Comments Add Comment

आमा भएर बोकीहेर सन्तानका पिरहरु 

एकपटक वाल्यकालमा र्फकनुहोस् त । तपाईं शिशु हुनुहुन्थ्यो । कलिलो । अवोध । बोल्न सक्नुहुन्नथ्यो । खान सक्नुहुन्थ्यो । भोक-तिर्खा लाग्दा रोइदिए पुग्थ्यो । असजिलो भए रोइदिए पुग्थ्यो । गर्मी भए रोइदिए पुग्थ्यो । चिसो भए रोइदिए पुग्थ्यो । दिसा-पिसाब आएमा रोइदिए पुग्थ्यो ।

त्यसबेला तपाईंको भाषा बुझ्ने को हुन्थ्यो ?

आमा ।

ति आमा, जो तपाईंलाई भोक लाग्दा दुध चुसाउँथिन् । लिटो ख्वाउँथिन् । चिसो भए, न्यानो बनाइदिन्थे । गर्मी भए सितल बनाइदिन्थे । तपाईं रुँदा उनको छाती पोल्थ्यो । तपाईं छटपटाउँदा उनलाई पीडा हुन्थ्यो । तपाईंले चित्त दुखाउँदा उनको मन भक्कानिन्थ्यो ।

तपाईंको खातिर उनले कैयौ रात सुतेनन् । तपाईंकै खातिर उनले कैयौ छाक सन्तोषले खाएनन् । तपाईंकै खातिर उनले आफ्नो सुख त्यागे । तपाईंकै खातिर उनले आफुलाई भुले ।

जब तपाईं मिठो मानेर दुध चुस्नुहुन्थ्यो, उनलाई परम सन्तुष्ट मिल्थ्यो । जब तपाईंको ओंठमा निच्छल हाँसो फैलन्थ्यो, उनी उमंगित हुन्थिन् । जब तपाईं मस्त निदाउनुहुन्थ्यो, उनलाई चैन हुन्थ्यो ।

तर, आज आमा पाको हुँदैछिन् र तपाईं जवान । आज आमा कुपि्रदैछ र तपाईं अग्लिदै । आज आमाको हातगोडा चल्न छाडेको छ र तपाईं चलायमान हुनुहुन्छ । आज आमा तपाईंको आश्रयमा बाच्नुपर्ने अवस्थामा छिन् ।

अब सोच्नुहोस् त,

के तपाईंले आमालाई उसैगरी सुम्सुम्याउनु भएको छ, जसरी तपाईंलाई वाल्यकालमा उनका मायालु हातहरुले सुम्सुम्याउथे ?

के आज आमाको वेदना र छटपटीमा तपाईंले आफ्नो न्यानो छातीमा टाँसेर थमथमाउनुभएको छ ?

के आज आमाको पेट भोको हुँदा, तपाईंले गाँस छाड्नुभएको छ ?

के आज आमा फुरुंग भइदिदा तपाईं परम आनन्दले नाच्नुभएको छ ?

होइन, आज तपाईं त हतारमा हुनुहुन्छ । पैसा कमाउनुछ । धन-दौलत जोड्नुछ । सामाजिक प्रतिष्ठा आर्जन गर्नुछ । मान-सम्मान लिनुछ । देश-दुनियाँ घुम्नुछ । यतिबेला तपाईंले आफ्नी आमालाई भुल्दै पो हुनुहुन्छ कि ?

यदि त्यसो नहुँदो हो त, आज कैयौं आमाको बिल्लीबाठ हुने थिएन । कैयौं आमा वृद्धाश्रमको चिसा कोठामा खुम्चिने थिएनन् । कैयौं आमा बेवारिसे हुने थिएनन् ।

हो, आज हाम्रो मनबाट आमाको गुण र महिमा विस्मृत हुँदै गएको छ । हाम्रो मनबाट आमाको स्नेह र ममता हराउँदै गएको छ । जसको गर्भमा हामीले आफ्नो जीवन पायौं, जसको दुध चुसेर हाम्रो शरीर बन्यो, जसको काखमा खेलेर हाम्रो वाल्यकाल वित्यो उनै आमा आज हामीलाई बोझिलो लाग्न थालेको छ ।

हामी यति हतारोमा छौ कि, आमाको मनको वह सुनिदिने फुर्सद छैन । हामी आज यति सुकिलो छौ  कि, आमाको पच्छ्यौरी गन्हाउन थालेको छ ।

आमाको शरीर आज बुढ्यौलीले गाँज्दैछ । हातखुट्टा चिसा हुँदैछ । अनुहार चाहुरिदैछ । आँखा धुमिल हुँदैछ । आमा आफै कमाई खान असमर्थ छिन् । उनलाई आश्रय चाहिएको छ । यतिबेला हामी आमालाई आफ्नो बालबच्चा हेर्ने, घर रेखदेख गर्ने जिम्मेवारी थमाइदिएका छौ ।

आमाको रक्तचाप बढेको छ । मधुमेहले गाँज्दैछ । दमले दुःख दिदैछ । आमाको औषधी-उपचार गर्नुपर्दा हाम्रो मन अमिलो हुन्छ ।

आमाको महिमा

आमा धर्ती हुन् । सृष्टि हुन् । यो संसार आमाभित्र समाहित छ । आमा प्रेमका साक्षत मूर्ति हुन् । तिनै आमा, जसको काखमा लडीबुडी गर्दै हामी हुर्कियौ । तिनै आमा, जसको छातीमा टाँसिएर मनको वह पखाल्यौ । तिनै आमा, जसको औला समाएर हामीले हिँड्न सिक्यौ ।

तिनै आमा, जसले हामीलाई बोल्न सिकाइन्, खेल्न सिकाइन् । उनी हाम्रो जन्मदाता, उनी हाम्रा गुरुआमा, उनै हाम्रो आदर्श, उनै हाम्रो सुखीको स्रोत ।

आमाको ऋण हामीले कहिल्यै चुकाउन सक्दैनौ । आमाले हामीलाई प्राण दिनका लागि आफ्नो प्राणलाई दाउमा लगाएकी छिन् । आफु मृत्यु झेलेर हामीलाई जीवन दिएकी छिन् । आज उनै आमालाई सम्झने दिन । आमाको महिमालाई स्मरण गर्ने दिन । ति तमाम आमाप्रति श्रद्धा, स्नेह, सम्मान गरौं, जसले सृष्टिलाई चलयमान बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment