२४ वैशाख, काठमाडौं । तेस्रो संस्करणको पाथीभारा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबसहित, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशले सेमिफाइनलमा स्थान बनाएका छन् ।
ताप्लेजुङको साँघुस्थित नारायणी माविको खेल मैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा पुलिसले प्रदेश तीनलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । पुलिसले प्रदेश तीनलाई २५-११, २४-२५, २५-१५ र २५-१४ को सेटमा पराजित गरेको हो ।
त्यस्तै, गण्डकीले टियु विश्वविद्यालय टिमलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । गण्डकीले विश्वविद्यालय टिमलाई २५-१६, २५-११ र २५-१७ को सेटमा पराजित गरेको हो ।
आजै भएको अर्को खेलमा आर्मीले प्रदेश दुईलाई २५-१४,२५-१५ र २५-८ को सेटमा पराजित गरेको हो भने एपीएफले प्रदेश एकलाई २५-१५, २५-१४ र २५-२० को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
अब बुधबार हुने पहिलो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, दोस्रो सेसिफाइनलमा आर्मीले फाइनल प्रवेशको लागि एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।
जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०-५० हजार पाउने छन् ।
प्रतिक्रिया 4