Comments Add Comment

कम्पनीले तलब नदिएपछि यूएईमा १२ नेपाली अलपत्र

१ जेठ, यूएई । २ महिनादेखि कम्पनीले तलब नदिएपछि आबुधाबीमा १२ जना नेपाली अलपत्र परेका छन् । आबुधाबी मुसाफा आइकार्ड ८ स्थित कन्ट्याक्टिङ्ग मेन्टिनेन्स् कम्पनीमा कार्यरत नेपालीहरु तलब नपाएपछि अलपत्र परेका हुन् ।

कम्पनीले तलब नदिएपछि खाने तथा बस्ने समस्या भएको मोरङका लालध्बज राईले अनलाइनखबरलाई बताए ।

मासिक तलबबाहेक ३ देखि ६ महिनासम्मको ओभर टाइमको हिसाब समेत नदिएको उनले दुखेसो गरे । १२ जनामध्ये ७ जना मुसाफामा र ५ जना दुबईमा छन् । जसमा मोरङ, सर्लाही, सिन्धुपाल्चोक र बुटबल घर भएका नेपाली छन् ।

मोरङकै सन्तोष गुरुङका अनुसार, कम्पनीले कन्ट्याक लिएर काम गरेको ठाँउबाट पैसा नआएको भन्दै तलब रोकेको छ । गुरुङले भने, ‘त्यहाँबाट पैसा आउन समय लाग्ला ? हामीलाई बिहान बेलुका खान समस्या छ । पैसा नदिएपछि हामी कसरी बाँच्ने ?’

हाल बस्दै आएको मुसाफा आइकार्ड क्याम्पमा कम्पनीले भाडा नतिरेपछि घरधनीले तल्काल कोठा छोड्न दबाव दिएका छन् । यसअघि पानी, बत्ती बन्द गरिएको थियो । ‘एकसाताका लागि कोठा, पानी र बत्ती खुल्ला भएको छ’, सन्तोषले भने, ‘बिहान बेलुका खान त समस्या छँदैछ, अब अर्को सातबाट कहाँ बस्ने ? कम्पनीका पुराना साथीहरुको नाममा नजिकको पसलबाट उधारोमा सामान ल्याउने गरेका थियौँ । उधारो रकम २५ सय दिरामभन्दा माथि पुगेको छ । अब त्यो पनि बन्द भयो’, उनले थपे ।

उक्त कम्पनीमा ९ महिना अघिदेखि र पछिल्लो २ महिनादेखि कार्यरत कामदार छन् । लालध्वजका अनुसार, कम्पनीले सुरुवातमा समयमै तलब दिँदै आएको थियो । बीचमा महिना पुगेपछि आधा तलव दिने र आधा पछि मिलाउने जनाउँदै होल्ड गर्यो । अहिले दुईमहिनादेखि पुर्णरुपमा तलब रोक्का गरेको उनले सुनाए । दुई सातादेखि उनीहरु काममा गएका छैनन् । काममा नजादाँ कम्पनीले सोधीखोजी समेत गरेको छैन ।

उनीहरु काठमाडौंस्थित महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज मेनपावरमार्फत प्लम्बर र इलेक्ट्रिसियन पदमा आएका थिए ।

मेनपावर कम्पनीलाई समेत समस्याबारे जानकारी गराएको पीडितले जनाए । मेनपावरले कम्पनीसँग कुरा गर्ने आश्वासन दिएको तर हालसम्म समस्या समाधान नभएको उनीहरुको गुनासो छ । पीडित कामदारले कम्पनीले पाउनुपर्ने रकम दिएमा आफूहरु नेपाल फर्कने जनाएका छन् ।

यसैबीच, तलवलगायतका सुविधा दिन कम्पनीले आनाकानी गरेपछि पीडित कामदारले नेपाली दूतावासलाई समस्याबारे जानकारी गराएका छन् । मंगलबार दूतावासमा गएर उनीहरुले समस्या समाधानका लागि लिखित निवेदन जाहेर गरेका हुन् । आफुहरुलाई खान बस्नसमेत समस्या भएको र तत्काल उद्धार गरिदिन दूतावासलाई आग्रह गरेको पीडित कामदारले सुनाए ।

दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले अलपत्र नेपालीका समस्या समाधान गर्न आग्रह गरेको बताए ।

एक साताभित्रमा समस्या समाधान नगरे दूतावासले कानूनी र कूटनीतिक उपचार खोज्ने कार्कीको भनाइ छ । मेनपावर कम्पनीले पनि कामदार कार्यरत कम्पनीसँग समन्वय गरेर समस्या समाधान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment