Comments Add Comment

विरामीको आर्तनादः मलाई बचाउनुहोस्

सरकारले बेलाबखत आफ्ना नेता र र कार्यकर्तालाई ‘उपचारको नाममा’ बाढ्ने खर्च हेर्दा लाग्छ, उनका पार्टी नै रोगले ग्रस्त छ ।

जस्तो गतबर्षको अन्त्यातिर अर्थात फागुनमा १२ करोड रुपैयाँभन्दा बढी बाढ्यो, उपचार खर्चको नाममा । यत्तिका पैसा उनीहरुले नै पाए, जो नेता तथा कार्यकर्ता थिए । एकै महिनामा १२ करोड १० लाख रुपैयाँ ‘उपचारका लागि’ बाढेको हो ।

लाखौ, करोडौ रुपैयाँ नेता, मन्त्री, कार्यकर्ताको उपचारका लागि राज्यको ढुकुटीबाट खर्च गरिन्छ । जबकी सर्वसाधरणको दसा भने कम्ता टिठलाग्दो छैन ।

कोही अस्पतालको शैयामा बसेर विलाप गरिरहेका छन्, कोही सडक किनारमा बसेर चिच्चाइरहेका छन्, ‘मलाई बचाउनुहोस् ।’

उपचार खर्चको अभावमा सर्वसाधरण मृत्यु रोज्न बाध्य छन् । जीवनका लागि पनि ‘भिख माग्नुपर्ने’ टिठलाग्दो अवस्था छ यहाँ । तपाईं कुनै अस्पताल पुग्नुहोस्, थुप्रै विरामी उपचारको अभावमा छटपटाइरहेको पाउनुहुनेछ । शहरका सडक-किनारमा नियाल्नुहोस्, उपचारको अभावमा रोइरहेको देख्नुहुनेछ । खासगरी जटिल रोगले थलिएकाहरु जीवन र मृत्युको दोसाँधमा अल्झिएका छन् ।

न उपचार गर्ने खर्च छ, न मृत्यु रोज्न सहज छ । असाह्य पीडा र वाध्यतामा छन् । अवस्था कतिसम्म दयानिय छ भने, उपचार खर्च तिर्न नसकेर कुरुवा (अभिभावक) अस्पतालमै आत्महत्या गरिरहेका छन् ।

परिवारका कुनै सदस्यलाई जटिल किसिमको रोग लागेमा घरबार नै सक्नुपर्ने अवस्था पनि छ । उपचार गर्दागर्दै टाट पल्टेकाहरु धेरै छन् । आफु सम्पूर्ण रुपमा रित्तिएपछि सडकमा ‘सहयोगको याचना’ गर्दै वस्नुको विकल्प छैन । यस्ता वाध्यता अहिले कैयौं नेपालीले झेलिरहेका छन् । अस्पतालमा, सडकमा जताततै ‘मलाई बचाउनुहोस्’ भन्दै रोइ-कराई गरिरहेका छन् ।

सर्वसाधरणको आर्तनाद

‘बिगत ७ बर्षदेखि मलाई अप्लास्टिक एनीमिया भएको र बोनम्यारो प्रत्यारोपण गर्नुपरेकाले’ भन्दै सामाजिक सञ्जालमा बिष्णुमाया लामाको एकाउन्टबाट उपचारका लागि सहयोग गर्न बिन्ती गरिएको छ ।

सिन्धुली  पिपलमादीकी बिष्णुमाया वाइबा नामकी उनी अहिले नयाँ बानेश्वरको सिभिल अस्पतालमा उपचार गराइहेको उक्त पोस्टमा खुलाइएको छ । त्यहाँ लेखिएको छ, ‘बोनम्यारो प्रत्यारोपणका लागि तीन महिनाभित्र २५ लाख जम्मा गरिसक्नुपर्नेछ । तर, मेरो आर्थिक अवस्था कमजोर छ । मलाई बचाउनुहोस् ।’

उनले आफ्नो श्रीमान् साउदी अरबमा रहेको र उनले पनि सक्दो सहयोग गरिरहेकै बताएकी छिन् । उनको पोस्टमा अस्पतालकको कागजागत समेत राखिएको छ ।

यस्तै अर्की युवतीले पनि बोनम्यारो प्रत्यारोपणकै अनुरोध गर्दै फेसबुकमा लेखेकी छिन्, ‘आज म हजुरहरुप्रति दोस्रो जन्मको भिख माग्दैछु, सकेको सहयोग गर्नुहोला ।’ उनको नाम लेखिएको छ, अनिशा लामा । ठेगाना सर्लाही जिल्लाको बरहथावा । उपचारको क्रममा १३ लाख ऋण लागेको र सबै खेतबारी सकिएको उनको पोस्टमा उल्लेख गरिएको छ । उनलाई पनि चिकित्सकले २५ लाख रुपैयाँभन्दा बढी लाग्ने बताएकाले उपचारका लागि सहयोगको याचना गरेकी छिन् ।

इलाम, बरबोटेका समीर सुब्ब पनि अहिले उपचारकै अभावमा छटपटाइरहेका छन् । दुबै मिर्गौला काम नलाग्ने भएपछि उपचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा आएका उनी ‘सहयोग गरिदिन’ भन्दै बिन्ती गरिरहेका छन् । कमजोर आर्थिक अवस्थाका उनीसँग उपचार तथा औषधीका लागि खर्च छैन । उनले आफ्ना छिमेकी साथीभाईलाई गुहारेका छन् ।

कालिकोट, नरहरीनाथकी उर्मिला बिष्ट बोहोराको उपचारका लागि अहिले ‘बचाउ अभियान’ चलाइएको छ । उनको उपचार खर्च जुटाउनका लागि कर्णाली प्रदेशको सुर्खेतमा बचाउन अभियान चलाइदैछ । उनी ब्रेन ट्युमरको रोगी भएको र काठमाडौं, महारजगञ्जको शिक्षण अस्पतालमा उपचार भइरहेको बताइन्छ ।

सामाजिक सञ्जालमा यस्ता अनगिन्ती पोस्ट देख्न पाइन्छ । यसमध्ये धेरैजसो मिर्गौला रोगले ग्रस्तहरु छन् । उनीहरु सबै सहयोगी मनलाई सकेको सहयोग गर्न अनुरोध गरिरहेका हुन्छन् ।

सामाजिक सञ्जाल र मनकारीहरु

यसरी उपचार अभावमा छटपटाइरहेकाहरुलाई राज्यले होइन, सर्वसाधरणले नै सहयोग गरिरहेका छन् । सामाजिक सञ्जाल खासगरी फेसबुक यसको गतिलो माध्याम बनेको छ । फेसबुकमा विभिन्न समूह बनाएरै सहयोग उठाउने गरिएको छ ।

यसरी सहयोगमा जुट्नेहरु तिनै हुन्, जो विदेशमा श्रम र पसिना बगाइरहेका छन् । वैदेशिक रोजगारीमा रहेकाहरुले नै सबैभन्दा बढी सहयोगका लागि हातेमालो गरिरहेको पाइन्छ । उनीहरु आफुले सकेको पैसा दिएर पीडितको घाउ सेकताप गरिरहेका छन् ।

सर्तकता पनि

अहिले कतिपयले यस्तै कामलाई कमाई खाने धन्दा बनाएको हुनसक्छ भनेर शंसय गर्ने ठाउँ छ । किनभने सामाजिक सञ्जालमार्फत बिरामीको नाम भजाएर पैसा उठाउन लागिपरेका हुन्छन् । यसैले आफुले सहयोग गर्नुपर्ने रोगी निश्चित गरेपछि मात्र सहयोग गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment