Comments Add Comment

पैसा खाने भगवान

सृष्टिका रचयिता, चराचर जगतलाई आफ्नो अधिनमा राख्ने भगवान पैसाका भोगी हुन् ? उनलाई पैसा चाहिन्छ ? धन-दौलत चाहिन्छ ?

यदि भगवानलाई पैसा नचाहिने भए हामी किन मठ-मन्दिरमा गएर भेटी चढाउँछौ ? किन ‘धर्म’को नाममा खुलेका संघ-संघठनलाई दान दिन्छौ ?

तपाईंले याद गर्नुभएकै होला, मठ-मन्दिर, धार्मिस्कथलका अघिल्तिर फूल, प्रसादसँगै पैसा (भेटी) पनि खरिद गर्न सकिन्छ । मठ-मन्दिरमा चढाउनका लागि पैसा साट्ने व्यवस्था पनि हुन्छ । यसैगरी तपाईंले देख्नुभएकै छ, मान्छेले भगवानको नाममा भेटी (पैसा) चढाइरहेका हुन्छन् ।

तिर्थस्थलमा, मठ-मन्दिरमा, खोलानालामा पैसा चढाइन्छ । भगवानको नाममा एउटा ढुंगा गाडियो भने त्यहाँ पनि अबीर र अक्षतासँगै पैसा चढाइन्छ ।  पैसा मात्र होइन, कतिपयले मूल्यावन धातु पनि चढाउने गर्छन् । ठूल-ठूला मठ-मन्दिरमा त यसरी चढाइने पैसा एवं धन-सम्पति कति हुन्छ, कति । हामी सुन्छौ, कतै बोरामा पैसा भण्डारण गरिन्छ । कतै पैसा कुहिएर नष्ट हुन्छन् ।

धर्मको नाममा यसरी भेटी (पैसा) चढाउने प्रवृत्ति जताततै हुन्छ । चाहे त्यो हिन्दुको नाममा होस् वा ईसाइको वा त अरु कुनैको । कतिपय धार्मिक संघ-संगठन पनि छन्, जहाँ पैसाकै चलखेल बढी हुन्छ ।

के देवी-देवतालाई यत्तिका पैसा खाँचो होला ? पैसा नचढाए हाम्रो भाकल पुरा हुँदैन ? हाम्रो मनोकांक्षाको सुनुवाई हुँदैन ?

अहिले कतिपय ‘धार्मिक संस्था’का सदस्यहरु तपाईंकहाँ आउँछन् र ललाई-फकाइ गर्छन् । उनीहरुले केही डर देखाउँछन्, केही लोभ देखाउँछन् । आखिरमा तपाईं उनीहरुको सर्त बमोजिम ‘धर्म’ परिवर्तन गर्नुहुन्छ वा नयाँ ‘धर्म’ अंलाग्नुहुनेछ । अनि सुरु हुन्छ पैसाको खेल ।

तपाईंले आर्जन गरेकोमध्ये दश अंश पैसा त्यही संस्थामा बुझाउनुपर्ने सर्त राखिन्छ । त्यतीमात्र होइन, पोस्टर, पुस्तक, क्यालेन्डर पनि तपाईंले खरदि गर्नुपर्ने हुन्छ । अहिले तथाकथित धर्मगुरुहरु तपाईंको घर आँगनमा आएर तपाईंलाई फकाउन सक्छन् । लोभ्याउन सक्छन् । जब तपाईं उनीहरुको सर्त पालना गर्दै जानुहुनेछ, तपाईंको गोजी रित्तिदै जानेछ ।

धार्मिस्थल वा धार्मिक संस्थाको नाममा यसरी भेटी (पैसा) चढाएर पूण्य हुन्छ ? स्वर्गको ढोका खुल्छ ? इश्वरको कृपा प्राप्त हुन्छ ?

भगवान र पैसाको अस्तित्व

जतिबेला पैसाको अस्तित्व थिएन, त्यसबेला ईश्वर एवं भगवानको अस्तित्व स्विकारिन्थ्यो । पैसा एक भौतिक कुरा हो, जसले धर्म किन्ने, बेच्ने काम गर्न सकिदैन । भगवानलाई लोभ्याउने वा चिढाउने पनि गर्न सकिदैन ।

तैपनि हामी पैसा चढाउँछौ र आँखा चिम्लेर भगवानसँग भन्छौ, ‘मेरो फलानो काम पुरा गराइदेऊ ।’

खासमा हामी पैसा दिएर भगवानलाई आफ्नो वशमा पार्ने यत्नमा हुन्छौ । पैसा दिएपछि भगवानले हामीमाथि कृपा गर्छ भन्ने सोच्छौ । पैसा चढाएपछि नै भगवानले हाम्रो मनोकांक्षा पुरा गरिदिन्छ भन्ने लाग्छ । त्यसो नहुँदो हो त हामी मठ-मन्दिर, खोलानाला, तिर्थव्रतमा भेटी नै चढाउने थिएनौ ।

अन्धविश्वास एवं ढोंग

खान लाउनै नपुग्नेहरु पनि भगवानको नाममा आफ्नो गच्छे अनुसार भेटी चढाउँछन् । हुनेखानेहरु प्रचार-प्रसार गरेरै सक्दो धन-सम्पति, पैसा चढाउँछन् । कतिपयले धार्मिक समारोह आयोजना गरेर पैसा चढाउने गर्छन् ।

अहिले टोल-टोलमा समुदायले नै मठ-मन्दिर बनाएका छन् । त्यस्ता मठ-मन्दिरलाई पैसा आर्जन गर्ने माध्याम पनि बनाएका छन् । मठ-मन्दिरमा पूजाआजा गर्न, बिहेकार्जे गर्न निश्चित पैसा उठाइन्छ । त्यसबाहेक नियमित दर्शन गर्नेहरुबाट प्राप्त हुने भेटी पनि संकलन गरिन्छ । यसरी मन्दिर र भगवानको नाम गरेर पैसा कमाउने काम गरिन्छ ।

पैसा खाने भगवान

वास्तवमा हामीले भगवानलाई जुन भेटी चढाउँछौ, मठ-मन्दिरमा जसरी पैसा दान गर्छौं, पूजा-अनुष्ठान लगाएर जति पैसा खर्चन्छौं, ति सबै पैसा भगवानले पाउने होइन ।

भगवान पैसाको लोभी पनि छैनन् । भगवानलाई पैसाको खाँचो पनि छैन ।

वास्तवमा यो धर्म, भगवान आदिको नाममा गरिने धन्दा हो । भगवानको नाममा जतिसुकै भेटी, जतिसुकै पैसा चढाएपनि त्यसबाट हामीलाई कुनै प्रतिफल मिल्ने होइन । खासमा भगवानको नाम गरेर वा धार्मिक संस्थाको नाममा पैसा असुल्ने काम अरुले नै गर्छन् । आस्था र विश्वासलाई पैसा आर्जनको मेलो बनाइन्छ । खासमा भगवानले पैसा माग्दैनन् । भगवानको नाम गरेर अरुले नै यसको उपभोग गर्छन् ।

लोभ, मोह, आशक्तिको त्याग

सदियौंदेखिको चलन हो, मठ-मन्दिरमा भेटी चढाउनु । धार्मिकस्थलमा पनि हामी भेटी चढाउँछौ । खोलानालामा चढाउँछौ । यो प्रचलन भने त्यतीकै चलेको होइन ।

खासगरी मन्दिर धाउनु, पूजाआजा गर्नु, तिर्थव्रत गर्नु भनेको मनको शुद्धिकरण गर्नु हो । मनमा आध्यात्मिक जागरण ल्याउनु हो । वैरभाव, इष्र्या, भय, लोभ, मोह, दम्भ पखाल्नु हो । किनभने हामी यिनै विकार बोकेर समाजमा एकअर्कासँग लडाई, झगडा, सत्रुता, तित्तता, प्रतिशोध मोलिरहेका हुन्छौ । जबकी यसबाट हाम्रो उन्नती हुने होइन, बरु हामी थप भ्रष्ट र नष्ट हुँदै जाने हो ।

सांसरिक जीवनमा हामी पैसा, मोजमस्ती, ऐशआरमको चक्करमा हुन्छौ । यतिबेला हामी जीवन र जगतको मूल्य नै भुलिरहेका हुन्छौ । यसरी भौतिक भोग-विलासमा हराइरहेका हामीलाई जीवनको मूल्य बुझाइदिने काम धर्म, संस्कार, परम्पराले गराउँछ ।

मठ-मन्दिरमा पैसा वा भेटी चढाउनु पनि यस्तै एक संकेत हो ।

यसको संकेत हो, धन-दौलतप्रतिको आशक्ति त्याग्नुपर्छ । धन-दौलतप्रतिको मोह त्याग्नुपर्छ । साथै यो समर्पण पनि हो, भक्ति-भावको ।

अर्को कुरा चाहि मठ-मन्दिरको संरक्षणमा खटिएका पूजारी, गुरुहरुको सहयोगार्थ पनि पैसा, भेटी दिइएको हो । कतिपय सामाजिक काममा लागि पनि भगवानको नाममा पैसा उठाउने प्रवृत्ति छ । महापुराण जस्ता धार्मिक समारोह आयोजना गरेर पैसा संकलन गर्ने र आपत-विपतमा खर्च गर्ने चलन पनि विगतदेखि नै चलिआएको हो । यसरी धर्मको नाममा भेटी, दान दिने र लिने काम भएको हो ।

तर, अहिले यसको अर्थ खोजिदैन । बुझिदैन । अन्धभक्त भएर हामी भेटी चढाउँछौ । दान दिन्छौ । यसरी दिएको दान, भेटी अर्थपूर्ण हुनुपर्छ । यसले कसैको उपकार हुनुपर्छ । यदि हामीले अन्धधुन्द मठ-मन्दिरमा पैसा चढाउने, देवी-देवताको नाममा पैसा दिने, धार्मिक संस्थाहरुलाई पैसा सहयोग गर्ने काम गर्‍यौ भने यसले धर्मको नाममा भ्रष्ट प्रवृत्ति अरु मौलाउँदै जान्छ । धर्मको वास्तविक मर्म र मूल्य ओझेलमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment