Comments Add Comment

यो साताका ५ पुस्तक

४ जेठ, काठमाडौं । साहित्य बजारमा प्रत्येक दिन एउटा पुस्तक प्रकाशन हुने गरेको अनुमान गरिन्छ । तीमध्ये केही विमोचन भएर बजारमा आउँछन्, केही भने प्रकाशन भएर व्यक्ति व्यक्तिमा सीमित रहन्छन् ।

यो साता पनि नेपाली बजारमा यस्तै किसिमको ट्रेन्ड रह्यो । यो साता निबन्ध र कथाका पुस्तकहरुको बढी चर्चा भयो । केही समयदेखि उपन्यास र आत्मकथामा आएको उछाल अहिले केही शान्त भएको छ ।

यो साता हामीलाई हात लागेका केही पुस्तकहरु यस्ता छन् ।

कुरा केलाउँदा

लोकराज बराल सामयिक विषयमा नियमित कलम चलाउने लेखक हुन् । उनी राजनीति, समज र अर्थ-राजनीतिमा विशेष दख्खल राख्छन् । केही वर्षअघि आएको उनको आत्मकथात्मक ‘रोमाञ्चित जीवन’ नामक आत्मकथात्मक पुस्तकले पनि ठूलो प्रसंसा पाएको थियो । लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका लोकराज बरालको निबन्धात्मक कृतिहरुको पनि बजारमा राम्रै माग हुने गरेको छ ।

यही आवश्यकता पूरा गर्न बरालले ‘कुरा केलाउँदा’ नामक निबन्ध सङ्ग्रह बजारमा ल्याएका छन् । यसपटकको निबन्धमा उनले सामायिक विषयलाई भन्दा  बढी निजात्मक विषयलाई महत्व दिएको देखिन्छ ।

आत्मकथात्मक पुस्तकको सफलतापछि बाँकी रहेका गहिरा अनुभवहरुलाई पुस्तकमा समेटिएको समीक्षकहरुले बताएका छन् ।

तमसुक

लमजुङ्गका स्थायी बासिन्दा पदम विश्वकर्मा अमेरिकामा बसोबास गर्छन् । गएको बिहीबार बिमोचन भएको उनको कथा सङ्ग्रह ‘तमसुक’ मा २३ कथाहरु सङ्ग्रीत छन् । लेखक डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०१८ बाट सम्मानित भए पनि कथा सङ्ग्रह जातीय विभेदका विषयमा कम, युवा तथा सहरी पुस्ताको चासोमा बढी केन्द्रीत छ ।

जातीय भेदभाव विरुद्धको विश्वमञ्चका उपाध्यक्ष रहेका विश्वकर्माका केही कथाले मात्र उनले भोगेको जनजीवन देखाउने प्रयास गरेको छ । उनका कथाहरुले डीभी परेर अमेरिका जाने नेपालीहरु, गाउँ छाडेर सहर पसेका युवाहरु र विकसित मुलुकका सम्पन्न नागरिकहरुले भोग्ने मानसिक आघातका ब्यथाहरु समेटेको छ ।

सङ्ग्रहमा सरल भाषाका छोटा तर मीठा कथाहरु पस्केर विश्वकर्माले नयाँ शैली पस्केका छन् । यसअघि उनको ‘शब्दसुमन’ कविता सङ्ग्रह प्रकाशनमा आएको छ । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष हुन् ।

व्रतभङ्ग

हालै बजारमा आएको अर्को कथा सङ्ग्रह हो, एल.बी. क्षेत्रीको व्रतभङ्ग । त्रिभुवन विश्वविद्यालयका अंग्रेजी भाषाका सेवानिबृत्त प्राध्यापक भएका कारण क्षेत्रीका कथामा बौद्धिकता पाइन्छ । प्रेम र यौनका विषयमा पात्रहरु उदार र परिपक्व देखिन्छन् ।

२६ कथाहरुको सङ्ग्रह व्रतभङ्गमा विवरणात्मक कथाहरु बढी भएका कारण कलामा केही कमजोर देखिन्छन् । यद्यपि उनका पुराना कथासङ्ग्रह ‘त्रिसङ्कुको देशमा’ र ‘इन्द्रमायाको देशका’ भन्दा व्रतभङ्ग कथा सङ्ग्रह बढि कथामय भएको देखिन्छ ।

उसो त साहित्य गतिविधिमा पनि एल.बी. क्षेत्रीको ठूलो योगदान छ । उनी चितवनमा नियमित साहित्यिक गतिविधि गर्ने साधक हुन् । उनको ‘कवि डाँडा साहित्य समाज’ साहित्यकारबीच निकै लोकप्रिय छ ।

तपाईंको पहाड कहाँ हो ?

केही समयअघि बजारमा आएको तपाईको पहाड कहाँ हो भीष्म उप्रेतीको निवन्ध कृति हो । यसमा केही व्यक्ति वृत्त र धेरैजसो निजात्मक निबन्धहरु सङ्ग्रहित छन् । नियात्रा र कवि व्यक्तित्वबाट बढी चर्चा कमाएका भीष्मको निबन्ध केही फरक छन् ।

उप्रेतीका निबन्धमा विदेशी साहित्यको प्रभाव देखिन्छ । एक दशकयता उनले गरिरहेको अनुवादक व्यक्तित्वको छाप उनको निबन्धमा परेको कथन निबन्धकार रोशन शेरचनको छ ।

लोकेसन

पत्रकार दीपक सापकोटाले झण्डै एक दशकअघि बजारमा ल्याएको निबन्ध सङ्ग्रह ‘लोकेसन’ को दोस्रो संस्करण बजारमा ल्याएका छन् । पत्रकारिता सुरु गर्दाताका लेखिएका निबन्धहरुको पुन:प्रकाशन शिखा बुक्सले गरेको हो । यसमा २७ वटा निबन्धहरु सङ्ग्रहित छन् ।

निबन्धहरुमा कथा र रिपोर्ताज र निबन्धको  समिश्रण पाइन्छ । विषय सामयिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment