दिनको थियो ।

बालबालिकालाई असाध्यै माया गर्ने नेहरुले आफ्नो भ्रमणका दौरानमा नेपालका बालबालिकाले मनोरञ्जन लिने ठाउँको अभाव देखे । त्यसैले राजकीय भ्रमणका क्रममा उनले  यहाँका बालबालिकालाई केही चिनो बनाइदिने वचन नेपाल सरकारलाई दिए ।

नेहरुको दोस्रो भ्रमणको एक वर्षपछि नेपालमा राजनीतिक परिवर्तन भयो । प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरे । तर, नेहरु आफ्नो वचनबाट पछि हटेनन् । उनले नेपाल भ्रमण गरेको ६ बर्षपछि नेपालमा  रेलसहितको बालउद्यान सञ्चालनमा आयो ।

प्रदर्शनीमार्ग भृकुटीमण्डपमा धुवाँ निकाल्दै कोइलाबाट चल्ने रेल आफ्नो सम्झनामा रहेको इतिहासकार डा.राजेश गौतम बताउँछन् । उनका अनुसार सो रेल बनेर सञ्चालनमा आएको बि.सं. २०२१ साल कात्तिक २९ मा हो ।

‘रेलमा छाना थिएन, सिटमा बसेर सबैतिर खुल्ला ठाउँ हेर्दै बालकालिका उद्यान घुम्थे,’ गौतम सम्झन्छन्, ‘बालबालिकालाई मात्रै बोक्ने रेल उद्यानको मुख्य आकर्षण थियो ।’

तत्कालीन समय भारतको कोलकातामा ठूलो रेल चल्थ्यो । उतैबाट ल्याइएका प्राविधिकले इन्जिन र संरचना उस्तै तर सानो आकारको रेल भृकुटीमण्डपमा निर्माण गरेका थिए । एक पटकमा करिब १८ जना बालबालिका बोक्ने उक्त रेल डिजेलबाट पनि चलाउन सकिन्थ्यो । एक किलोमिटर रेल घुम्नेे लिकभित्र सुन्दर पोखरीसहितको बगैँचा पनि बनाइएको थियो ।

रेल खोज्दै जाँदा..

छिमेकी देशको प्रधानमन्त्रीले आफ्नो राजकीय भ्रमणमा दिएको ‘मायाको चिनो’ अहिले कहाँ बिलायो त ? हामीले सोधखोज गर्‍यौं । तत्कालीन समयमा रेल सञ्चालनमा आएको जमिनमा अहिले ल्याम्ह पुचःबाल उद्यान सञ्चालनमा छ ।

अहिले भृकुटीमण्डप फनपार्क नामले परिचित रेलले ओगटेको २५ रोपनी क्षेत्रमा बालबालिका तथा वयस्कहरुले मनोरञ्जन लिने खेल सामग्री सञ्चालनमा छन् । वि.सं. ०२३ सालमै बनेको तर केही मर्मत गरिएको लिकमा अहिले पनि एउटा रेल सञ्चालनमा छ ।

हाल सञ्चालनमा रहेको रेल

तीन मिटेनमा एक किलोमिटर पार्क क्षेत्र परिक्रमा गर्ने अहिले सञ्चालित रेलले एक पटकमा २७ यात्रु बोक्ने क्षमता राख्छ । प्रतिव्यक्ति ३० रुपैयाँको टिकट काटेपछि भृकुटीमण्डपको रेल चढ्न पाइन्छ । जनकपुरका जिनेश्वर ठाकुर १८ वर्षदेखि यो रेल कुदाइरहेका छन् ।

हाल समाजकल्याण परिषदको स्वमित्वमा रहेको २५ रोपनी क्षेत्रमा उद्यानसहितको रेल ल्याम्ह पुचः नामको संस्थाले व्यावसायिकरुपमा प्रयोग गरिरहेको छ । बाल रेल भनिएता पनि यसमा ठूला मान्छे पनि चढ्न सक्छन् । गैरनाफामूलक भनिएको ल्याम्ह पुचः संस्थाले रेलबाट राम्रै पैसा कमाउँछ । ल्याम्ह पुचःका अनुसार सार्वजनिक बिदाको दिन करिब ५ सय भन्दा धेरै मानिसले रेल चढेर मनोरञ्जन लिन्छन् । अन्य दिन ५० हाराहारी मानिसहरु रेल चढ्न भृकुटीमण्डप आउँछन् ।

तर, ५३ बर्ष पहिले नेहरुले बनाइदिएको रेल भने ब्यापारीको हातमा पुगेपछि नामोनिशान मेटिने गरी उखेलिएको छ । कोइला र यसको विकल्पमा डिजल इञ्जिनबाट चल्नेगरी निर्माण गरिएको रेल हटाएर अहिले ट्याक्टरबाट सञ्चालित छ ।

किन उखेलियो पुरानो रेल ?

रेल जीर्ण अवस्थामा पुगेको र सञ्चालन तथा मर्मत खर्च अधिक हुने भएपछि उक्त रेल उखेलेर अर्को हालिएको ल्याम्ह पुचःकी अध्यक्ष शहनशीला श्रेष्ठले अनलाइनखबरलाई बताइन् ।

श्रेष्ठ भन्छिन्, ‘पार्क घुम्न आउनेहरु तथा सँगैका कलेजले पनि वातावरण प्रदुषण गरेको भन्दै विरोध गरे । वीरगञ्ज पुगेर कोइला ल्याउन पनि महंगो भयो । बेला-बेलामा बिग्रने र यहाँ प्राविधिक नपाईने समस्या भयो । त्यसैले हामीले उक्त रेल चलाउन सकेनौं ।’

रेल उखेलेर एउटा घरमा थन्क्याइएको जानकारी दिँदै उनले उपयुक्त समय आएपछि संग्रहालय बनाउने सोचमा रहेको बताइन् ।

समाजकल्याण परिषदले ल्याम्ह पुचःलाई पार्क सञ्चालन अनुमति ०५३ सालमा दिएको थियो । गैह्र नाफामूलक संस्थालाई संरक्षण गर्न दिइएको उद्यान अहिले पूर्ण व्यवसायिक ढंगबाट सशुल्क सञ्चालन गरिँदै आएको छ ।

ऐतिहासिक संरचनाहरु परिषदलाई जानकारी नै नदिई ल्याम्ह पुचःले मासेको परिषदका प्रवक्ता शिवकुमार बस्नेतले बताए । सरकारले गठन गरेको उच्चस्तरीय आयोगले राजनीतिक पहुँच र आर्थिक प्रलोभनमा सार्वजनिक खरिद ऐन र करार कानुनको उल्लघंन गरेर ल्याम्ह पुचःले उक्त उद्यान क्षेत्र २३ बर्षदेखि सञ्चालन गरिरहेको ठहर गरेको छ । समाज कल्याण परिषदले केही दिनअघि मात्रै ल्याम्ह पुचःसहित काठमाडौं फनपार्क प्रा.लि. र हरित कृषि सहकारीसंगको करार सम्झौता रद्ध गर्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment