सरकारकाअनुसार देश समृद्धिको बाटोमा अगाडि बढिरहेको छ । तर, देवकुमारीदेवी पासवानहरुको जीवनले भन्छ- समानता, गरिबी, न्यायका मुद्दाहरु कोमामा छन् ।
र, देवकुमारीदेवीको घरले भन्छ, ‘सरकार जनताको आततायी दैनिकीबारे पनि अनविज्ञ छ ।’ होइन भने देवकुमारी देवीको अभाव किन कहिल्यै निको नहुने घाउजस्तो ?
सर्लाहीको कर्जन्हा- ८, ठलाह गाउँ । देवकुमारीदेवी आँगनमा बसेर रहरको दाल केलाइरहेकी छिन् । चैत/वैशाखको महिना । चर्को घाम । देवकुमारीको हरियो बुट्टेदार सारीको घुम्टोबाट फुत्किएको केही कपालका जरा र अनुहारमा रहरका दानाजस्ता पसिना टिल्पिलाएका छन् । केही दाल उनले समाएको सुपोमा छन्, केही प्लास्टिकको बोरामा र केही भुइँमा छरपस्ट । यो दाल देवकुमारी देवीको आफ्नै खेतमा फलेको भने होइन । फल्नका लागि त आफ्नो खेत पनि हुनुपर्यो नि !
देवकुमारीदेवीले अर्कैको जग्गामा पसिना बगाएर जोहो गरेकी हुन् । अरुको खेतमा एक दिन पाखुरा बजारेबापत देवकुमारीले कि त तीन सय रुपैयाँ पाउँछिन्, कि चार पाथी धान ।
तर, यतिबेला उनको भण्डारमा धान छैन । छ त केवल अपमान, पीडा र दुःखले भरिएको ६ धुरमा फैलिएको झुप्रो र आँगन ।
देवकुमारी देवीलाई नेपाली भाषा आउँदैन । बुझि्दनिन् पनि । मैथिली नबुझ्नेलाई दोभाषेको जरुरत पर्छ उनीसँग कुरा गर्न । यतिबेला दोभाषे छन् स्थानीय जिवछ पासवान । देवकुमारीदेवीको दुःख केही देखिरहेको छु, केही जिवछमार्फत सुनिरहेछु ।
हर जिज्ञासामा देवकुमारीदेवी केहिछिन् टोलाउँछिन्, रहरको गेडा खेलाउँछिन् र जवाफ फर्काउँछिन् । किनकी देवकुमारीले आफ्नो जेलिएको कथा सुनाउँदा उनको मुटुमा गाँठो पर्छ । जुन गाँठो झन्-झन् कसिलो बन्दै गएको छ ।
****
दुई वर्ष पहिले देवकुमारीदेवीको घरको छानाले रुप फेरेको छ । खर विस्थापित भएर टिन आइपुगेको छ । छाना चुहिएर माटोले लिपेको गाह्रोको हरिविजोग हुन थालेपछि देवकुमारीदेवीले टिन ल्याइन् । यदि माइत र छिमेकीले केही रकम सहयोग नगरेको भए देवकुमारीदेवीको परिवार अहिले पनि रुझेरै सुतिरहेको हुन्थ्यो ।
अहिले यो घरमा पाँच जनाको परिवार बस्छ । ५३ वर्षीया देवकुमारीदेवीको छोरा छैनन् । छोरा-छोरा भन्दाभन्दै छ वटा छोरी जन्माइन् । दुई छोरीले कर्मघर भेटाइसके । तीन छोरी र ६२ वर्षीया श्रीमान रामबृज पासवानको साथमा छिन् देवकुमारी । जेठी छोरी दुखनी दुई वर्षअघि माथि गइसकिन्, ताराहरुको देशमा ।
बिहे त दुखनीको पनि भएको थियो, तर उनीहरुको दाम्पत्य सम्बन्ध उनको घरजस्तै कच्चा भयो । हावाको सानो झोक्काले पनि उडाइहाल्ने । त्यसैले, २६ वर्षीया दुखनी आमा-बाबाको काखमै थिइन् ।
विस्तारै दुखनीको तल्लो पेट दुख्न शुरु भयो । तर, त्यो दुखाई सहन बाध्य थिइन् । किनकी देवकुमारीदेवीको परिवारसँग सामान्य रोगको उपचार गर्ने पनि हैसियत छैन । नेताहरु सामान्य पेट दुख्दा पनि विदेश पुगेको खबर सुन्ने दुखनीले सकेसम्म आफ्नो पेटको जलनलाई खटाएरै निभाउने प्रयास गर्थिन् ।
यसो गर्नुको विकल्प किन पनि थिएन भने उपचार त के सुत्नै पनि मुस्किल थियो उनीहरुलाई । थोरै जमिनमा फैलिएको उनको घरमा सबै जहान अटाउन धौ पर्थ्यो । त्यसैले घर बाहिर पिँढीमा पराल विछ्याउथे र त्यसैमाथि लहरै सुत्थे । ओढ्ने थोत्रा कपडा पनि अपुग थियो ।
अहिले भने देवकुमारीको परिवारसँग ओढ्नका लागि दुई वटा ब्लाङ्केट छन् । एउटा देवकुमारीको भाइले दिएको र अर्को गाउँपालिकाको उपहार । गरिब भएकै कारण देवकुमारीको परिवारले सरकारबाट पाएको यत्ति एउटा खैरो ब्ल्यांकेट हो । तर, दुखनीले यो ब्ल्याकेट ओढ्न पाइनिन् ।
****
दुखनीको दुखाइको गेयर बढ्दै गयो । खटाइसाध्य नभएपछि दुखनी नजिकैको स्वास्थ्य चौकी पुगेकी थिइन् । तर, स्वास्थ्यको चौकीको औषधीले उनको दुखाइमा मल्हम लगाएन ।
त्यसपछि देवकुमारीदेवीले भएको एक कट्ठा खेत बेचिन् – ४० हजार रुपैयाँमा । र, जिल्लाको अस्पतालमा डुलाइन् । र, पनि दुखिरहिन् दुखनी ।
तीन वर्षअघि आफन्तको सहयोगमा दुखनीलाई जनकपुर पुर्याइयो । अस्पतालले भन्यो, ‘पाठेघरलाई भर्खर क्यान्सरले छोएको छ । निको त हुन्छ, तर धेरै खर्च लाग्छ ।’ अब चुपचाप घर फर्कनुको विकल्प थिएन दुखनी र उनको परिवारलाई ।
त्यसपछि जति नै पेट दुखे पनि छटपटाएरै बसिरहिन् दुखनी । एक वर्ष चरम छटपटाहटपछि शान्त भइन् । देवकुमारीदेवी र रामबृजले छोरीको लागि गर्न सक्ने भनेको आँसु बगाउनु र पश्चातापमा जल्नु मात्र थियो । उनीहरुले त्यही सम्पत्तिको भरपुर उपयोग गरे, गरिरहेछन् ।
****
विगतमा हराउँदा हराउँदै देवकुमारीदेवी आफ्नै अगाडि रहेको रहरको दाल विर्सन्छिन् । खेलाइरहन्छिन्, तर त्यहाँ भएका ढुंगा माटो टिपेर फाल्दैनिन् । घरी घरको ढोकातर्फ आँखा दौडाउँछिन् ।
त्यहाँ झुण्डिएको थोत्रो झुल र ब्ल्यांकेट छ । अझ खुलाभित्र थोत्रा कपडाहरु अस्तव्यस्त छन् । घरि पछि फर्कन्छिन् । त्यहाँ माटोको चुह्ला छन् र चुह्लामाथि सफा गरेर राखिएका केही भाँडा । त्यसको छेउमा केही आयोडिन नुन । अनि छेउमै माटैले लिपेको सानो भकारी छ । त्यो नै उनको भण्डार हो ।
देवकुमारीलाई यतिबेला छिमेकीले घेर्न आइपुगेका छन् । घरिघरि बोल्नुअघि तिनै छिमेकीलाई हेर्न फरक्क फर्कन्छिन् देवकुमारी । त्यसो गर्दा उनको नजर त्यहाँ पनि पर्छ, जहाँ काठको खम्बाले खरको छानो अड्याएको छ । झाप्टाले बार लगाइएको छ । र, त्यहाँभित्र एउटा भैंसी छ । ठ्याक्कै चुह्लोको छेउमा ।
सन्तानसँगै त्यो भैंसीलाई पनि लालनपालन गर्छिन् देवकुमारीदेवी । तर, त्यो भैंसी पनि कहाँ देवकुमारीदेवीको हो र ! भाडामा लिएकी हुन् । दूध पनि साहुसँग आधाआधा र भैंसी बिक्रीपछि आउने रकम पनि आधा-आधा गर्ने सर्तमा । यस्तो लाग्छ देवकुमारीदेवीको परिवार नै लिजमा छ, बटैयामा छ ।
****
शुक्रबारको दिन । घडीले दुई बजाउन आँटेको छ । देवकुमारीकी कान्छी छोरी स्कुलबाट आइपुगिन् । उनको उमेर भर्खर १० वर्षमा दौडदै छ । उनले आकाशे रङको कमिज र निलो जामा नखोलिकनै घरको खाबोमा अडेस लगाई एक टकले आमालाई हेर्न थालिन् । देवकुमारीदेवी च्यापुमा हात लगाएर खुइय्य सुस्केर हाल्दैछिन् ।
तर, गाउँतिर निस्किएका देवकुमारीदेवीका श्रीमान रामबृज अहिलेसम्म आइपुगेनन् । श्रीमानको धेरै चासो पनि छैन देवकुमारीलाई । किनकी देवकुमारीको पाखुरा नचले परिवार भोकै बस्नुपर्छ ।
६२ वर्षका भए रामबृज । उनी त्यति चल्तापुर्जा छैनन् । त्यसैले छिमेकका दौंतरी भारत गएर दुई-चार हजार पठाउँदा उनी घरमै बसिरहे । कहिले काहिँ मात्र अरुको खेतमा काम गरेर केही अन्न भित्राउथे । श्रीमानकै कारण देवकुमारीदेवीले साहुको खेत बटैयामा लिने आँट पनि गर्न सकिनन् ।
अर्को कुरा रामबृजलाई स्वास्थ्यले पनि साथ दिएको छैन । उनी रोगी छन् । देवकुमारी भन्छिन्, ‘दुई-चार वटा खै के-के रोग लागेको छ । एउटा रोग त दिसा गर्ने ठाउँबाट रगत निस्कने हो ।’
नजिकैको स्वास्थ्य चौकीमा पुगेर बृजकुमारले आफूमा रोग छ भन्नेसम्म थाहा पाए । निको नभए पनि त्यही स्वास्थ्य चौकीले दिएको औषधी खान्छन् । थप उपचार त उनीहरुको लागि कल्पनामात्र हो । यस्तो लाग्छ, उनीहरुसँग देश छैन ।
तर, परिवारलाई रामबृज बुढो भएकोमा एउटा फाइदा भएको छ । यो वर्षदेखि वृद्धभत्ता पाउन थालेका छन् उनले । तीन महिनाको चार हजार रुपैयाँ । यो परिवारले अलि ठूला रकम एकमुस्ट देख्ने भनेको त्यही वृृद्धभत्ता हो ।
हुन त छ महिनाअघि पनि देवकुमारीदेवीको हातले पचास हजार रुपैयाँको बिटा समाएको थियो । छोरीको बिहेको लागि ऋणस्वरुप त्यो रकम लिएकी थिइन् । तर, तय भएको बिहे पनि तीन दिनअघि टर्यो । त्यो ५० हजार ऋणले देवकुमारीदेवीको अनुहारलाई झन् अध्यारो बनाउँदै लगेको छ ।
मधेशमा बिहे गर्न त्यति सजिलो छैन । बिहेअघि केटापक्षले खसीबोका जसरी दाइजोको बार्गेनिङ गर्छ । देवकुमारीसँग अझै तीन छोरी छन् । एक-दुई छाक भोकै बस्न परे बरु उनलाई त्यसको प्रवाह छैन । तर, तीन छोरीको बिहे कसरी गर्ने ? रात दिन यसैको चिन्ताले गाल्छ देवकुमारीदेवीलाई ।
भन्छन्- मानिसले आफैं आफ्नो भाग्य र भविश्य कोर्ने हो । तर, वर्षौं अरुको खेतमा काम गरेर केही पाथी धान भित्राउने देवकुमारीदेवीको खुट्टा चर्किएका मात्र छैनन्, मक्कीसके । अहँ १ उनको भाग्य बदलिएन । बरु, तीन छोरीको बिहे भैसक्दा देवकुमारीदेवीले अहिले रहरको दाल केलाइरहेको जमिन उनको हुन्छ हुँदैन ? त्यो उनैलाई थाहा छैन ।