Comments Add Comment

‘ब्रेक नै नलगाई जीप खसेको थियो’

भुँसको थुप्रो कसले, किन राख्यो, थाहा भएन

३ जेठ, चितवन । विजय सुवेदी तत्कालीन नेकपा एमाले चितवनको तीन पटकसम्म पार्टी प्रमुख भए । पहिलो पटक ०४९ सालमा नेकपा एमाले चितवनको पार्टी सचिव हुँदा उनी जम्मा २९ बर्षका थिए । उनी पार्टी प्रमुख भएको अर्को बर्षमा नै कविलासको दासढुंगाबाट रहस्यमय जीप दुर्घटनामा नेकपा एमाले महासचिव मदनकुमार भण्डारी र संगठक जीवराज आश्रितको निधन भयो ।

जिल्लाको पार्टी प्रमुख पनि भएको नाताले उनले घटनालाई नजिकबाट नियाल्ने मौका मात्रै पाएनन्, जीपका चालक अमर लामासँग पहिलोपटक भेट्ने पार्टीका नेता पनि उनै हुन् ।

आजभन्दा २६ बर्षअघि दासढुंगामा भएको जीप दुर्घटना, त्यसपछिका घटनाक्रम अझै पनि सुवेदीको मनमष्तिस्कमा ताजै छन् । हाल प्रदेश नम्वर ३ का प्रदेश सांसद रहेका सुवेदी दासढुंगा जीप दुर्घटनालाई रहस्यमय हत्याकाण्ड भएको दाबी गर्छन् ।

सुवेदीले त्यसका केही कारणहरु पनि देखेका छन् । मदन आश्रित स्मृति दिवसका अवसरमा जीप दुर्घटना भएको जिल्लाको तत्कालीन पार्टी प्रमुख रहेका सुवेदीले घटनाका सम्वन्धमा व्यक्त गरेका धारणाहरू उनकै शब्दमा:

म ०४९ सालमा पार्टी सचिव भएँ । सानो उमेरमा नै जिल्लाको त्यतिबेलाका पार्टी प्रमुख बन्ने मौका पाएँ । ०५० साल जेठ ३ गते पोखरामा पार्टीको भेला सकेर कमरेड मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चितवन आउने कार्यक्रम थियो । पूर्वी चितवनको चैनपुरमा अखिल नेपाल महिला संघको केन्द्रीय प्रशिक्षण भेला जेठ ४ गते राखिएकाले ३ गते चितवन आएर बस्ने योजना थियो । जिल्ला पार्टीसँग नै समन्वय गरेर प्रशिक्षण आयोजना गरिएको थियो । हामीले पनि व्यवस्थापनमा सहयोग गरेका थियौं ।

जेठ ३ गते पार्टीको जिल्ला कमिटीको बैठक थियो । त्यतिबेला हाम्रो पार्टी कार्यालय पुतलीबजार, नारायणगढमा थियो । बैठक ४ बजे सकियो । बैठक सकेर म एकछिन पार्टीका नेता सूर्यबहादुर मास्केलाई भेट्ने उहाँकै निवासमा गएँ । करीव डेढ घण्टा बसेर पार्टी कार्यालय फर्कंदै थिएँ । पार्टी कार्यालय वरपरका केही व्यक्तिहरुले भने, ‘नेताहरु गाडी त्रिशुलीमा खस्यो रे, तपाईलाई खोज्दै एकजना ड्राइभर आएका छन् ।’

त्यसपछि म हतारिँदै पार्टी कार्यालय पुगें । पार्टी कार्यालयमा ती भनिएका ड्राइभर थिएनन् । मैले खै मान्छे भनेर सोधें । साथीहरुले पुल्चोकतिर फोन गर्न गएको देखाए । म पनि पुल्चोक पुगें । त्यतिबेला करीव पौने ६ जति भएको हुँदो हो । उनलाई भेटें । उनी हतास अवस्थामा थिए । आत्तिँदै भने, ‘कमरेड गाडी त्रिशुलीमा खस्यो अब के गर्ने हो ? खबर गर्न पर्‍यो ।’

पार्टी महासचिव मदन भण्डारी र जीवराज आश्रितसहित जीप त्रिशुलीमा खसेको बताए अमर लामाले । म आफू छाँगाबाट खसेजस्तै भएँ । रक्तप्रवाह छिटो छिटो भएजस्तो भयो । श्वास बढ्यो । यसै पनि त्यसदिन धमिलो थियो । आकाशभरि बादल मडारिएको थियो । पानी आशँु बनेर झर्ला जस्तै थियो ।

मैले एसटीडी फोन गर्ने ठाँउमा लामालाई पुर्‍याएँ । त्यतिबेला जहाँ पनि फोनको सुविधा थिएन । एसटीडी नै भएको ठाउँबाट फोन गर्नुपर्दथ्यो । पार्टी केन्द्रीय कार्यालयका उपसचिव लेखनाथ कोइरालाले फोन उठाउनुभयो ।

चालक लामाले नै फोनमा कुरा गरे । ‘मदन कमरेड र जीवराज कमरेड चढेको गाडी त्रिशुलीमा खस्यो, नेताहरु पानीमा पर्नुभयो, म यहाँ आएँ’ लामाले यति भनेर फोन राखे । त्यसपछि सर्टको गोजीबाट चार रुपैयाँ निकालेर आफैंले फोनको पैसा दिए ।

त्यसपछि मैले प्रमुख जिल्ला अधिकारी र एसपीलाई खबर गरें । दुर्घटनामा पार्टी महासचिव र संगठन विभाग प्रमुख परेको र छिटो उद्धारमा जुट्नका लागि उहाँहरुलाई जानकारी गराएँ ।

चालक अमर लामाले मलाई अलि असहज भएको छ, मलाई अप्ठ्यारो भएको छ भने । उनको सर्टतिर केही रगत पनि लागेको थियो । त्यसपछि मैले रिक्सामा हालेर एकजना साथीलाई साथ लगाएर लामालाई भरतपुर अस्पताल पठाएँ । त्यसपछि मैले जीवनमा कहिल्यै अमर लामालाई भेटिनँ । न त अस्पतालमा नै भेट्न गएँ, न त जेलमा नै ।

मैले नारायणगढ बजारमा भेट्दा उनको लुगा भिजेको थिएन । मेरो विचारमा उनी नदीको पानीमा परेका थिएनन् । पानीमा परेर निस्किएको भए पैसा भिजेको हुन्थ्यो । पैसामा भिजेको थिएन ।

त्यसपछि म नारायणगढ बजारबाट १४ किलोमिटर पर रहेको घटनास्थलतर्फ गाडी खोजेर दौडिएँ । कसरी हुन्छ, छिटो भन्दा छिटो उद्धारमा जुटेर नेताहरुलाई बचाउन सकिन्छ कि भन्ने लाग्यो ।

म घटनास्थलमा पुग्दा ६/७ जना मान्छे जम्मा भएका थिए । अरु कोही थिएनन् । अलिअलि सिमसिम पानी परिरहेको थियो । जेठ महिना भए पनि त्रिशुलीमा पानीको बहाव बढिसकेको थियो । पानी धमिलो थियो । नेताहरुको गाडी खसेको ठाउँलाई हेर्दै झाडीलाई समाउँदै खोला किनारमा झरें । खसेको जीपको अत्तोपत्तो थिएन ।

गाडी त्रिशुली खोला किनारमा नै रहेको ठूलो ढुंगामा बजारिएर तल खसेको प्रस्ट देखिन्थ्यो । एउटा सानो खोपिल्टामा रगत पनि थियो । एउटा ब्याग थियो । पुस्तकहरु छरपस्ट थिए । त्यहाँ एक्लै केही गर्न सक्ने अवस्था थिएन । त्यसपछि म सडकमा उक्लिएँ ।

पोखराबाट चितवन आउँदाको रुटमा सवारी भित्तातर्फ हुन्छ । कुनाको साइडबाट आएको गाडी एकैपटक मोडिएर तल खसेको देखिन्थ्यो । पिच छाडेर खस्ने डिलसम्म आउँदा केही माटोको भाग थियो । त्यहाँ जीपको पाङग्राको डोब थियो । छेउमा भुसको थुप्रो थियो । यदि चालकले ब्रेक लगाउने प्रयास गरेको भए गाडी घस्रिएको वा घिसारिएको देखिथ्यो होला । तर, जीप सीधै गुडेर खसेको जस्तो देखिन्थ्यो । भुसको थुप्रो कसले ल्याएर किन राख्यो, पत्तो भएन ।

सडकमा म उक्लिँदा अन्य साथीहरु पनि आइपुग्नुभयो । क्रेन नल्याई केही गर्न नसकिने देखिएपछि म मस्र्याङ्दी जलविद्युत आयोजनातिर लागें । जसरी पनि प्रिय नेताहरुको खोजी गर्नु र गाडी निकाल्ने प्रयास गर्नु थियो ।

राति ११ बजेतिर क्रेन आइपुग्यो । राति नै बत्ति बालेर केही खोज्ने प्रयास भयो । तर, नेताहरुलाई भेटाउन सकिएन । रातभरि नै त्यतै बसियो । बिहान हेटौंडातिरका कमरेडहरुले पनि अर्को क्रेन लिएर आउनुभयो । पार्टी केन्द्रबाट समेत नेताहरु आइसक्नुभयो । नेता कार्यकर्ताको खचाखच भिड लाग्न थाल्यो । क्रेनको सहायताले निकैबेरको प्रयासपछि नदीबाट दुर्घटनामा परेको जीप फेला भेटियो । अपरान्ह दुई बजेतिर टुचिनको सहायताले जीपलाई बाहिर निकालियो ।

बा.अ.च. ८७२३ नम्बरको जीप ठोक्किएर कच्याक–कुचुक परेको थियो । जीपभित्र जीवराज कमरेड मात्रै भेटिनुभयो । गाडीले अगाडिको भाग कुच्चिएको कारण उहाँ गाडीमा नै च्यापिएको अवस्थामा हुनुहुन्थ्यो ।

गाडी र शव निकालेपछि हामी मदनको खोजीमा लाग्यौं । कतै जीवित नै पो हुनुहुन्छ कि जस्तो पनि मनमा लाग्थ्यो । पार्टी नेता कार्यकर्ता, प्रहरी प्रशासन, गोताखोर, नागरिक समाजका सबै जना हामीहरु कमरेड मदनको खोजीमा लाग्यौं ।

त्रिशुली र नारायणी नदीको दुवै किनारमा खोज्न भनेर पठायौं । ४ गते भेटिएन । ५ गते विहानै पश्चिम चितवनको गाँजीपुरबाट नारायणीको भंगालोमा शव भेटिएको खबर आयो ।

डुंगामा राखेर मदनको शव नारायणी वारि तारियो । दिउँसो करीव १ बजेतिर भरतपुर गेष्ट हाउसचौरमा प्रिय नेताप्रति श्रद्धाञ्जली व्यक्त गर्ने काम भयो । र, सोही दिन काठमाण्डौं पठाइयो ।

घटनास्थलमा पार्टीको नेताको प्रतिनिधित्व गर्दै सबैभन्दा पहिला सायद म नै पुगेको थिएँ । मेरो दिमागमा आज पनि त्यो दिनको याद ताजै छ । मदन कमरेडसँग चितवनमा भेट्ने धोको सधैंका लागि अपूरो भयो ।
यो पनि पढ्नुहोस मदन भण्डारीको शव भेट्टाउने हेमबहादुरको बयान– जागिर पाइनँ, अरबतिर लागेँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment