Comments Add Comment

विराटनगरमा दीपावली, इटहरी खुशी, धनकुटामा चक्काजाम

२४ वैशाख, विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकिएपछि विराटनगरमा दीपावली गरिएको छ भने धनकुटामा विरोध प्रदर्शन भएको छ । सोमबार प्रदेशसभा बैठकले दुई तिहाई बहुमतबाट विराटनगरलाई राजधानी बनाउने प्रस्ताव पारित गरेपछि धनकुटाको असन्तुष्टि मंगलबार विहान सडकमा देखियो ।

धनकुटालाई अन्याय भएको गुनासो गर्दै एक घण्टा कोशी राजमार्ग अवरुद्ध गरेका धनकुटाबासीले प्रदेशसभाबाट पारित निर्णय प्रति तिब्र असन्तुष्टि जनाए । राजधानीका विषयमा धनकुटाबासी सडकमा उत्रदा इटहरी र विराटनगरले स्थायी राजधानी घोषणालाई स्वागत गरेका छन् ।

सोमबार साझ विराटनगरमा दीपावली गरियो । इटहरीले प्रदेश सभाबाट पारित भएको प्रस्तावलाई स्वागतयोग्य भनेको छ । ‘प्रदेशसभाले वृहत विराट क्षेत्रलाई राजधानी तोकेको हो, विराट क्षेत्रको कोर प्वाइन्टमा (मुख्यक्षेत्र) इटहरीलाई राखेको छ ।’ इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले भने ।

धनकुटाको आशा : मन्त्रालय आउँछ कि !

राजधानी घोषणा प्रक्रियाको अन्तिम समयसम्म आशावादी रहेका धनकुटाका संसदले पार्टीको रुलिङपछि धनकुटा राजधानी बनाउन भनी प्रदेशसभामा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन बाध्य भए । नेकपाको रुलिङपछि निरन राई र नेपाली कांग्रेसले पेस गरेका तीनवटा प्रस्ताव फिर्ता भएपछि दुई तिहाई बहुमतले विराटनगरलाई राजधानी घोषणा गर्‍यो ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ भन्छन् ‘धनकुटा राजधानी हुन्छ कि भन्ने आशा थियो’ उनी भन्छन् ‘विराटनगर पारित भएपछि धनकुटाबासी असन्तुष्ट छन् ।’
उनी अब प्रदेश सरकारले धनकुटालाई विषेश ध्यान दिनुपर्ने बताउँछन् । ‘धनकुटाको अवस्था नाजुक छ, यहाँका व्यापारी पलायन हुने अवस्थामा छन्’ तामाङले भने ।

प्रदेश सरकारले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र पहाडी जिल्ला हेर्ने गरी यातायात कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । तर मेयर तामाङ धनकुटामा कुनै एउटा मन्त्रालय राखिदिए जनताले चित्त बुझाउने आधार हुने बताउछन् ।

विराटनगरमा दिउँसो हडताल, साझ दिपावली

आइतबार प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाले राजधानीको प्रस्ताव दर्ता गरेपछि सोमबार एक्कासी विराटनगरमा आमहड्ताल घोषाणा भयो । राजधानी विराटनगरबाट विकेन्द्रित गर्न लागेको भन्दै सोमबार बिहानैदेखि हड्तालमा उत्रिएका विराटनगरबासीले राजधानीको प्रस्ताव पारित भएपछि साँझ दिपावली गरे ।

हड्ताल आह्वानपछि सोमबार दिउँसो मुख्यमन्त्री शेरधन राईसँगको छलफलपछि बन्द फिर्ता लिएर दिपावली मनाउने निर्णय भयो । विराटनगरबाट कार्यापालिका र व्यवस्थापिकाका कार्यालयका संरचना बाहिर नजाने आश्वासन पछि बन्द फिर्ता लिएर दिपावली गरेको मेयर भीम पराजुली बताउँछन् ।

विवाद बल्झिन सक्छ !

राजधानीको मुद्दा तत्काललाई सामाधान भए पनि स्थायी संरचना निर्माण गर्ने क्रममा भने विवाद बल्झिन सक्ने सरोकारवालाहरु बताउँछन् । प्रदेशसभाबाट पारित प्रस्तावको व्याख्यामा बृहत विराट क्षेत्रभित्र संरचना निर्माण गर्ने उल्लेख भएका कारण राजधानीको विवाद फेरी बल्झिन सक्नेछ ।

तर विराटनगरका मेयर भीम पराजुली विराटनगर केन्द्र भएकाले प्रदेश सरकारका संरचना विराटनगरमा नै हुने दावी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment