Comments Add Comment

किन खुम्चिँदैछ चन्द्रमा ?

तपाईं हामीले बाल्यकालदेखि नै चन्द्रमाको बारेमा धेरै कथाहरु सुनेकै छौं । रुप फेरिरहने चम्किलो चन्द्रमाका कथाले हामी पुलकित हुन्थ्यौं । तर यो चम्किलो चन्द्रमा अहिले चाहिँ मुर्झाउँदै गएको छ ।

वैज्ञानिकहरुका अनुसार चन्द्रमा विस्तारै खुम्चिँदै गएको छ । नासाका अनुसार चन्द्रमाको सतहमा दरार देखापर्न थालेका छन् र आकार पनि कम हुँदै गएको छ ।

नासाले खिचेका चन्द्रमाका हजारौं तस्वीरहरुको विश्लेषण गरी यस्तो ठहर गरिएको हो ।

लुनर रिकनिसेन्स अर्बिटरले खिचेका १२ हजारभन्दा धेरै तस्वीरको विश्लेषण गरिएको थियो । अध्ययन अनुसार चन्द्रमाको उत्तरी ध्रुवस्थि चन्द्र बेसिन मारे फ्रिगोरिसमा दरार पैदा भैरहेको छ । यतिमात्र होइन, त्यो ठाउँ भासिँदै गएको छ ।

वैज्ञानिकका अनुसार पछिल्लो लाखौं वर्षमा गरी चन्द्रमा ५० मिटरले खुम्चिएको छ । साथै उर्जा दहन हुने प्रक्रियाका कारणले पनि चन्द्रमाको सतहमा असर परिरहेको छ र चन्द्रमाको आकार कम भैरहेको छ ।

युनिभर्सिटी अफ मेरील्याण्डका भूगर्भ वैज्ञानिक निकोलस चेमरका अनुसार चन्द्रमामा लाखौँ वर्ष पहिले भएको भौगर्भिक गतिविधि अहिले पनि जारी छ । सबैभन्दा पहिले सन् १०६० तथा १९७० को दशकमा अपोलो अन्तरीक्षयात्रीहरुले चन्द्रमामा भूकम्पीय गतिविधिको मापन सुरु गरेका थिए ।

चन्द्रमामा रहेका लाखौं बेसिनमध्ये मारे फ्रिगोरिस भूवैज्ञानिक दृष्टिले एक मृतस्थल मानिन्छ । पृथ्वीमा जस्तो चन्द्रमामा कुनै भौगर्भिक प्लेट छैनन् । तथापि चन्द्रमामा भूकम्पीय गतिविधिहरु भएका कारण वैज्ञानिकहरु आश्चर्य चकित छन् ।

वैज्ञानिकहरुका अनुसार उर्जा दहन हुने प्रक्रियामा साढे ४ अर्ब वर्ष पहिले चन्द्रमामा यस्तो गतिविधि भएको थियो । जसका कारण चन्द्रमाको सतह दरारयुक्त छ । त्यस प्रक्रियामा चन्द्रमामा भूकम्प पनि आउँछ ।

स्मरण रहोस् चन्द्रमा पृथ्वीको एक उपग्रह हो जुन पृथ्वीभन्दा ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा छ । निल आर्मस्ट्रंगले सन् १९६९ को जुलाई २१ मा चन्द्रमामा पहिलोपटक पाइला टेकेका थिए । सन् १९७२ मा यूजिन सेरननले पनि चन्द्रमामा पाइला टेके । उनी नै अहिलेसम्म चन्द्रमामा पुग्ने अन्तिम यात्री हुन् । त्यसयता चन्द्रमामा मानिसलाई पठाइएको छैन । यद्यपि, लूनार रिकनिसेन्स अर्बिटर नामक स्याटेलाइटका माध्यमबाट नासाले चन्द्रमाको गतिविधि निगरानी गर्ने गर्दछ । सोही स्याटेलाइटका तस्वीरहरुको अध्ययन गरी वैज्ञानिकहरु चन्द्रमाको आकार घटिरहेको निष्कर्षमा पुगेका हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment