Comments Add Comment

सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवा

१ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले चितवनको सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गरे । दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा माननीय मन्त्रीले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले यो वर्ष धेरै आयोजनाहरु कार्यान्वयनको क्रममा रहेकाले नेपाल टेलिकमका लागि समृद्धिको वर्ष हुने बताए ।
उनले सरकारको डिजिटल नेपालको लक्ष्यलाई साकार बनाउनका लागि कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र कम नाफा हुने स्थानमा समेत कम्पनीका सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताए ।

कार्यक्रमका अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारको सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक आदि क्षेत्रका नीतिलाई साकार बनाउन कम्पनीले पहल गरिरहेको र आगामी दिनमा समेत यो क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पुर्‍याउनका लागि सदैव अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सभा सदस्य कृष्ण खनालले प्रविधिलाई जनतासँग जोड्न टेलिकमले खेलेको भूमिकाको सराहना गरे । रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले सेवा सुविधा चुस्त दुरुस्त रुपमा प्रदान गर्न अनुरोध गरे ।
नेपाल टेलिकम, वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवालाई चुस्त दुरुस्त रुपमा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सौराहामा हाल जडित एफटीटीएचको क्षमता १ हजार २४ लाइनको रहेको छ र निकट भविष्यमा आवश्यकता बमोजिम क्षमता अभिवृद्धि गरी वितरण गर्ने कार्यक्रम रहेको छ । हाललाई यो सुविधा सौराहाको हात्तिचोकदेखि ठमेल बजार क्षेत्रसम्म, भरतपुर महानगरपालिका अन्तर्गत वडा नम्बर २ र ३ को नारायणगढ बजार क्षेत्र तथा वडा नम्बर १० का क्षेत्रहरुमा उपलब्ध गराइने छ ।

यस्तै बछ्यौली र बि्रडिङ सेन्टरमा एक महिनाभित्र उपलब्ध गराइने छ । निकट भविष्यमा भरतपुर महानगरपालिका वडा नम्बर ११ र १२, गैडाकोट नगरपालिका र टाँडी बजार क्षेत्रमा समेत एफटीटीएच सेवा उपलब्ध गराउने योजना रहेको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख दीपक कुमारले जानकारी दिए ।

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । ब्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । त्यसैगरी कर्पोरेटतर्फ १० एमबीपीएस र २० एमबीपीएसको प्याकेज उपलब्ध छन्

एफटीटीएच सेवा लिने ग्राहकहरुलाई एक सय मिटरसम्म फाइबर र ३ महिनाको लागि भ्वाइस सेवा समेत निःशुल्क उपलब्ध हुनेछ । त्यसैगरी ३ महिना वा सो भन्दा बढी अवधिको लागि एकमुष्ट एफटीटीएच सेवा लिने सेवाग्राहीलाई सीपीई निःशुल्क उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले मुलुकका विभिन्न शहरी क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment