Comments Add Comment

इजरायलमा तनाव : सेनाको आक्रमणबाट १४ महिने शिशुसहित ४ को मृत्यु

२२ वैशाख, काठमाडौं । इजरायली सेनाले प्यालेस्टाइन क्षेत्रमा आक्रमण गर्दा १४ महिने शिशुसहित चार जनाको मृत्यु भएको छ । चरमपन्थी समूहले २ सयभन्दा बढी रकेटबाट इजरायली क्षेत्रमा आक्रमण गरेपछि आफूले जवाफी कारबाही गरेको सेनाले जनाएको छ । चरमपन्थी समूहले गरेको आक्रमणबाट तीन जना घाइते भएको सेनाको भनाइ छ ।

दक्षिण इजरायलमा रकेट आक्रमण हुन थालेपछि खतराको संकेतस्वरुप साइरन बजाइएको थियो । त्यसपछि मानिसहरु लुक्नका लागि सुरक्षित स्थानतिर भागेका थिए ।

इजरायलमा अपि्रलमा भएको चुनावको बेला दुवैतर्फबाट संघर्षविराम भएको थियो । तर, अहिले फेरि तनाव बढेको छ । संयुक्त राष्ट्रसंघले संघर्षविराम लम्बाउने प्रयास गर्दागर्दै तनाव बढेको बीबीसीले जनाएको छ ।

गजापट्टीको सीमावर्ती इजरायलको क्षेत्रमा शनिबार भएको रकेट आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ)का अनुसार प्रतिरक्षा प्रणालीबाट केही रकेटहरुलाई आकाशमै निस्तेज पारिएको थियो ।

यस हमलाको जवाफमा आईडीएफले हमासको प्रभाव क्षेत्र रहेको गजाको तीन स्थानमा हवाई र ट्यांकमार्फत् आक्रमण गरेको थियो । आक्रमणको निसाना इस्लामिक जिहादलाई पनि बनाइएको थियो ।

इस्लामिक जिहादले शुक्रबार सेनाले गरेको आक्रमणको जवाफमा आफूहरुले रकेटमार्फत् हमला गरेको जनाएको छ । इजरायल सरकारले संघर्ष विरामको सम्झौता उल्लंघन गरेको यस समूहको आरोप छ ।

हिंसाको सुरुवात शुक्रबार गजामा साप्ताहिक रुपमा हुँदै आएको प्रदर्शनबाट भएको थियो । यो प्रदर्शन इजरायलको गर्दै आएको नाकाबन्दीको विरोधमा थियो । इजरायलका अनुसार गजासम्म हतियारको पहुँच रोक्नका लागि नाकाबन्दी जरुरी छ ।

सीमा क्षेत्रमा प्यालेस्टाइनको एक हतियारधारी व्यक्तिले इजरायलका दुई सैनिकलाई गोली हानेर घाइते बनाइदिए । यसको जवाफमा इजरायलले हवाई हमला गर्‍यो र हमासका दुई लडाकुको मृत्यु भयो । अन्य दुई जना प्यालेसटाइनीको पनि मृत्यु भयो । प्यालेस्टाइनीले मृतकका शनिबार अन्तिम संस्कार गरे । त्यसपछि रकेट हमला पनि भयो ।

हमासका प्रवक्ता अब्देल लतीफ अल कनोआले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कब्जा गर्नेहरुबाट हुने अपराधको यस क्षेत्रका जनताले जवाफ दिइरहने छन् र हामी हाम्रा मानिसको रगत बगाउन अनुमति दिँदैनौं ।’

उनले हमासको तर्फबाट रकेट आक्रमणको दाबी भने गरेका छैनन् ।

गजा क्षेत्रमा करिब २० लाख प्यालेस्टाइनी छन् । इजरायलले गरेको नाकाबन्दीका कारण यहाँका जनता आर्थिक रुपमा समस्या भोग्दै आएका छन् । हालै यहाँ विदेशी सहयोग पनि कटौती गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment