Comments Add Comment

फिल्म समीक्षा : बेढंगको ‘वीर विक्रम-२’

मित्र-मिलनको मूल्यलाई पूर्विय समाजले सुदमा र कृष्णजीको कथाबाटै सुरक्षित गरिसकेको छ । हुन त अहिले हामी आयतित ‘फ्रेन्डसिप डे’ मनाएर यसको कर्मकाण्ड पुरा गर्छौं । यद्यपी मित्रता एक भावनात्मक रसायन हो, जसले दुई फरक व्यक्तिको ढुकढुकी एउटै बनाइदिन्छ । मित्रता गरिदैन, आफै हुन्छ ।

पौराणिक ग्रन्थ श्रीस्वस्थ्यानीको कथामा ‘स्वस्थानीको प्रसाद छोरालाई नभए मीत छोरालाई दिनु’ भन्ने सन्दर्भबाट पनि मित्रताको महत्व प्रष्ट हुन्छ ।

मित्रताको मोल कति अनमोल हुन्छ भन्ने बुझेरै नेपाली समाजले सदियौंदेखि चलाउँदै आयो, मितेरी प्रथा । यो फरक दुई व्यक्तिलाई एउटै अंगालोमा बाँध्ने वाहाना मात्र थिएन, सत्रुता, दम्भ, तुष, इर्ष्या मेट्ने मेलो पनि थियो । तर, आज यो प्रथा कहाँ विलुप्त हुँदैछ ?

मित्रताको यस्तै कथामाथि बनेको चलचित्र हो, वीर विक्रम-२ । मिलन चाम्स निर्देशित चलचित्र सुक्रवारदेखि प्रदर्शनमा आएको छ ।

कस्तो छ कथा ?

उच्च लेकाली भूगोलमा हुर्किएका दुई वालसखा गाउँ  छाडेर अलाप हुन्छन् । आफुहरु जन्मीहुर्केका मुस्ताङको कुञ्जो गाउँ छाड्नुपर्ने एउटै कारण हो, त्यहाँ मोटरवाटो बन्यो । भनिन्छ, कतिपय विकासले विनास पनि ल्याउँछ । मोटरबाटो बन्नुको साइड इफेक्ट हो, कुञ्जो गाउँको केही इलम  संकट पर्नु ।

यस्तै संकटले लखेटेर वीर (पल शाह)  र विक्रम  (नाजिर हुसेन ) गाउँ छाड्नछन्, किशोरवयको पूवार्द्धमा । तर, उनीहरुले आफुले खेलेको माटो र सुँघेको हावा विर्सन सक्दैनन् । गाउँ र्फकन्छन् । त्यसबेलासम्म उनीहरु लक्का जवान भइसकेका हुन्छन् ।

वीर र विक्रमको मित्र-मिलनमा अहिलेसम्म कुनै ठेस पुगेको छैन । उनीहरु त्यसरी नै मिलेका छन्, जसरी हिजोको दिनमा मिल्ने गर्थे । तर, यो सम्बन्ध सधै उत्तिकै मधुर रहँदैन । त्यसको धुन बिगार्नेगरी उनीहरुको हृदयमा अर्कै प्रेम अंकुराउँछ ।

अर्थात गाउँ फर्किएपछि भेटिएकी युवती, जसको नाम बादल (बर्षा सिवाकोटी)लाई पाउने लालसाले वीर र विक्रममा फाटो ल्याउँछ । त्यसमा मिसिएका छन्, बाघबहादुर (बुद्धि तामाङ) । याक कारोबारको एकलौटी ठेक्कापट्टा चलाएर बसेका उनी वीर र विक्रमको मित्रतामा मात्र होइन, बादलसँगको प्रेम सम्बन्धमा पनि भाँजो हाल्न उद्वत छन् ।

के एउटी युवती पाउनकै लागि अब वीर र विक्रमले बर्षौंको मित्रता तोड्छन् ? उनीहरुको यो आशक्ति र नियतलाई टेकेर बाघ बहादुरले कसरी डम्फु बजाउँछ ? जवाफका लागि तपाईंले २ घण्टा १० मिनेट हलमा विताउनुपर्नेछ ।

के छ राम्रो पक्ष ?

कमेडी र रोनाधोना छाडेर फरक विषयमा प्रवेश गरेको छ यो चलचित्र । यद्यपी यो नयाँ वा भिन्न अभ्यास भने होइन । कमेडीको लहड चलेको पृष्टभूमीमा निर्देशक चाम्सले केही फरक गर्न खोज्नु चाहि सराहनिय छ ।

मुस्ताङको कुञ्जो गाउँको मनोरम सेरोफेरोमा छायांकन गरिएको छ । यसको बलशाली पक्ष नै भिरालो पहाड, त्रिभूज हिमाल, फराकिलो खर्क, लेकाली बस्ती हो, जसलाई रहरलाग्दो ढंगले कैद गरिएका छन् ।

यसकारण झुर

कथा चाहे उडन तस्तरीको होस्, यमलोकको होस् वा फेरी हामीले टेकेको धरातलकै । त्यसको बान्की विश्वसनिय र तर्कसंगत ढंगले मिलाउन सकिएन भने प्रष्ट रुपमा दुई कुरा बुझिन्छ । एक, फिल्ममेकर परिपक्क छैनन् । दुई, फिल्ममेकर दर्शकप्रति इमान्दार छैनन् ।

यस श्रेणीको सिनेमाले तीन किसिमको जोखिम निम्त्याउँछ । एक, दर्शक भड्काउने । दुई, लगानी डुबाउने । तीन, कलाकारको क्रेज घटाउने ।

एकातिर कनीकुथी तयार पारिएको पटकथा, अर्कोतिर निर्देशकिय अपरिपक्कता । ‘वीर विक्रम-२’ मनोरञ्जनमा खेलाँची हो । यसका घटना तथा पात्रहरु काल्पनिक भन्दा बढी अस्वभाविक लाग्छ । वीर र विक्रमले किशोरवयको पूवार्द्धमा यसरी गाउँ छाड्छन्, मानौ उनीहरुले त्यहाँ गरिखाने अरु मेलोमेसो नै पाएनन् । उनीहरुको उद्यम-धन्दा टाट पल्टियो । जबकी अरुको आश्रयमा पेट पाल्ने उमेरमा उनीहरु गाउँमा मोटरबाटो आएपछि गाउँ छाड्न बाध्य बनाइएको छ ।

समग्र गाउँ नै उनीहरुको प्रतिक्षामा रहेको प्रतित हुन्छ । गाउँलेहरु आपसमा भेला भएर वीर र विक्रमको किस्सा यसरी सुनाउँछन्, मानौ उनीहरु दन्त्यकथाका राजकुमार हुन् । गाउँले ढुक्क छन्, वीर विक्रम एकदिन गाउँ र्फकनेछ ।

तर, यति व्यग्र प्रतिक्षा किन ?

लक्का जवान भएपछि दुबै गाउँ र्फकन्छन् । तर, गाउँमा वीर र विक्रमलाई आफ्नै दौतरी समानका युवतीहरुले चिन्दैनन् । एकाध बुढापाकाले चाहि उनीहरुको जन्मकुण्डली नै बताइदिन्छन् । यति अविश्वसनिय प्रसंगलाई टेको लगाएर उठेको पटकथाले बाँकी सन्दर्भलाई कसरी जोड्ने र तोड्ने काम गर्छ ? चलचित्र हेरेपछि छर्लङ हुन्छ ।

कुञ्जो गाउँको पृष्टभूमीमा कथा उठाइएको छ । तर, कथालाई डोहोर्‍याउने पात्रहरु वीर, विक्रम, बादल इत्यादिलाई टपक-टपक कुनै अर्को लोकबाट टिपेर त्यहाँको परिवेशमा मिसाइएको भान हुन्छ । यी सुकिला-मुकिला शहरिया पात्रहरु ग्रामिण परिवेशमा भिज्न सकेकै छैनन् । कुञ्जो गाउँमा नाङ्गो डाँडा, हिमाल र हिमखोला मात्र छैन होला । त्यहाँको रहनसहन, रीतिथीति, लवज, खानपान, कला-संस्कृति पुरै उपेक्षित हुनु भनेको मनगढन्ते कथाको साहारा लिनु हो भन्ने प्रष्ट छ ।

पात्रहरु सुहाउँदिला छैनन् । त्यो लेकाली गाउँमा बसोबास गर्नेहरु र सिनेमाको कथालाई डोहोर्‍याउने पात्रहरुको कुनैपनि कुरा आपसमा मेल खाँदैनन् । यसर्थ मुस्ताङको ल्यान्डस्केपमा चलचित्र छायांकन गर्नुको कुनै सार्थकता छैन ।

नेपाली फिल्ममेकर्स देश-दुनियाँको दृश्य खिच्न त रहर गर्छन्, तर त्यहाँको परिवेश र शैली टिप्न सक्दैनन् । यही कारण यी चलचित्रहरु ठूलो पोस्टरलाई पृष्टभूमीमा राखेर एउटा साँघुरो कोठाभित्र खिचिएको भन्दा गतिलो लाग्दैन ।

वीर-विक्रमको सम्बन्धमा उतार-चढाव ल्याउने प्रयासहरु पत्यारिलो बनाउन नसक्दा कथाको बिट खुस्कदै गएको छ । त्यही कारण पर्दामा चलयमान दृश्यसँग दर्शकले अन्र्तक्रिया गर्नै सक्दैन । समग्रमा यो चलचित्र सिकारु वा अभ्यासकै चरणको भन्न सुहाउँछ ।

फिल्म- वीर विक्रम- २

निर्देशक– मिलन चाम्स

कलाकार– पल शाह, नाजिर हुसेन, बर्षा सिवाकोटी, बुद्धि तामाङ

जनरा– लभस्टोरी

अवधी- २ घण्टा १० मिनेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment