+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कुलेखानीमा कुलमानको आक्रोशः ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी

१५ दिनभित्र कुलेखानी तेस्रो जलविद्युतको परीक्षण सकिने

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते १३:०५

२९ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना निर्माणस्थलमा शनिबार आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने निर्णय भएको हो ।

आयोजनाको विद्युतगृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परिक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार र परामर्शदाता कम्पनीहरुले जनाएका छन् । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई आतबार नै समाधान गरिदिएको छ ।

मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण सम्पन्न भइसकेको छ । ‘विद्युत् गृहका टर्वाइन, जेनेरेटर लगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान करिब करिब सम्पन्न भइसकेको छ, अहिले उपकरणहरुको ड्राई टेष्ट भइरहेको छ, सुरुङ पेनस्टक पाइप हुँदै मेन इनलेटभल्वसम्मका सम्पूर्ण संरचना तथा उपकरणहरुको परीक्षण भइसकेको छ’,घिसिङले भने ।

‘जतिसक्दो छिट्टो आयोजनाबाट विद्यत् उत्पादन गर्न सबै उपाय लगाइरहेका छौं,’ आयोजनाको निर्माण चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनको लापरबाही र कमजोर कार्यसम्पादनका आयोजनाको निर्माण ढिलाइ भएको छ ।

कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलबाटै भारतमा रहेका हुसालका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरबाही गरी कम्पनीले अन्य स्थानमा लिएको ठेक्का टोडी कालोसूचीमा राख्ने चेतावनी दिए ।

‘अझै पनि विभिन्न बहाना बनाए कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत उत्पादन धकेलेमा हुलासले लिएका अन्य प्रसारण तथा सबस्टेसन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु’, उनले आक्रोशित हुँदै टेलिफोनमा गोल्छालाई चेतावनी दिए । ‘राष्ट्रिय महत्वको आयोजनाको काम सम्पन्न नगरेर मुलुकलाई बन्धक बनाउने ? योभन्दा ठूलो अपराध के हुन सक्छ ?’


कम्पनीले विद्युतगृह तथा प्रसार लाइन निर्माणमा संलग्न श्रमिकलाई तलब नदिएपछि उनीहरुले केही दिनअघि आन्दोलन गर्दै काम ठप्प पारेका थिए । प्राधिकरणले समस्या समाधानका लागि ठेकेदार कम्पनीलाई आइतबार नै पैसा दिने छ । कम्पनीले श्रमिकहरुलाई करिब १८ लाख रुपैयाँ दिन बाँकी छ ।

प्राधिकरण र कम्पनीबीच  हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको आपूर्ति, जडान र संचालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।  ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम -झन्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट अशुल्ने निर्णय प्राधिकरणले गरेको थियो ।

प्रसारण लाइनको तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको  छ । कम्पनीले बाँकी एउटा टावर खडा गरिरहेको छ । त्यसपछि ५ सय मिटर तार तान्नु पर्ने छ । ठेकेदार कम्पनीले यो काम एक हप्ताभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो । आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?