Comments Add Comment

बालकको मृत्युपछि वीरगञ्जको गण्डक अस्पतालमा तनाव, प्रहरीद्वारा लाठीचार्ज

७ जना प्रहरी नियन्त्रणमा

७ जेठ, वीरगञ्ज । वीरगञ्जको गण्डक अस्पतालमा उपचारको क्रममा डेढ वर्षीय बालकको मृत्यु भएपछि तनाव भएको छ । उपचारमा भएकोे लापरबाहीले बालकको मृत्यु भएको भन्दै अभिभावक र आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।

बहुदरमाई नगरपालिका–१ विश्रामपुर स्थित शिवटोलका श्रीराम महत्तो कोइरीको डेढ वर्षीया छोरा सुजित कोइरीको उपचारका क्रममा बिहान मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो ।

साँझपख स्थिति झनै तनावपूर्ण बनेको थियो । प्रहरीले प्रदर्शनमा उत्रिएकाहरुलाई लाठीचार्ज गरेर भगाउन खोज्दा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच घम्सा घम्सी नै चलेको थियो । प्रदर्शनकारी तोडफोडमै उत्रिएपछि लाठी चार्ज गर्नुपरेको प्रहरीले जनाएको छ । प्रहरीले प्रदर्शनमा उत्रिएका प्रभादेवी, रामअयोध्या महतो, कृष्णा महतो, राहुल गुप्ता लगायत ७ जनालाई नियन्त्रणमा लिएको र आफूहरुलाई अस्पतालको गेट बाहिर राखेको सुजितको मामा विक्की महतोले बताए ।

घटनाको छानबिन हुनुपर्ने र चिकित्सक दोषी देखिए कारबाही हुनुपर्ने बालकको आफन्तको माग छ ।

यस्तो छ घटना

झाडापखालाका विरामी सुजितलाई अभिभावकले वीरगञ्ज विर्ता स्थित डा. किशोर साहको क्लिनिकमा लगेर उपचार गराए । डा. साहले औषधी दिएर दुई दिन औषधी खुवाएर हेर्न र ठीक नभए ल्याउन भने । दुई दिनसम्म पखाला रोकिएन, दिनमा ५/६ पटक पखाला चलिनै रहेपछि फेरि उनीहरु क्लिनिक पुगे ।

त्यसपछि डा. साहकै सल्लाहमा सुजितलाई शनिबार अपरान्ह गण्डक अस्पतालमा भर्ना गरिएको बुवा श्रीराम महतो बताउँछन् । उनका अनुसार आइतबार बिहानसम्ममा सुजितलाई पखाला चल्न छोडिसकेको थियो । उनीहरुले डाक्टरलाई डिस्चार्ज गर्न पनि भने । तर डाक्टरले नै जान हतार नगर्न अझै कम्तीमा तीन दिन अस्पतालमा राख्नुपर्ने भन्दै एक दिन कुर्न आग्रह गरेका थिए ।

तर सोमबार उनको अवस्था अचनाक बिग्रियो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले औषधी दिने क्रममा लापरबाही गरेकै कारण सोमबार सुजितको स्थिति बिग्रिएको दावी श्रीरामको छ ।

‘आइतबार साँझ सिरिन्जमा मोनोसेफ नामको औषधी तानेर त्यतिकै टेबलमा राखिएको थियो, त्यसको १३ घण्टापछि सोमबार बिहान ७ बजेतिर त्यही सुई लगाए । आधा दिएको मात्रै थियो, त्यस लगत्तै छोराले मुखबाट फिँज निकाल्यो । शरीर र हात पुरै टाइट ग¥यो । हतार हतार तल आईसीयुमा ल्यायौं । त्यसपछि त्यही राखियो’ उनले भने ।

श्रीरामका अनुसार डाक्टरले कहिले धडकन बन्द भयो भने कहिले कफका कारण त्यसो भयो भन्ने त कहिले छाति खराब भएको भनिरहेका थिए । ‘तर सोमबार बिहान ११ बजेतिर मात्रै हामीलाई बच्चा मरेको जानकारी अस्पताल प्रशासनले दियो’ उनले भने ।

वीरगञ्जमै सञ्चालित आसाराम अस्पतालका बाल रोग विशेषज्ञ डा अशोक दासले ‘मोनोसेफ ४००’ मात्रै नभएर कुनै पनि औषधी स्वास्थ्यकर्मीले सिरिन्जमा भर्ने वित्तिकै लगाउनुपर्ने तर त्यसो नभएमा त्यसले मानिसको मृत्यु नै हुने खतरा नहुने बताए ।

‘औषधीको सिसी खोल्ने वित्तिकै औषधीलाई सुईमा हालेर बिरामीलाई लगाउनुपर्ने हुन्छ, किनकी तोकिएको समय भन्दा बढी त्यसलाई खुल्ला राखियो भने त्यसले काम गर्दैन’ उनले भने ‘तर त्यो विष नभएर औषधी नै भएकोले त्यसले गर्नुपर्ने काम नगर्ने हो, त्यसले रियाक्सन गर्ने र मानिसको ज्यान जाने भन्ने हुँदैन ।’

प्रहरीको बाक्लो सुरक्षा घेरामा राखिएको अस्पतालमा पुगेर अस्पताल प्रशासनसँग घटनाबारे जानकारी लिन खोज्दा उनीहरुले सञ्चारकर्मीलाई प्रवेश गर्ने अनुमति नै दिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment