Comments Add Comment

तिमीसँगै गहिरो मायाँ बस्यो जलजला… (फोटो फिचर)

भेटेर तिमीलाई सोधु सोधु लाग्यो,
लेखेर तिम्रो गीत गाउँगाउँ लाग्यो,
प्यारो जलजला…।

जलजलाको बयान गर्दै कुनै समयमा मणि थापाले लेखेका थिए यो गीत । यो गीतका शब्द जस्तै अहिले जलजलाको पाखाभरी गुराँस फूलेको छ । यो गुराँस फूल्ने याममा जलजला झनै मनमोहक बनेको छ ।

हो, जलजला निकै सुन्दर छ । त्यसैले त सबैको प्यारो छ । त्यसैले यस जलजलाको नाममा फिल्म बनेका छन् । धेरै गीत लेखिएका छन् ।

तिम्रै निम्ति बरु यो ज्यान गए गैजाला
तिमीसँगै गहिरो मायाँ बस्यो जलजला…।

कुनैबेला वर्गीय मायाबाट ओतप्रोत भएर चुनु गुरुङले गाएकी थिइन् यो गीत । साँच्चै एकपटक पुगेपछि जोसुकैको मायाँ बस्छ जलजलासँग । त्यसैले ‘जलजला’ नपुगे पनि यो शब्द नसुन्नेहरु कमै होलान् ।

जलजला प्राकृतिक सुन्दरताको खानीमात्र होइन, यो त जनयुद्धको उदगम थलो रोल्पा जिल्लाको बीरताको प्रतीक पनि हो । १० वर्षे जनयुद्धको अवधिभर यसको काखमा धेरै निदाए, कति ओत लागे, घाउमा मल्हमपट्टी लगाए र भोक मेटाए । साँच्चै कहिल्यै हारेन जलजला ।

मणि थापा गीतमा लेख्छन्-

कुहिरोले छोप्दा तिमी छोपिएनौ
संगीनले रोप्दा तिमी रोपिएनौ
ननिभ्ने दियो तिमी नै भइरह्यौ
नझुक्ने किल्ला तिमी नै भइरह्यौ ।
प्यारो जलजला… ।जलजला रोल्पा जिल्लाको सुन्दर पहाड हो । हजारौं रोपनीमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थवाङ गाउँपालिकाले घेरेको छ ।

नयाँ ठाउँको भ्रमण गर्ने, नौलो अनुभव बटुल्ने त्यहाँको शब्दचित्र कैद गर्ने इच्छा भइरहेको बेलामा चौथो पटक जलजला जाने अवसर रोल्पा नगरपालिकाले आयोजना गरेको रोल्पा गुराँस साहित्य मेलाले जुराइदियो । गत वैशाख १५ देखि १७ गतेसम्म भएको साहित्य मेलाको आकर्षण नै जलजला भइदियो ।

लिबाङमा भएको कार्यक्रम पहिलो दिन उद्घाटनको समयमा पुग्न नसके पनि साँझदेखि मेरो लिबाङ बसाइ शुरु भयो । साथी दिनेश सुवेदीसँगको सम्पर्कमा त्यो रात होटलमा बसेर अर्को दिन विहानै कार्यक्रमस्थलमा पुगें । यो दिन तीनसत्र लिबाङमै कार्यक्रम गरेर जलजला प्रस्थान गर्ने कार्यक्रम तय भएको रहेछ । १२ बजेतिर जलजलाको यात्रा शुरु भयो ।

१६ किलोमिटर कच्ची सडक करीब तीन घण्टामा पार गरेर रोल्पा नगरपालिकाकाकै पेवामा पुगिदो रहेछ । यो बाटोको यात्रा नै आफैंमा पर्यटकीय यात्राजस्तै लाग्छ । पहिले तीनपटक जलजला पुगिसकेको भएपनि यसपटकको यात्रा नौलो बाटो भएर जाँदै थिएँ । त्यसैले अगाडिको दृश्य हेर्न र कैद गर्न सजिलो होस् भनेर गाडीको अगाडिको सिटमा नै थिएँ । छेउमा रोल्पा नगरपालिका प्रमुख पूर्ण केसी हुनुहुन्थ्यो ।

गाडी धाङ्सी खोलाको तिरैतिर हुइकिरहृयो । मलाई नगर प्रमुखले बाटो छेउका गाउँहरु चिनाउदै हुनुहुन्थ्यो । म ध्यानपूर्वक सुन्दै हेरिरहेको थिएँ । केही वर्षअघि मात्रै खुलेको सडक साँघुरो थियो । केहीबेरमा धाङ्सी र धबाङखोलाको दोभान भेटियो । यहाँदेखि हामी धबाङ खोलाको तिरैतिर धैरेनी पुग्यौं । अघिसम्म तेर्सो बाटो खोलाको तिरैतिर हिँडेका हामी यहाँबाट धबाङ खोला तरेर उकालो चढ्न थाल्यौं । माथि चिउरीधारा रहेछ । यहाँबाट पूर्वतर्फ धबाङ गाउँ प्रस्ट देख्न सकिन्छ ।

बाक्लो बस्ती भएको धबाङ गाउँ पनि कम सुन्दर छैन । पहाडमा बिरलै देखिने यो गाउँ क्यामेरामा कैद गर्दै अघि बढ्यौं । यहाँदेखि गापा, कुलम्पा हुँदै हामी पेवागाउँमा पुग्यांै । पेवा हाम्रो जीप यात्रााको अन्तिम बिन्दु थियो ।

ओखरेनीसम्म सडक बन्दै गरेको भएपनि सञ्चालनमा नआएकाले हामी यहीबाट हिंड्नु पर्ने थियो । रोल्पा नगरपालिकाको वडा नम्बर १० मा पर्ने पेवाका स्थानीय हाम्रो स्वागतको लागि बाजागाजासहित आफैंले बनाएको गेटमुनि तैनाथ थिए ।

मगर संस्कृतिको सेतो टीका र रोल्पाको पहिचान लाली गुराँसको मालाले स्वागत गर्दै उनीहरुले चिया, भुटेको मकै र भाङोको खाजाले स्वागतमात्र गरेनन् उकालोको सहारा प्रत्येकलाई लट्ठीसमेत दिए । यसबाट पर्यटक भित्र्याउन पेवाबासी आतुर रहेको देख्न र बुझ्न सकिन्थ्यो ।

पेवाबाट अग्रपंक्तिमै हिँड्ने भनेर नगरपालिका उपप्रमुख, साहित्यकार अभय श्रेष्ठ र म लगायत साथीहरु उकालो बाटो लाग्यांै । करीब १०/१५मिनेट हिंडेर माथि पुगेपछि तलबाट खबर आयो- हामी सही बाटो हिँडेका छैनौं । पुनः तल झरेर अर्को बाटो लाग्यौं ।

अब हामी कतै तेर्सो, कतै उकालो बाटो झण्डै तीन घण्टा हिंडेर ओखरेनी पुग्नु थियो, जहाँ आजको अन्तिम गन्तब्य हो । सानो गोरेटो बाटोमा ७०/८० जनाको लस्कर देखिंदा लाग्थ्यो, यो फौजी कुनै लडाइँ लड्न जाँदैछ ।

हाँस्दै रमाउँदै जंगलकै बीचमा खुल्ला चौर जस्तो ठाउँमा पुग्यौं । भनभनेबाङ भन्ने यो ठाउँँ द्वन्द्वको समयमा माओवादी सेनाको तालिम केन्द्र रहेछ । २०५८ मंसिर ८ को घोराही आक्रमणअघि १५ दिन तयारी गरिएको स्थल पनि रहेछ यो । वारिपारि बंकर र टनेल राखिएको यो चौरको तीन सय मिटर लम्बाइ छ । यसलाई युद्ध पर्यटकीयस्थल बनाउन सकिने सम्भावना रहेको छ ।

यिनै रमाइला कथा सुन्दै, सुनाउँदै अस्ताउँदो सूर्यसँग लुकामारी गर्दै झमक्क रात पर्ने बेला हामी ओखरेनी पुग्यौं ।

अब भने हामी रोल्पा नगरपालिका छाडेर सुनछरी गाउँपालिका प्रवेश गरिसकेका छौं । ओखरेनी रोल्पा नगरपालिका र सुनछरी गाउँपालिकाको सिमाना हो । पानी ढलका हिसाबले यो सुनछहरी ७ मा पर्छ । साँझ ८ बजे ओखरेनी पुग्दा सुनछहरी गाउँपालिकाको तर्फबाट अध्यक्षसहित स्थानीय बत्ती बालेरै स्वागत गर्न आउनुभयो । एउटा घरमा सबैलाई खानाको तयारी हुँदै थियो । घर अगाडि मुढाहरु जम्मा गरेर आगो बालिएको थियो ।

पहाडको उच्चभाग भएकाले यहाँ चिसो थियो । खुल्ला आकाश मुनि आगोमा क्याम्पफायर गर्दा दिनभरिको थकाइ र दुःख बिर्संदै थियौं । एकछिनमा त्यहीँ सुरु भइहाल्यो दोहोरी । रोल्पा नगरपालिकाले जेनेरेटर लगेर बत्तीको व्यवस्था गरेको थियो भने सुत्नका लागि १२ वटा टेन्ट बनाएर स्लिपिङ ब्यागको ब्यवस्था गरिएको थियो ।

खाना खाँदा करीब रातिको १० बजिसकेको थियो । दिनभरिको थकाइ थियो तर पनि गुराँस साहित्य मेलाले तय गरेको वाह ! ओखरनी गजल साँझ बाँकी नै थियो । गजल साँझपछि अभय श्रेष्ठ, स्नेह सायमी र देबी नेपालसहित हामी चार जना स्थानीयको एउटा घरमा बस्यौं । गजब त के थियो भने पाहुनाले खाना खाए नखाएको, सुताइ उठाइ सबै चाँजोपाँजो मेयर पूर्ण केसीले नै मिलाइरहेका थिए ।

उहाँको सरल स्वभाव र सहजता देखेेेर काठमाडौंबाट आएका साहित्यकार पनि निकै प्रभावित देखिन्थे । अभय श्रेष्ठ, देबी नेपाल र स्नेह सायमीले साँच्चै स्थानीय सरकारको अनुभूति गरेको महसुस सुनाउनुभयो । कतिपय ठाउँमा मेयरहरु चुनावको भोलिपल्टदेखि नमस्कार फर्काउन पनि अफ्ठ्यारो मान्ने गरेका घटना सम्झदै साहित्यकाहरुले सबै स्थानीयतहका प्रमुखहरु यस्तै सरल भए स्थानीय सरकार सफल हुने टिप्पणीसमेत गर्नुभयो ।

मेलाको अन्तिम दिन वैशाख १७ गते बिहानै उठेर हामी ६ नबज्दै उकालो चढ्न थाल्यौं । आजको दिन धेरै हिंड्नु थियो । अब बाटोमा कुनै मानव बस्ती नभएकाले आफूलाई चाहिने बन्दोबस्तीका सामान साथमा लैजानुपर्ने हुन्छ । जलजला घुमेर थबाङ झरेर लिबाङ पुग्ने कार्यक्रम तय थियो । ओखरेनीदेखि जलजला जान दुईवटा बाटो प्रयोग गर्न सकिन्थ्यो, तेर्सो र ठाडो । कोही साथी उकालो उक्लेर डाँडैडाँडा बाटो लागे । हामीले भने तेर्सो बाटो समात्यौं ।

लालीगुराँससँग रमाउँदै हामी करिब तीन घण्टाको पैदल यात्रापछि धरमपानी पुग्यौं । ओखरेनीदेखि उकालो लाग्दै गर्दा अब यहाँको लालीगुराँस खान हुँदैन भन्दै हुनुहुन्थ्यो मेयरसाबले । अन्यत्रको गुराँसको फूल औषधिको रुपमा पनि प्रयोग हुने हुँदा खाने गरिन्छ तर उच्च भेगको खान नमिल्ने रहेछ ।

जतिजति माथि उक्लिदै गयौं, रुखपातहरू कम हुँदै गए । जलजला क्षेत्रको अग्लो पहाडको चुचुरोमा धरमपानी पर्दछ । धरमपानीबाट मौसम खुलेको बेला रुकुमको सिस्ने, पुथा हिमाल, धौलागिरी हिमाल दृश्यावलोकन गर्न सकिन्छ । यहाँ जनयुद्धको समयमा शहिद स्तभ बनाइएको छ ।

यसको सुन्दरतामात्र होइन, ऐतिहासिक महत्व पनि छ । युद्धकालमा तत्कालीन माओवादीले यही स्थानबाट रेडियो जनगणतन्त्र सञ्चालन गरेको थियो । रोल्पा नगरपालिकाको सिमाना यहीँसम्म रहेछ । त्यसैले नगरपालिकाले यही ठाउँमा कार्यपालिका बैठकसम्म बस्न भ्यायो ।

यतिबेला विहानको करीब १० बजेको छ । हामीजलजला क्षेत्रमा भएपनि मुख्य गन्तव्यमा पुग्न तीन घण्टा पैदल हिँड्नुपर्छ । पहाड नै रातै देखिने गरी फूलेका लालीगुराँस अनि चारैतिर देखिने हिम चुचुराका तस्विर कैद गर्दै दिउँसो करिब १ बजे मुख्य गन्तव्य जलजलामा पुग्यौं । गुराँससँग कविता, यहाँको कार्यक्रम थियो ।एक घण्टा जतिको कविता वाचन र दृश्यावलोकनपछि हामी थबाङतर्फ झर्यौं । तीन घण्टाको ओरालोपछि थबाङको चालाबाङ पुग्यौं । थबाङबाट चालावाङसम्म जीप आएपछि यात्रा केही छोटो भयो । थबाङ पुग्दा गाउँपालिकाले पनि हामीलाई स्वागत गर्‍यो । त्यसपछि हामी लिबाङतर्फ लाग्यौं ।

यसपटकको यात्रामा केही स्रष्टासितको सामिप्यताले अविष्मरणीय याद दिलाएको छ । साहित्यकारसमेत रहेका नगर प्रमुख पुरन केसी, दीप दर्पण, नवीन विभास, डिबी टुहुरो, नवीन लोचन, देवी गुरुङ, वोयम जी, खेमराज गाउँले र उमा केसीलगायतसितको यात्रा निकै यादगार रह्यो ।

१०० नयाँ पर्यटकीय गन्तव्य मध्ये एक

जलजला नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० को एक सय गन्तब्यमा सूचीकृत भएको नयाँ गन्तव्य हो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भिजन ट्वान्टी-ट्वान्टी अभियान नै शुरु गरेको छ । जसमा जलजला पनि परेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गमा जाने पर्यटकहरुलाई सहज होस् भनेर ठाउँ ठाउँमा बाटो देखाउने साइनबोर्ड राख्न थालेको छ । तल जमिन दलदल गर्ने कपासको भुवामा टेके जस्तो लाग्ने पानी नै पानीले भरिएको छ जलजला । अगाडि निलो आकाश मुनि हरिया साना थुम्का छन् ।

दुर्लभ सेतो गुराँस यहाँको अर्को आकर्षण हो । घोरल, थार, मृग, बँदेल, भालुजस्ता जंगलीजनावर समेत पाइन्छन् । धूपी, बाँज, सेतो गुराँस, लालीगुराँस, भोजपत्र, लेकाली सल्लालगायत वनस्पति र जडीबुटी पाइन्छन् यहाँ । यस्तै डाँफे, मुनाल, कालिज, बँदेल, बाघ, भालु लगायत पंक्षी तथा जनावर पनि यहाँ भेटिन थालेका छन् । युद्धकालदेखि नै जलजलामा वस्तुभाउ चरिचरनमा बन्देज लगाई संरक्षण गरिँदै आएको छ ।

आफ्नो पहिचान, बीरता र ऐतिहासिकता बोकेको जलजलाको दृश्य शब्द र तस्वीरले वर्णन गर्न सकिँदैन । महिनैपिच्छे जलजलाको फरक फरक दृश्यावलोकन गर्न सकिन्छ । चैत वैशाखमा लालीगुराँसले ढकमक्क देखिने जलजलालाई हिउँदमा सेतै हिउँले ढाकेको हुन्छ । भदौ असोजमा दुर्लभ रथबिरथ फूलहरुले सिंगारिन्छ जलजला ।

सयौं जातका बुकी फूलहरुमा सजिएको छ जलजला । फूलमा रमाएका चराहरुको चिरबिर आवाजले कान नै गुन्जायमान गराइदिन्छ । जलजलाको दलदल गर्ने घाँसे मैदानमा आनन्द लिएर बेग्लै अनुभव यहाँ गर्न सकिन्छ ।

जलजलाको ऐतिहासिक महत्वसँगै धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ बैशाखे पूर्णिमा, ज्येठासी पूर्णिमा र साउने पूर्णिमा आर्थात जनै पूर्णिमामा भव्य मेला लाग्ने गर्दछ । मेलामा मात्रै नभई अरु बेलामा समेत जलजलामा बराहलाई भेँडाको बलिदिन सयौंको संख्यामा पुग्ने गर्दछन् । यहाँ बराह देवताको पूजा गरिन्छ । यहाँ पुगी पूजा गरेर चिताएको पुग्ने धार्मिक विश्वास छ । साथै आफूले आर्जन गरेको धनजनको सुरक्षाको लागि समेत त्यहाँ पुगी पूजा गर्ने चलन छ ।

जलजलामा कैलु बराहा, सतदेव बराह, बज्यु बराह, रानीबज्यु र भामाओडार गरी जम्मा ५ ठाउँमा पूजा र बली दिने गरिन्छ । भेडाभेडी र कुखुराको बली दिइने जलजलामा झाँक्रीमगर र रोकामगर थरका पूजारीबाट पूजाआजा गरिन्छ ।

कसरी पुग्ने जलजला ?

जलजला पुग्न ४ वटा रुट प्रयोग गर्न सकिन्छ । घोराहीदेेखि रोल्पा सुलिचौरसम्मको कालोपत्रे बाटो र करीब २५ किलोमिटर कच्ची मोटर बाटो हिँडेपछि जेलबाङ पुग्न सकिन्छ । त्यहाँबाट करीब ७ घण्टाको पैदल उकालो यात्रापछि जलजला पुग्न सकिन्छ ।

घोराही, होलेरी, मिरुल हुँदै थबाङसम्मको १४० किलोमिटर कच्ची मोटर बाटो गाडीमा गएपछि तीन घन्टाको पैदल यात्रापछि पनि जलजला पुग्न सकिन्छ ।

सोही बाटोको मिरुल टुटु झरेर जानेे बाटो पनि प्रचलित छ । लिबाङ, ओखरेनी, जलजला रुट भने नयाँ हो, जसको आरम्भ यही वर्षबाट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment