+
+

कर्मचारीको परिवारबाट सौतेनी आमा र बाजे–बज्यै आउट !

महिला कर्मचारीको सासू ससुराले पनि सुविधा नपाउने

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ वैशाख २५ गते १७:२५

२५ वैशाख, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती कर्मचारीको परिवारको परिभाषामा सौतेनी आमा, हजुरबा र हजुरआमालाई नसमेट्ने सहमति गरेको छ ।

यसअघि निजामती कर्मचारीको परिवारका सदस्यमा सौतेनी आमा, बाजे र बज्यै पनि समावेश भएकोमा अहिले हटाएर ऐन संशोधनको तयारी गरिएको हो ।

बुधबार बसेको समिति बैठकले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २ को ‘च’ संशोधन गर्दै निजामती कर्मचारी परिवारको परिभाषाबाट ‘सौतेनी आमा, बाजे र बज्यै’ लाई हटाएको हो ।

विधेयककको दफा २ को (च) मा ‘परिवार’ भन्नाले निजामती कर्मचारी बस्ने तथा निज आफैले पालनपोषण गर्नुपर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु आमा वा सौतेनी आमा सम्झनुपर्छ र सो शब्दले पुरुष र अविवाहतिा महिला कर्मचारीको हकमा निजको बाजे बज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजकको सासु ससुरासमेत जनाउँछ’ भन्ने उल्लेख छ ।

सौतेनी आमालाई परिवारको सदस्यमा समावेश गर्दा बहुविवाहलाई मान्यता दिएको अर्थ लाग्ने सांसदहरुले बताए ।

‘सौतेनी आमालाई राख्यौं भने अझ पनि बहुविवाहलाई मान्यता दिएको भान हुन्छ । यसलाई हटाउनुपर्छ भनेर हामीले अडान लियौं,’ समिति सदस्य लक्ष्मी चौधरीले अनलाइनखबरसँग भनिन्, ‘बहुविवाहलाई अवैध मान्ने हो भने कसरी सौतेनी आमालाई परिवारको परिभाषा भित्र राख्ने ?’

तर, पहिलो सम्बन्ध कुनै कारणले (मृत्यु, पारपाचुके) टुटेर पुरुषले दोस्रो विवाह गरेको अवस्थामा पहिलो विवाहबाट जन्मिएका सन्तानले सौतेनी आमालाई आफ्नो परिवार ठान्नु नपर्ने वा सौतेनी आमाले श्रीमानको पहिलो विवाहबाट जन्मिएको सन्तानलाई आफ्नो परिवार मान्नु नपर्ने अवस्थाले समस्या निम्त्याउँदैन ? भन्ने प्रश्नमा चौधरीले भनिन्, ‘यस्तो अवस्थामा के गर्ने भनेर पछि नियमावलीमा व्यवस्था गर्न सकिन्छ ।’

बाजे बज्यै पनि अटेनन्

समितिमा दफावार छलफलमा रहेकोे विधेयकमा ‘परिवार शब्दले पुरुष वा अविवाहिता महिला कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजको सासू, ससूरालाई समेत जनाउने’ भनिएको थियो । समितिले यो प्रस्तावित व्यवस्थालाई पनि संशोधन गर्दै बाजे र बज्यैलाई परिवारको परिभाषाबाट हटाएको छ ।

समितिले जुटाएको सहमतिअनुसार परिवारको परिभाषाभित्र अब तीन पुस्ते (आमाबुबा, श्रीमानश्रीमती र छोराछोरी) मात्रै पर्नेछन् ।

समितिले परिभाषामा विवाहित/अविवाहित भन्ने शब्द पनि हटाएको छ । ‘विवाहिता महिला कर्मचारीको हकमा निजको सासू, ससूरालाई समेत जनाउने’ भन्ने व्यवस्थालाई पुरै झिक्ने सहमति भएको होे ।

छलफलका क्रममा सांसदहरुले महिलाको सासू–ससूरा राख्ने भए पुरुषको किन नराख्ने ? भनेरसमेत प्रश्न उठाएका थिए ।

परिभाषा बदल्दा के असर पर्छ ?

विधेयकको दफा ५२ अनुसार कुनै निजामती कर्मचारीको सेवामा छँदै मृत्यु भएमा निजको परिवारलाई त्यस्तो निजामती कर्मचारीले खाईपाई आएको १२्र महिनाको तलब बराबरको रकम एकमुष्ट विशेष आर्थिक सुविधा प्रदान गर्ने उल्लेख छ ।

विधयेक पारित भएपछि यो सुविधामा ‘सौतेनी आमा र हजुरबुबा र हजुरआमा’ले दाबी गर्न सक्ने छैनन् । यस्तै परिवारको परिभाषाभित्र नपरेकाहरुले निवृत्तिभरण वा उपदान जस्ता विषयमा पनि दाबी गर्न पाउने छैनन् । बिरामी हुँदा परिवारका सदस्यले समेत निजामती अस्पतालमा उपचार गर्दा सहुलियत पाउँछन् ।

हाल राज्य व्यवस्था समितिमा छलफलका क्रममा रहेको विधेयक समितिबाट पारित भई संसद पुग्नेछ । संसदबाट पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै कार्यान्वयनमा जानेछ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?