Comments Add Comment

चेक बाउन्समा इटहरी सबैभन्दा अगाडि

सुरुमा मिलापत्रको प्रयास, त्यसपछि मात्र मुद्दा

Photo Credit : प्रतीकात्मक तस्वीर

२ जेठ, विराटनगर । तिलकप्रसाद निरौला र प्रदीप गौतमले सुनसरी इटहरीकी सञ्जु बस्नेतलाई जनही ११ लाख ५० हजार र २ लाख ८० हजार सापटी दिएका थिए  । तारन्तारको ताकेतापछि सञ्जुले उनीहरूलाई चेक दिइन् । तर जब बैंक गएर चेक साट्न खोजियो, तब पो थाहा भयो, सञ्जुको खातामा पैसा नै रहेनछ ।

चेक बाउन्सको फन्दामा परेका तिलक र प्रदीप प्रतिनिधि पात्रमात्रै हुन् । इटहरीमा जग्गाको कारोबारमा सलग्न एक जना सञ्जुले मात्र पाँच जनालाई चेक बाउन्सको फन्दामा पारेकी थिइन् । चेक बाउन्सबाट सन्जुले १८ लाख १६ हजार ठगी भएको प्रहरीको भनाइ छ ।

लेनदेनको कारोबार वा कसैको पैसा फिर्ता गर्दा रकम नभएको चेक अर्थात् बाउन्स चेक दिने र मान्छे झुलाउने धन्दा अहिले प्रदेश नं. १ अन्तर्गतका १४ जिल्लामा मौलाएको छ । साउन यताको नौ महिना अर्थात् चैतसम्ममा प्रदेश नम्बर १ का १४ जिल्लामा बैंकिङ कसुरमा ७२ वटा ठगीको उजुरी परेका छन् ।

जसमा चेक बाउन्सका करिब आधा ३१ वटा मुद्दा प्रहरीमा दर्ता भएको छ । प्रहरीका अनुसार यस्ता चेक बाउन्सका मुद्दामा करिब १ करोडभन्दा बढी ठगी भएको देखिन्छ ।

‘प्रहरीले आपसी लेनदेनमा हुने आर्थिक कारोबारको घटनालाई हेर्दैन,’ प्रहरी नायव उपरीक्षक न्यौपानेले भने, ‘तर पछिल्लो प्रहरीसम्म आउने चेक बाउन्सको उजुरी हेर्दा यसलाई सामान्य मान्न सकिने अवस्था भने पक्कै छैन ।’

प्रहरीसम्म आउने उजुरीमध्ये अधिकांश चेक बाउन्ससँग सम्बन्धित रहने गरेका छन् । प्रहरीका अनुसार चेक बाउन्सको मुद्दामा सामान्यदेखि ठूलो आर्थिक कारोवार गर्नेहरूसमेत पीडित बनेका छन्  । महिनौंपछिको मिति राखेर चेक दिने र महिनौंसम्म पीडितलाई झुलाइराख्ने प्रवृत्ति बढेको छ ।

चेक बाउन्सको दैनिक एउटा उजुरी

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेश अन्तर्गतका १४ जिल्लामध्ये सबैभन्दा बढी सुनसरी र त्यसमा पनि इटहरीमा धेरै चेक बाउन्स र बैंकिङ कसुरसम्बन्धी मुद्दाहरू दर्ता भएको छ । तीव्र शहरीकरणको क्रममा रहेको इटहरी क्षेत्रमा साउनयता मात्र चेक बाउन्सका ८ वटा मुद्दामा ८२ लाख ३३ हजार रुपैयाँ ठगी भएको देखिन्छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शमिरचन्द्र खरेलका अनुसार चेक बाउन्सको घटनामा दैनिक एउटा उजुरी आउने गरेको छ ।

‘प्रदेश १ कै आर्थिक कारोबारको केन्द्र शहरको रुपमा विकास हुँदै गएको इटहरीमा चेक बाउन्सको उजुरीको चाप बढेको छ,’ प्रहरी नायव उपरीक्षक खरेलले भने, ‘जुनसुकै तह तप्काका मानिस पनि चेक बाउन्सका घटनामा संलग्न भएको पाएका छौं । आर्थिक कारोबार गर्दा सबै सचेत हुने दिन आएको छ ।’

सुरुमा मिलापत्रको प्रयास, त्यसपछि मात्र मुद्दा

प्रहरीले चेक बाउन्सको उजुरी परेपछि दुवै पक्षलाई बोलाएर छलफल गराएर मिल्ने समयसमेत दिँदै आएको छ । प्रहरी नायव उपरिक्षक खरेलले पीडित र पिडक पक्ष नमिलेको खण्डमा मात्र प्रहरीले पीडित पक्षको उजुरी लिने गरेको जानकारी दिए । त्यसैले उजुरीको निवेदन दिनेभन्दा उजुरी दर्ता भएको संख्या केही कम देखिन्छ ।

इटहरी प्रहरीले चेक वाउन्समा ८ जनालाई मुद्दा चलाएको छ । ७ जना प्रहरी नियन्त्रणमा रहेका छन् भने एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

चेक बाउन्समा पक्राउ पर्नेहरुमा इटहरी–८ का सरोज बुढाथोकी, रुपेशकुमार चौधरी, इन्द्रप्रसाद ढुंगेल, इटहरी १६ का चन्द्रनारायण चौधरी, डलबहादुर राई, भुबनबहादुर कटुवाल, इटहरी ५ की सञ्जु बस्नेत र इटहरीकै मेनुका क्षेत्री छन् ।

अदालतमा पनि मुद्दाको चाप

प्रदेश १ मा चेक बाउन्सको घटना बढेसँगै उच्च अदालत विराटनगरमा पनि त्यससम्बन्धी मुद्दाको चाप बढेको छ ।

उच्च अदालतको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा वाणिज्य इजलासमा १ सय १० वटा बैंकिङ कसुरका मुद्दा परेका छन् । जसमध्ये ९४ वटा चेक बाउन्सको मुद्दा रहेको उच्च अदालत प्रशासनले जनाएको छ ।

‘बैंकिङ कसुर, कम्पनी ऐन, चेक अनादार, दामासाही लगायतका मुद्दा आउने गरेका छन्,’ उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्र कटेल भन्छन्, ‘यीमध्ये ९८ प्रतिशत मुद्दा चेक बाउन्सका आउने गरेका छन् ।’

रजिष्टार कटेलका अनुसार साउनयता चेक बाउन्सका १६ वटा मुद्दा फैसला भएका छन् । केही व्यक्तिहरु भने प्रहरीको रोहबरमा आफैं मिल्ने र निवेदन फिर्ता लिने गरेकाले अदालतसम्म उजुरी पुग्न पाएका छैनन् ।

किन बढ्दैछ चेक बाउन्सको मुद्दा ?

२०७३ असोज १८ गतेसम्म चेक बाउन्सको मुद्दा प्रहरीले हेर्दैन थियो । चेक बाउन्स मुद्दा देवानी मुद्दामा पर्थ्यो । र, सीधै अदालतमा मुद्दा पेस हुन्थ्यो । तर, झन्झटिलो न्याय प्रणालीका कारण कमैले मात्र न्याय पाउँथे ।

शक्तिकेन्द्र निकटका मान्छेले मात्रै प्रहरीलाई प्रभावमा पारेर चेक बाउन्समा मुद्दा चलाउने गर्थे । प्रहरीले कसैको चेक बाउन्सको मुद्दा हेर्ने, कसैको नहेर्ने गरेको भन्दै विवाद पनि हुने गरेको थियो।

०७३ असोज १८ गते संसदले बैंकिङ कसुर तथा सजाय ऐन, ०६४ संशोधन ग‍र्‍यो । जसमा कसैले जानीजानी आफ्नो खातामा रकम नहुँदा नहुँदै कसैलाई चेक दिएमा त्यो बैंकिङ कसुर हुने उल्लेख गरियो । र, प्रहरीलाई चेक बाउन्सको मुद्दा बैंकिङ कसुर अन्तर्गत हेर्न मिल्ने भयो । त्यसपछि भने चेक बाउन्सका उजुरी बढ्दै गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसी बताउँछन् ।

यस्तो छ कारबाहीको व्यवस्था

प्रहरीले चेक बाउन्सका घटना हेर्न थाले पनि चेक दुरुपयोगका घटना घटेका छैनन् ।

मिटर ब्याज कारोबारीले पनि चेकमार्फत नै कारोबार गर्ने गरेकाले त्यस्ता कारोबारीलाई पनि चेक बाउन्सले बढावा दिने गरेको छ । जुवा खालको लेनदेनदेखि सहकारीहरुबाट ऋण लिएका घटनामा समेत चेक बाउन्स गराउने गरिएको प्रहरी अनुसन्धान अधिकृतहरुको भनाई छ ।

चेक बाउन्समा उजुरी परेको व्यक्तिलाई प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि मुद्दा अदालतमा पेस हुन्छ । अदालतले दोषी प्रमाणित भएको व्यक्तिलाई बिगो र बिगोबमोजिमको जरिवाना भराई तीन महिनासम्मको जेल सजाय तोक्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment