
१० जेठ, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा युनुस अन्सारीसहित पाकिस्तानी नागरिक नासिर उद्दिन, मोहमत अतर र नादिया अन्बर छन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार ३ पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न युनुस विमानस्थल पुगेका थिए ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरका अनुसार बरामद नक्कली नोट गन्ने काम भइरहेको छ ।
‘दुई वटा व्रिफ केशमा नोट बरामद भएको हो’, उनले अनलाइनखबरसँग भने, ‘कति रकम छ भन्ने केहीवेरपछि भन्न सकिएला ।’ विमानस्थल प्रहरी स्रोतका अनुसार कतार एयरवेजमार्फत पाकिस्तानबाट ३ जना काठमाडौं आएका थिए ।
युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।
प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो ।
केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक समेत थिए ।
उनकी बहिनी उषाकिरण पहिलो संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीतर्फ समानुपातिक सभासद थिइन् ।
प्रतिक्रिया 4