Comments Add Comment

प्रदेश ५ को बजेट अधिवेशन शुरु

२ जेठ, बुटवल । बिहीबारदेखि सुरु भएको प्रदेश ५ को बजेट अधिवेशनमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटबारे धारणा राखेका छन् ।

बैठकमा नेकपाका सांसद कृष्णध्वज खड्काले प्रदेश ५ लाई नमुना प्रदेशको रुपमा विकास गर्ने कार्ययोजना सहितको बजेट ल्याउनुपर्ने धारणा राखे । अहिलेको परिवर्तनको उपलब्धी संस्थागत गर्न पनि सबै दल मिलेर जानुको विकल्प नभएको उनले बताए ।

कांग्रेस सांसद डिल्लीबहादुर चौधरीले ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनताको अवस्था अझै दयनीय रहेकाले जनताका आधारभूत आवश्यकता पिउने पानी, सडक, सिञ्चाईलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र वजेट ल्याउन जोड दिए ।

मिडिया काउन्सिल विधेयक र मानव अधिकार आयोगको क्षेत्राधीकारमा संकुचन गर्ने प्रयास भएको भन्दै उनले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई संकुचन गरिए लोकतन्त्र धरापमा पर्ने बताए ।

समाजवादी पार्टीका सांसद सहषराम यादवले कृषिको विकास बिना मुलुक समृद्ध बन्न नसक्ने भन्दै कृषिलाई प्राथमीकतामा राखेर वजेट ल्याउनुपर्ने सुझाव दिए ।
बैठकमा राजपा सांसद कल्पना पाण्डेले प्रदेश सरकार अन्तर्गत अहिलेसम्म महिला संरचना नबनेको भन्दै महिलाहरुका समस्या राख्ने एउटा छुट्टै संरचना बनाउन सुझाव दिइन् ।

लुम्बिनी भ्रमण बर्षको वजेटमा अनियमितता भएको र त्यसमा सत्ता पक्षीय पत्रकारहरुको मात्रै हालीमुहाली भएको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै उनले प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले प्रदेशको स्थायी राजधानी र नामाकरणको बिषय टुंगो लगाउन नसकेको भन्दै चौथो अधिवेशनबाट राजधानी र नामाकरणको टुंगो लगाउनुपर्नेमा जोड दिइन् ।

उनले विकट जिल्लालाई लक्षीत गरी बजेट ल्याउन सुझाव दिइन् । प्रदेशसभाको अर्को बैठक जेठ ९ गते दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment