+
+
Shares

ढकाल परिवारको जन्मस्थान मोह : ठड्याए ५ करोडको विद्यालय भवन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३१ गते २०:५७

३१ वैशाख, काठमाडौं । धेरै मानिसहरु यस्ता हुन्छन्, जो सफलताको खुड्किलो चढ्दै जाँदा आफ्नो पृष्ठभूमिलाई बिर्सिदिन्छन् । तर कोही यस्ता पनि हुन्छन् जो आफू सफल भएपछि पछाडि फर्केर जन्मस्थानका लागि केही गर्न लालायित हुन्छन् ।

देशकै अग्रणी व्यवसायीमा गनिने चन्द्र ढकाललाई यही लालसाले आफ्नो जन्मस्थान बागलुङमा एउटा विद्यालय भवन निर्माण गर्न उत्प्रेरित गर्‍यो । परिवारका अन्य सदस्यहरुले उनलाई हात बढाए । र, ठडियो ५ करोड २८ लाखको लागतमा सुविधासम्पन्न भवन । भवन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुदायलाई हस्तान्तरण गरेकी छन् ।

‘यो माटोले हामीलाई मातृवात्सल्य प्रदान गरेको छ, जीवनमा पाइला चाल्न सिकाएको छ । वाल्यकाल व्यतित गरेको यहीँ आँगनले हामीलाई सभ्यता सिकाएको छ, ज्ञान दिलाएको छ । त्यसैले हामी मातृभूमीप्रति सधै ऋणि छौं,’ विद्यालय भवन हस्तान्तरण कार्यक्रममा भावुक मन्त्वय दिँदै व्यवसायी ढकाल भनिरहेका थिए ।

खासमा उनले बाल्यकालमा निम्नमाध्यमिक तहसम्म यही विद्यालयमा अध्ययन गरेका हुन् । आफूले पढेको विद्यालयका लागि योगदान गर्न पाउँदा उनको अनुहारमा आत्मसन्तुष्टीको बेग्लै आभा छचल्किएको थियो ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई एवम् ग्रुपका अध्यक्ष ढकालले मात्र नभएर उनका भाई हेमराज ढकाल र परिवारका अन्य सदस्यहरुले यही विद्यालयमा पढेका रहेछन् । कखरा सिकेको विद्यालयको भौतिक स्तरोन्नति गरेर उनीहरुले सन्देश दिए कि कर्मले आफूहरुलाई जहाँ डोर्‍याए पनि जन्मे/हुर्केको ठाउँलाई माया मार्ने छैनन् ।

ढकालले आफ्नी आमा र आफू जन्मेको ठाउँ स्वर्ग भन्दा प्यारो हुने भन्दै लंकाको एउटा कथा पनि सुनाए । ‘लंका जितेपछिको पहिलो सुनौलो विहानी लक्ष्मणले आफ्ना दाजु मर्यादा पुरुषोत्तम श्रीरामलाई आग्रह गरेका थिए, ‘दाजु हेर्नुहोस त, सुनैसुनले बनेको कस्तो स्वर्णमयी लंका, अब किन बनबासमा फर्किनु र ? हामी पनि यतै बसौ न, हुँदैन ? भाइको यो आग्रहको जवाफ श्रीरामले यसरी दिएका थिए-

अपि स्वर्णमयी लङ्का नमे लक्ष्मण रोचते ।
जननी जम्भूमिश्च स्वर्गदपी गरियसी ।

हेर भाइ, लंका जति नै सुनौलो र स्वर्णमयी भएपनि आफ्नी आमा र आफ्नो जन्मभूमि नै स्वर्गभन्दा प्यारो हुन्छ । लक्ष्मण लोभिएको त्यो स्वर्णमयी लंकाभन्दा रामलाई त्यहीँ अयोध्या प्यारो थियो ।’

ढकाल परिवारबाट आफ्ना पिता स्वर्गीय हिरण्यप्रसाद ढकालको स्मृतिमा निर्माण गरिएको विद्यालय भवन राष्ट्रपतिले समुदायलाई हस्तान्तरण गर्नुका साथै स्वर्गीय ढकालको शालिक अनावरण समेत गरिन् ।

बागलुङ नगरपालिका वडा नम्बर-१२ स्थित अमलाचौरमा निर्मित पक्की विद्यालय भवनमा चौध कोठा छन् । विद्यालयका पूर्व विद्यार्थीहरुको संस्थाले विज्ञान

प्रयोगशाला र कम्प्युटर शिक्षा दिनसक्ने स्तरमा सुसज्जितसमेत गराएको छ । स्वर्गीय ढकालकै नामबाट विद्यालयको नामाकरण गरिएको छ-श्री पृथ्वी हिरण्य माध्यमिक विद्यालय ।

आफूले अक्षर चिनेकोे विद्याको मन्दिरमा केही गरौं भन्ने परिवारको सपना पूरा भएको चन्द्र ढकालले बताए । उनले भने, ‘स्वर्गीय पिताजी हिरण्यप्रसाद ढकालको स्मृतिमा एक भवन निर्माण गर्ने मेरी आमाको सदिच्छा र हामी छोराछोरीहरुको सत्संकल्पबाट यो अभियान संभव भएको हो ।’

स्वयम् कडा र निरन्तर कर्ममा विश्वास गर्ने ढकालले यो गुण पिताबाटै आफूमा सरेको बताए । सम्बोधन गर्ने क्रममा उनले भने, ‘मेरा स्वर्गीय पिता कर्मका वास्तविक पुजारी हुनुन्थ्यो ।’

परिवारको भरणपोषणका लागि विदेशिएका ढकालका पिता हिरण्यको घर फर्किने क्रममा २०३८ सालमा बीच बाटोमै आकश्मिक निधन भएको थियो । त्यतिखेर चन्द्र  १७ वर्षका र र उनका भाइ हेमराज ढकाल ७ वर्षका थिए । आफूहरुले प्रारम्भका दिनहरुमा शिक्षा प्राप्तिका लागि धेरै संघर्ष गर्नु परेको र अहिलेको पुस्ताले ती कठिन दिनहरुलाई इतिहासको पानामा मात्र सम्झिउन भन्ने आफ्नो ध्यय रहेको ढकालले बताए ।

नयाँ भवन

२०१७ सालमा स्थापना भएको यस विद्यालयको नाम यसअघि श्री पृथ्वी माध्यमिक विद्यालय थियो । अहिले भौतिक स्तरोन्नतिसँगै नयाँ नामाकरण गरी ‘श्री पृथ्वी हिरण्य माध्यमिक विद्यालय बनाइएको हो । यस अभियानमा ढकाल परिवारलाई विद्यालयका अन्य पूर्वविद्यार्थीको पनि सहयोग रहेको छ । अहिले झन्डै चार सय छात्रा/छात्रले अध्ययन गर्ने उक्त विद्यालय भौतिक सम्पन्नताका दृष्टिले बागलुङ जिल्लाकै उत्कृष्ट बन्न पुगेको छ ।

मातृभूमिको विकासमा योगदान गर्ने र मातृभूमिलाई सम्झिने यो एउटा अनुकरणीय काम भएको बताउँछन् छिमेकी गाउँ कालुङ्गखोलाका राजु पौडेल ।

आइएमई ग्रुपका अध्यक्ष ढकालले निम्न माध्यामिक तहसम्मको अध्ययन यही विद्यालयमा पुरा गरी छिमेकी पैयुपाटा माविबाट एसएलसी उर्तिण गरेका हुन् । उनका भाई एवम् आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले २०४७ मा सोही विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उर्तिण गरेका थिए । विद्यालयको शिक्षक हुँदै शिक्षामन्त्री समेत भइसकेका राष्ट्रिय सभामा सत्तापक्षका नेता दीनानाथ शर्मा, बागलुङका दुवै क्षेत्रबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद देबेन्द्र पौडेल र डा. सूर्य पाठक यही विद्यालयका उत्पादन हुन् । 

विदेशी विश्वविद्यालयमा प्राध्यापन गर्ने डा. हेमराज शर्मा मात्र होइन, बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका योगेश्वर शर्मा ढकाल, बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं, सहकारी बोर्डका उपाध्यक्ष दक्ष पौडेल सहित हजारौं पुर्व विद्यार्थीले विद्यालयको साख र प्रतिष्ठालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा उँचो बनाएका छन् ।

विद्यालय हस्तान्तरण कार्यक्रममा स्वर्गीय ढकालको स्मृतिमा धर्मपत्नी (चन्द्र र हेमराजका आमा) जानुकाले लेखेको मर्मस्पर्शी कविता पनि वाचन गरिएको थियो ।जुन यसप्रकार छः

१९९८ श्रावण तीस गतेका दिन ।
यस धर्तिमा जन्म्यौ अरे मेरो साथ लिन ।।
२०१६ साल वैशाख २२ गतेको महिना ।
दुलही भइ भित्रिएकी म केही भन्न सकिन ।।

सुःख, दुःख वर्ष विते बिते कति रात ।
१६ वर्षमा विहे भयो पाइन लामो साथ ।।
२०३८ सालमा विदेश गाको धन कमाउन भनि ।
बालबच्चा हेरी बसेँ आउने दिन गनी ।।

कहिले आउने होला भनि बसे दिनगनी ।
मान्छे नआई खबर आयो विरामी छन् भनि ।।
होस हवास उड्यो मेरो विरामी छन् भन्दा ।
जे भएनि गर्नु पर्‍यो घरको कामधन्दा ।।

साथमा राखें लालाबाला झम्टीझम्टी रोएँ ।
बलिन्धारा बगे आँशु, आँशुले मुख धोएँ ।।
आयो खबर देवरहरू बोले पार्सी वात ।
बुझिहाले मैले कुरा टुट्यो अब साथ ।।

जान लाथी छोरी स्कुल झोला बोकी पढ्न ।
नजाउ छोरी स्कुल भन्दा पुगेछु म ढल्न ।।
विदेशबाट आउँदा आउँदै रात पर्‍यो बाटैमा ।
वास बस्न पुग्नु भयो पिपलको साथैमा ।।

विहानको चार बजे भाइले पानी पिलाको ।
आफू भए परलोक हाम्लाई भाईको जिम्मा लाको ।।

ठूलो छोरा देवरसँग खनियाघाटमा, सानोछोरा छोरीहरु मेरै साथमा ।
पिताजीको मृत्यु खबर कसोगरी पुग्यो उनको कानमा ।।

अन्तिमपटक बोल्नपाइन, ख्वाउन पाइन पानी ।
छोराले गरी सकेछन् दाहासंस्कार पनि ।।
दाजुभाई सवै जना जम्मा भए घरमा ।
बेहोस भइ लडेकी म अब कसको भरमा ।।

तेह्रदिनको काजकिरिया गरि सकेँ मैले ।
छोराछोरीको मुख हेरी हार खादिन ऐले ।।
बाबा समान दाजुभाइ, आमा समान दीदी ।
कैले होला यो ऋणको भारा तिर्ने मिति ।।

दाउरा घाँस मेलापात ढिकी जातो गरी ।
छोराछोरी पालेँतालेँ ठुलो कष्ट गरी ।।
गाउँघरमा कसैसँग झुटो कहिले बोलिन ।
जति दुःख भएपनि मनको पीर खोलिन ।।

सन्तानलाई शिक्षा दिएँ सधैं ज्ञानी बने ।
मैले जस्तै मेहनत गरे सधैं अघि बढे ।।
छोराछोरी मेहनती छन् सधैं असार पन्” ।
मेरा जस्तै हुन सबैका सन्तान राम र चन्ऽ ।।

गाउँमा जन्मे, दुःख बुझे पुगे स्वदेश विदेश ।
मेहनेत गरे दुःख गरे सम्झे सधैँ स्वदेश ।।
सन्तान सबै सधैँ सँगै पुग्छ यस मै बल ।
समस्याको समाधानमा मिलीजुली चल ।।

मिठो बोल्नु राम्रो सोच्नु दिनु अर्ती ज्ञान ।
जे रोपियो त्यही फल्छ सबैले यो जान ।।
छोरीको भो बिहेबारी बुहारी घरको काम ।
अघि अघि हिड्छन् ‘चन्द्र’ साथ छोड्दैनन् ‘राम’ ।।

दाजुभाइ सन्तान मिलि गर देशको विकास ।
पाँच पाण्डव जस्तै गरी खोज सधैँ निकास ।।
आशिर्वाद दिन्छु मैले बनी धर्ति आमा ।
जग बसायौँ हामले आज रक्षा तिम्रो काम ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?