Comments Add Comment

सन्दीप लामिछानेले भने – आईपीएलमा यसपटक अझ धेरै सिकेँ

'प्रधानमन्त्री कप खेल्दिनँ'

२९ वैशाख, काठमाडौं । इन्डिएन प्रिमियर लिग (आईपीएल) खेलेर फर्किएका सन्दीप लामिछानेले गएको वर्षभन्दा यो वर्ष उपलब्धीपूर्ण भएको बताएका छन् ।

आइतबार त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दिल्ली क्यापिटल्सबाट यसवर्ष आफूले ६ खेल मात्रै खेल्न पाएको भए पनि धेरै कुरा सिकेको बताएका हुन् ।

‘तुलनात्मक रुपमा पहिले भन्दा राम्रो भएको छ । यसपटक पनि व्यक्तिगत रुपमा मात्रै नभई नेपाली क्रिकेटकै स्तर माथि उठाउन केही योगदान गर्न सकेँ जस्तो लागेको छ’, उनले भने ।

साथै जेठ पहिलो साता हुने प्रधानमन्त्री कप क्रिकेटमा भने आफू सहभागी नहुने पनि उनले बताए । धेरै व्यस्त भइरहेकाले यसपटक आराम गर्न प्रधानमन्त्री कपमा सहभागी नहुने उनको भनाई छ ।

आईपीएलमा खेलेका ६ खेलमा उनले ८ विकेट लिएका थिए । जसमा उनको इकोनोमी ९.१३ र एभरेज २६.२५ रहेको थियो ।

उनले जारी आईपीएलमा अन्तिमपटक रोयल च्यालेन्जर्स बेग्लोरविरूद्ध खेलेका थिए । जुन खेलमा महँगो सावित भएका सन्दीपले ३ ओभर बलिङ गर्दै ३६ रन खर्चिएका थिए भने विकेट लिनबाट भने असफल रहेका थिए । यसपछि दिल्लीले खेलको चार खेलमा कुनैमा पनि सन्दीपले प्लेइङ इलाभेनमा स्थान बनाउन सकेनन् ।

उनको टिम दिल्ली क्यापिटल्स प्लेअफसम्म पुगेकाले भने गएको वर्ष भन्दा सफल भएको मान्न सकिन्छ । गएको वर्ष दिल्ली डेयरडेभिल्स (क्यापिटल्स) नाममा रहेको टिममा उनले अन्तिम ३ खेलमा मात्रै मौका पाएका थिए ।

सन्दीप चढेको विमान आइतबार दिउँसो साढे २ बजे ल्याण्ड हुने भनिए पनि प्राविधिक कारणबस पौने ५ बजे मात्रै ल्याण्ड भएको थियो । त्यसैले ल्याण्ड हुन लागिसकेको विमानसमेत आकाशमा होल्ड भएपछि केहीबेर डर लागेको समेत उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment