Comments Add Comment

फिनल्याण्डसँग हवाई सेवा सम्झौताको तयारी, युरोपबाट ट्रान्जिटबिना नै नेपाल !

३ जेठ, काठमाडौं । युरोपेली मुलुक फिनल्यान्डसँग नेपालले प्रारम्भिक हवाई सेवा सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्झौताको तयारीमा जुटेको मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।

फिनल्याण्डको राष्ट्रिय ध्वजाबाहक तथा सबैभन्दा ठूलो वायुसेवा कम्पनीले फिनल्याण्डबाट नेपालमा सीधा हवाई उडान गर्न चाहेको छ । सोही कारण फिनल्याण्ड सरकारले नेपालसँग हवाई सेवा सम्झौताको प्रस्ताव राखेको थियो । फिनल्याण्डको प्रस्ताव आएसँगै अहिले मन्त्रालयले सरोकारवाला निकायसँग राय–सुझाव माग्ने काम थालेको उपसचिव नेपालले बताए ।

कुनै पनि मुलुकसँग प्रारम्भिक हवाई सेवा सम्झौता गर्नुअघि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमजस्ता निकायसँग राय लिने प्रचलन छ ।

ती निकायको समेत राय आएपछि मन्त्रालयले हवाई सेवा सम्झौताको प्रस्ताव मन्त्रीपरिषद्मा लैजान्छ । मन्त्रीपरिषद्ले अनुमति दिएपछि सम्बन्धित मुलुकसँग सम्झौताका लागि औपचारिक प्रक्रिया अगाडि बढ्छ । प्रारम्भिक हवाई सेवा सम्झौता भएपछि उडान सम्पर्क स्थापित हुन्छ । दुवै देशका वायुसेवाले एक–अर्का मुलुकमा सम्झौताका बेला राखिने शर्तका आधारमा उडान गर्न सक्छन् । त्यसपछि आवश्यकताका आधारमा ‘फाइनल’ सम्झौता हुने प्रचलन रहेको छ ।

यूरोपसँग सीधा हवाई सम्पर्क स्थापित हुने

अहिले नेपाल र युरोपलाई टर्कीस एयरले जोडिरहेको छ । तर, टर्की युरोप र एसियाको सीमाना हो । युरोपबाट नेपाल आउने पर्यटक तथा नेपालीले टर्की या खाडी मुलुकका विमानस्थलसम्म ट्रान्जिट फ्लाइट गरेर मात्र नेपाल आउनु पर्ने बाध्यता छ । फिनल्याण्डसँग हवाई सेवा सम्झौता भएपछि युरोपबाट ट्रान्जिटबिना नै नेपाल आउन सकिनेछ ।

युरोपेली युनियनले नेपाली नागरिक उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेसँगै नेपाल वायुसेवा निगमले युरोपेली शहरहरुमा उडान विस्तारको योजना बनाउन सकेको छैन । निगमले युरोपमा उडान विस्तारको लक्ष्य राखेको भए पनि जहाज अभाव तथा तयारी पर्याप्त लाग्ने भएका कारण तत्कालका लागि त्यो सम्भव देखिन्न ।

फिनएयरले अहिले भारतको नयाँ दिल्लीसम्म सीधा उडान गर्छ । नेपालमा पर्यटक तथा युरोप जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै उक्त कम्पनी नेपाल आउन चाहिरहेको छ ।

नेपालले अहिलेसम्म ३९ वटा देशसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो समय नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । गत मंसिर दोस्रो साता कम्बोडियाका प्रधानमन्त्री हुन सेनको नेपाल भ्रमणको अवसर पारी यी दुई मुलुकबीच सातामा १४ उडान गर्ने गरी सम्झौता भएको थियो । तर, कुनै पनि मुलुकका वायुसेवाले एक अर्का देशमा उडान थाल्न सकेका छैनन् ।

कम्बोडियासँग फाइनल सम्झौता गरिँदै

सरकारले कम्बोडियासँग अन्तिम चरणको हवाई सेवा सम्झौताको तयारी थालेको छ । गत मंसिरमा प्रारम्भिक चरणको सम्झौता भएको थियो । प्रारम्भिक चरणको सम्झौतापछि दुई मुलुकबीच हवाई उडान स्थापित हुन्छ । त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रावधानको अधीनमा रही दुवै मुलुकबीच फाइनल चरणको सम्झौता हुने गर्छ । यसका लागि भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कानून, अर्थ, परराष्ट्र मन्त्रालयलगायतबाट राय तथा स्वीकृति लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment