+
+

अर्काे वर्ष हेर्नुस्, देश कति फरक हुन्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ६ गते १६:५२

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने दावी गरेका छन् ।

सोमबार धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उनले आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने बताए । ‘एकवर्षमा कति फरक भयो । अर्काे वर्ष हेर्नुस् कति फरक हुन्छ’ उनले भने ‘यही हुन्छ भनेर छटपटी भएको छ ।’

सरकारले राम्रो काम गरेपछि जनतामा भ्रम सिर्जना गर्ने कोशिस भइरहेको भन्द प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको विरोधी रहेको आरोप लगाए । ‘अविश्वास सिर्जना गर्नेहरु जसको एक थोपा पनि गणतन्त्र ल्याउन भूमिका छैन, अहिले हामीलाई लोकतन्त्र सिकाइरहेका छन्’ उनले भने ।

नेपाल सानो देश भनेर आफैलाई अवमूल्यन गर्न नहुने भन्दै उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो अनुभव बाँड्नुपर्ने बताए । ‘नेपालजस्तो सानो देशले दुनियाँका मञ्चमा पनि भूमिका देखाउने हो र भन्ने प्रश्न गरिन्छ’ प्रधानमन्त्री ओलीले भने ।

पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना सुरु गरेको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यो योजना दुई वर्षभित्र पूरा हुने बताए ।

अप्टिकल फाइबर बिछ्याएपछि मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग सहायक मार्गमा उच्च गतिको इन्टरनेट सेवा पुग्ने उनले जानकारी दिए ।

बजेटले विकासको गियर बढाउँछ

प्रधानमन्त्री ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने दावी गरेका छन् । ‘जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रष्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ’ उनले भने, ‘देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्‍याउँछ । तीनमा छ भने चारमा पुर्‍याउँछ ।’

प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभई आमूल परिवर्तन गर्न चाहेको बताए । ‘सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ’ उनले भने ।

यो पनि पढ्नुहोस् : अप्टिकल फाइबर : काम सक्नुपर्ने बेला शिलान्यास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?