
३ जेठ, काभ्रे । मण्डनदेउपुर–६ की सरिता दुलालको हत्यामा श्रीमानसहित परिवारका सबै सदस्यको संलग्नता खुलेको छ ।
सरिता १३ वैशाखमा घरमै मृत भेटिएकी थिइन् । उनका श्रीमान, जेठाजु र ससुरा प्रत्यक्ष संलग्न भएको तथा सासु र जेठानी संलग्न नभए पनि भूमिका देखिएको प्रहरीको निश्कर्ष छ ।
परिवारका सबै सदस्यविरुद्ध कर्तव्य ज्यानको मुद्दा जिल्ला अदालतमा दर्ता गरी आइतबार मुद्दा पेश गर्ने प्रहरीको तयारी छ । प्रहरी प्रमुख एसपी रविराज खड्काले भने,‘हामीले हाम्रो अनुसन्धान पूरा गरेर अदालतमा अभियुक्तहरुको वयानसहित मुद्दा पेश गर्न लागेका छौं ।’
घटनामा परिवारका सबै सदस्यको कुनै न कुनै किसिमले संलग्नता देखिएको भन्दै उनले भने, ‘श्रीमान्, जेठाजु र ससुराको मुख्य भुमिका रहेको अनुसन्धान र उहाँहरुको वयानबाट देखिन आएको छ ।’
श्रीमान सुदीप दुलाल, ससुरा पिताम्बर, सासु गंगा, जेठाजु केशव र जेठानी संगीता दुलाल प्रहरी हिरासतमा छन् । उनीहरुविरुद्ध सरितामा दाजु हिरामणि दाहालले किटानी जाहेरी नै दिएका थिए ।
श्रीमानले स्वीकार गरे अभियोग
प्रहरी स्रोतका अनुसार श्रीमान सुदीपले सरिताको हत्यामा परिवारका सबैको सलंग्नता रहेको बयान दिएका छन् । घटना भएको दिन आफूले कुटपिट गरेको र गुलेलीको रवरले घाँटी कसेको उनको बयान छ ।
त्यसपछि दाइ र बुवा आएर हात समातेपछि आफूले गुलेलीको रबरले घाँटीमा कसेको उनको बयान छ । सरिता चिच्याउँदा आमा र भाउजु चुपचाप बसेको भन्दै उनले परिवारका सबैलाई पोलेका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जको पोस्टमार्टम रिपोर्टमा पनि घाँटीमा कसेर मृत्यु भएको देखाएको छ ।
सरितासँग परिवारका सबै सदस्यको झगडा हुने गरेको समेत उनले स्वीकार गरेका छन् । सुदीप र सरिताको बिहे २०७२ बैशाख ९ मा भएको थियो तर, उनले अहिलेसम्म नागरिकता बनाएकी थिइनन् ।
सरिताले सधैं नागरिकता बनाइदिन आग्रह गर्ने र सम्पत्तिको विषयमा विवाद हुने गरेको थियो । ‘चार वर्षसम्म बच्चा नहुनु पनि घर झगडाको एउटा कारण थियो’ प्रहरीलाई दिएको बयानमा भनेका छन् ।
तर, परिवारका अन्य सदस्यले भने हत्यामा संलग्नता स्वीकार गरेका छैनन् ।
प्रतिक्रिया 4