Comments Add Comment

फेसबुकका सञ्चालकले गल्ती गरेँ कि त्यसै भनेको होइन : प्रधानमन्त्री ओली

‘यो समाजमा बाँच्नुपर्ने म मात्रै होइन ’

३ असार, काठमाडौं । नेपालका टेलिभिजनले तपाई भन्नुपर्ने मान्छेलाई तिमी भन्ने गरेको गुनासो गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । सञ्चार माध्यमका कारण आदरार्थी शब्दहरु हराउन लागेको प्रधानमन्त्रीको चिन्ता छ ।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै प्रधानमन्त्री ओलीले भने, ‘यो समाजमा म मात्र बाँच्नुपर्ने होइन । मैलेमात्रै भविश्य र परिणामहरु व्यहोर्नुपर्ने होइन ।’

प्रधानमन्त्रीले अगाडि भने, ‘म सबैलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवार, समाजमा बाँच्नुपर्छ । आफ्ना कुराहरु भनौं, ठीक छ । तर, मर्यादित ढंगले भनौं भन्ने मेरो आग्रह हो ।’

फेसबुकका निर्माताले फेसबुक बनाएर गल्ती पो गरिएछ कि भन्न थालेको प्रधानमन्त्री ओलीको दाबी छ ।

टेलिभिजन र फेसबुक चलाउनेहरुलाई मर्यादित भाषा प्रयोग आग्रह गर्दै प्रधानमन्त्रीले गरेको टिप्पणी उनकै शब्दमा–

सञ्चार लोकतन्त्रको एउटा पिल्लर हो । त्यसैकारण लोकतन्त्रको चौथो अंग पनि भनिन्छ । तर, आज हामी एउटा संक्रमणकालीन अवस्थामा छौं सञ्चार क्षेत्रमा भन्ने हो भने । फेसबुकको सञ्चालकले फेसबुक पैदा गरेर गल्ती गरेँ कि क्या हो त्यसै भनेको होइन ।
हाम्रो समाज एउटा मर्यादित शिष्ट समाज हो । हाम्रो टेलिभिजनले तपाई भन्न कसैलाई जाँदैन । तपाई भन्ने शब्द नेपाली भाषामा हराइसक्यो ।

हाम्रो सञ्चार माध्यमले हाम्रो भाषा संस्कृतिका कुरा गर्छ । नेपाली भाषामा त बाबुलाई तपाई नै भन्न चलन हुन्छ हो ! बाबुलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबालाई पनि तिमी ! यो त नेपाली भाषा, संस्कृति, सभ्यताभित्र पर्दैन ।

कतिलाई मैले भनेको कुरा मन पर्दैन । सबै समान हुन् भन्ने मात्र पर्ला । बोल्दा कुनै भाषा कस्तो हुन्छ, कुनै भाषामा जेन्डर छुट्टिएको हुँदैन । कुनै भाषामा आदरार्थी शब्द हुँदैन । हाम्रो भाषाको आफ्नो मर्म छ ।

त्यो मात्र होइन, सामाजिक सञ्जालको अवस्था के छ ? सामाजिक सञ्जाललाई गुरु थापेर हाम्रा स्थापित सञ्चार माध्यमहरु पनि फलो गर्नेतिर लाग्ने हो भने हामी कस्तो समाज सिर्जना गर्छौं । मेरो आग्रह छ, हाम्रो समाज त हामीले निर्माण गर्ने हो ।
जसलाई मैले गाली गरेँ, उसलाई मात्र त्यो गाली लागेको हुँदैन । सञ्चार माध्यमबाट बोलिएको कुरा सार्वजनिक भएको हुन्छ, अरुलाई पनि असर गरेको हुन्छ । नयाँ पिढी, बालबालिकालाई बढी असर गरेको हुन्छ ।

यस कुरामा अलि संवेदनशील हुनुपर्छ कि ? मैले केही आफूलाई विद्धान भनिनेहरुले बोलेको सुनेको छु । बोलेको सुन्दा शरम लाग्छ । संस्कृतिको रक्षा भन्ने शब्द बोलेको हुन्छ, तर त्यहाँभित्र अमर्यादा, अभद्रता, सांस्कृतिक मूल्यको अभाव देखिएको हुन्छ ।
त्यसकारण मेरो आग्रह यत्ति हो, यो समाजमा ममात्र बाँच्नुपर्ने होइन । मैले मात्रै भविश्य र परिणामहरु व्यहोर्नुपर्ने होइन । म सबैलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवार, समाजमा बाँच्नुपर्छ । आफ्ना कुराहरु भनौं, ठीक छ । तर, मर्यादित ढंगले भनौं भन्ने मेरो आग्रह हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment