Comments Add Comment

अञ्जना हत्याकाण्ड : मानिस यति क्रुर पनि हुनसक्छ ?

अनुसन्धान अधिकारीलाई नै चकित बनाउने घटना

३१ वैशाख, काठमाडौं । महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रमुख राजकुमार खिउजुले प्रहरी सेवामा प्रवेश गरेको दुई दशक नाघिसक्यो । तर, जेठाजुद्वारा बुहारीको हत्या गरिएको घटनाले उनलाई चकित बनाएको छ । ‘जागिर खाएको यत्रो वर्ष भइसक्यो । यस्तो विभत्स घटना देखेको थिइन’, डीएसपी खिउजु भन्छन् ।

घटनास्थल हेर्दा एउटा प्रहरी अधिकारीकै आङ सिरिङ हुन्छ भने सर्वसाधारणलाई कस्तो लाग्दो हो ? घटना हो, बिहीबार दिउँसो ललितपुरको ढोलाहिटीमा भएको अञ्जना महत हत्या । प्रहरी टोली घटनास्थलमा पुग्दा उनको टाउकोकाे थोरै छाला मात्रै शरीरमा अड्किएको थियो । खुट्टाले भुइँ छोए पनि आधा शरीर खाटमै थियो । कोठामा रगतको आहाल थियो । अञ्जनामाथि कतिपटक हतियार प्रहार गरियो भन्ने लख काट्नसमेत मुस्किल छ ।

खुला रुपमा देखिने खत त कति हो कति ! कपडा पनि अधिकांश ठाउँ काटिएका थिए । घटनास्थल पुगेका प्रहरी अधिकारीहरु आफैं प्रतिप्रश्न गर्छन्, ‘कसरी मानिस यो हदसम्म पनि जान सक्छ ?’

तर, प्रहरीको कामै अपराध अनुसन्धान गर्ने हो । जस्तो अवस्था भएपनि अनुसन्धान गर्नैपर्छ । त्यसैले प्रहरीले प्रारम्भिक जाँच मुचुल्का तयार पारे र लाशलाई पोष्टमार्टमका लागि पठाउने तारतम्य मिलाए ।

जब खुकुरी लिएर छोरा आए…

ढोलाहिटी चोकबाट एक सय मिटर पर रहेको घरमा त्यो दिन आमा पुष्पा, बुहारी अञ्जना र जेठाजु उज्वल मात्रै थिए । बुबा कमलबहादुर र अञ्जनाका पति प्रज्वल विहानै काममा निस्किएका थिए ।

दिउँसो करिब साढे दुई बजेतिर उज्वल दौडिँदै आमा भएतिर आए । छोरा हल्ला गर्दै आएपछि तल्लो तलामा सुतेकी उनी ब्युझिइन् । ‘पुलिस बोलाइदिनू…’, परैबाट पुष्पाले आवाज सुनिन् । उनले छोराको कुरा बुझिनन् ।

‘पानी आएछ कि क्या हो भनेर सोधेँ पनि’, उनी सम्झिन्छिन्, ‘तर, जब ऊ मेरो कोठामा आयो, त्यसपछिको अवस्था म कल्पना समेत गर्न सक्दिन ।’

रगतैरगतले लतपतिएको हातमा खुकुरी बोकेर उनी तल झरेका थिए । ‘मैले त्यसलाई मारिदिएँ’, उनको भनाइलाई उद्धृत गर्दै आमा भन्छिन्, ‘पुलिस बोलाइदिनू ।’ जब उनी बुहारीको कोठामा गइन्, तब विभत्स हत्या देखिन् । लगत्तै प्रहरीलाई खबर गरियो ।

शरीरमा पटकपटक खुकुरी प्रहार गर्दा न त घरमै रहेकी आमाले थाहा पाइन् न छिमेकीले । निद्रामा मस्त भएकाले आफूले केही थाहा नपाएको उनी बताउँछिन् । प्रहरीलाई खबर हुनेवित्तिकै नजिकै रहेको सीआरभी टोली पुग्यो र घटनास्थललाई घेरा हाल्यो ।

ससुराले मृत्युको खबर पत्याउन सकेनन्

काममा गएका ससुरालाई दिउँसो घरबाटै बुहारीको हत्या भएको खबर गयो ।

तर, सुरुमा उनले पत्याउनै सकेनन् । भन्छन्, ‘सुरुमा छिटो आउ भन्दा मलाई विश्वासै लागेन । काममा छु, अहिले किन आउनु भनेको थिएँ ।’

जब अरुले पनि फोन गर्न थाले, तब उनी त्यो अकल्पनीय घटना विश्वास गर्न बाध्य भए । उनी घर पुग्दा भने धेरै ढिला भइसकेको थियो । प्रहरीले बुहारीको शव उठाइसकेको थियो भने जेठो छोरा उज्वल प्रहरी नियन्त्रणमा पुगिसकेका थिए ।

के हो हत्याको कारण ?

हालसम्मको प्रहरी अनुसन्धानले उनको हत्याको कारण खुलाउन सकेको छैन । तर, उनको पृष्ठभूमितिर फर्किँदा उनी डिप्रेसनको शिकार भएको अनुमान लगाउन सकिन्छ ।

बुहारी हत्या आरोपमा पक्राउ परेका उज्वल म्यूजिसियन हुन् । उनले चर्चित गीत ‘सुन साइली…’, ‘छक्का पञ्जा २’, ‘काले दाइ.. काले दाइ..’ लगायतमा कला देखाएका थिए । तिहारपछि भने उनले जागिर छाडेका थिए ।

काममा समस्या देखिएपछि जागिर छाडेका आफ्नो छोरालाई त्यसयता निरन्तर कार्यालयबाट धम्की आएको बुबा कमल दाबी गर्छन् । ‘६ महिना आराम गर्नुपर्छ भनेर ऊ औषधि लिँदै आराम गरिरहेको थियो’, कमलले सम्झिए, ‘तर, अफिसबाट उसलाई दिनरात फलो भइरह्यो ।’

आमा पुष्पा पनि उज्वलले आफ्नो मोबाइल ह्याक भएको सुनाउने गरेको बताउँछिन् । ‘कहिले मान्छे पठाएर सुराकी गर्दा रहेछन् । कहिले को मान्छे मर्‍यो भनेर तनाव दिन्थे’, उनी भन्छिन्, ‘सधैं उसको दिमाग घुमाइदिन्थे ।’ कमललाई त्यसरी धम्की दिने व्यक्ति शिव राई भएको परिवारको दाबी छ । एक दिन छोरा-बुहारीलाई पछ्याउँदै राई घर छेउसम्म आइपुगेको उनको भनाइ छ ।

‘त्यतिबेला उनी यति डराएका थिए कि, जतिसुकै बेला श्रीमती र छोरालाई मार्दिन्छु भन्ने गरेका थिए’, परिवारका अर्का सदस्य भन्छन् । उज्वलको फेसबुक प्रोफाइल हेर्दा उनी क्रिपा डिजिटल स्टुडियोमा म्यूजिक एरेन्जरको रुपमा काम गर्ने गरेको देखिन्छ ।

माइती पक्षको आशंका परिवारमाथि पनि

के उज्वलले बुहारीको विभत्स हत्या गर्नुको कारण डिप्रेसन नै हो, वा अरु केही ? यो विषय भने प्रहरीको अनुसन्धान सकिएपछि मात्रै खुल्नेछ ।

अहिले उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर बयान लिने काम भइरहेको छ ।

अञ्जनाको माइती पक्ष भने हत्यामा जेठाजु मात्र संलग्न रहेको स्वीकार्दैन । छोरीको मृत्युको खबर सुनेर हेटौंडाबाट आएका बुबा गणेश लामा भन्छन्, ‘यस्तो अमानवीय तरिकाले हत्या भएको छ । यसमा एक जनाको मात्र संलग्नता हुनै सक्दैन ।’

अन्तरजातीय विवाहका कारण घटना भएको हुनसक्ने भन्दै छानविन गर्नुपर्ने माइती पक्षको माग छ । उनले अनलाइनखबरसँग भने, ‘पागलले मार्‍यो भनेर अपराधीलाई बचाउने खेल भइरहेको छ, तर ऊ पागल होइन । अपराधीलाई बचाउने काम नहोस् ।’

महतका छिमेकी भने दाजु-भाइ र उनीहरुका श्रीमतीबीच कहिल्यै झगडा नदेखिएको बताउँछन् । ‘यो परिवारको यति राम्रो सम्बन्ध थियो कि सबैले उदाहरणीय मान्थे’, एक छिमेकीले भने, ‘एक्कासि यस्तो घटना बाहिर आउँदा पत्याउनै गाह्रो भइरहेको छ ।’

चापागाउँ वृत्तका डीएसपी खिउजु भने उज्वलले सामान्य व्यक्ति सरह व्यवहार गर्ने गरेको बताउँछन् । ‘उनले हत्या स्वीकारेका छन्’, खिउजुले अनलाइनखबरसँग भने, ‘हतियारसहित उनी रंगेहात समातिएका हुन् । त्यसैले उनले हत्या गरेको होइन भन्ने कुरै आउँदैन ।’

यद्यपि, घटनामा अन्य कसैको संलग्नता खुले पक्राउ गरेर अनुसन्धान गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment