Comments Add Comment

जेलबाटै विद्यालय जाँदै ४ वर्षीया बिपिका, नर्सरीमा ९६ प्रतिशत ल्याइन्

२३ बैशाख, गुल्मी । आमासँगै गुल्मी जिल्ला कारागारमा रहेकी ४ वर्षीया बालिकाले नर्सरीमा ९६ प्रतिशत अंक ल्याएकी छन् ।

अघिल्लो वर्षको वैशाख १२ गते रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले हाडहाडेकी ३ वर्षीया बिपिका पुनको अभिभावकत्व ग्रहण गरी तम्घासको महेन्द्र नमूना माबिमा नर्सरीमा भर्ना गरिदिका थिए ।

बिपीकाले वार्षिक परीक्षामा तृतीय स्थान प्राप्त गरेकी छन् । अहिले उनी ४ वर्षकी भइन् । बालिकाले राम्रो अंक ल्याएर उतीर्ण भएपछि मेयर भुसालले खुसी व्यक्त गरे ।

बालिकाको भविष्य र सपना सम्झेर अभिभाकत्व ग्रहण गरी विद्यालय भर्ना गरिदिएको भन्दै उनले बालिकालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कारागारको अवस्था बुझ्ने क्रममा बालिकाले आमासँगै जेल जीवन विताइरहेको र शिक्षाबाट बञ्चित हुने अवस्था भएपछि भुसालले पढाइदिने जिम्मा लिएका थिए ।

बालिकालाई कारागारबाटै विद्यालय आउने व्यवस्था मिलाइएको छ । बिपिकालाई कारागारका सुरक्षाकर्मी र कर्मचारीले दैनिक विद्यालय पुर्‍याउँछन् । साँझ शिक्षकहरुले कारागार पुर्‍याउँछन् ।

उनको विद्यालय बाहेक अधिकांंश समय जिल्ला कारागारमै बित्छ । कारागार नै घर हो । केही दिनअघि आएका महान्याधिवक्ता अग्नि खरेलले बालिकालाई काठमाडौं लैजान मागेका थिए । तर, आमाले दिन मानिनन् ।

कारागारका अरु कैदीबन्दीहरुले पनि शान्ता छोरी बिना एक्लै बस्न नसक्ने बताउँछन् । कारागारका निमित्त प्रमुख प्रभात मल्लिकले बालिकाको विद्यालय समय बाहेक सबै क्रियाकलाप कारागारभित्रै हुने बताए ।

उनकी आमा शान्ता कर्तव्य ज्यान मुद्धामा ०७२ सालदेखि जेल सजाए भोग्दै आएकी छन् । बालिकाका बुवा भारतमा भएकोले घरमा हेरचाह गर्ने अभिभावक कोही नहुँदा उनी आमासँगै जेलमा छिन् ।

आमाबाट बाहिर बस्न सक्ने भएपछि मात्रै बालिकालाई अन्य व्यबस्था गरी पढाइने मेयर भुसालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment