Comments Add Comment

वडाअध्यक्षबाटै कुटिए युवक

Photo Credit : वडाअध्यक्षबाट कुटिएका तेजबहादुर श्रेष्ठ

१० जेठ, भोजपुर । भोजपुरमा एक वडाअध्यक्षले स्थानीय युवकलाई कुटपिट गरेका छन् । त्यस्तै अर्का वडाअध्यक्षले गाउँको योजनाको सन्दर्भमा स्थानीयले चासो राख्दा जनप्रतिनिधिको चरित्र हत्या गरेको भन्दै वडा कार्यालय बन्द गरेका छन् ।

जिल्लाको उत्तरी षडानन्द नगरपालिका १३ का २२ वर्षका युवक तेजबहादुर श्रेष्ठलाई सोही वडाका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले ३ दिनअघि कुटपिट गरेका छन् । स्थानीय एक व्यक्तिसँग सामान्य विवाद भएको सन्दर्भलाई जोडेर सार्वजनिक स्थलमा अध्यक्षले एक्कासी कुटपिट गरेको पीडित तेजबहादुरले बताए ।

वडाअध्यक्षको कुटपिटबाट गर्धनमा असर परेका श्रेष्ठको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ‘गाउँकै प्रमुख भनेको मान्छेले जनता कुट्दै हिंडेपछि हामीले कोसँग न्याय खोज्न जाने’ उनले भने ।

उता रामप्रसाद राई गाउँपालिका वडा १ ओख्रेमा एक योजनाको बारेमा स्थानीयले जिज्ञासा राखेपछि वडाअध्यक्षले ३ दिनदेखि वडा कार्यालय बन्द गराएका छन् । जेठ ५ गते ओख्रेको सप्तमी बजारको दिन आयोजना गरिएको जनजातिको झाँकी प्रदर्शनीको योजनाको विषयमा पारदर्शिताको कुरा उठाउँदा वडा अध्यक्ष सहदेव राईले वडा कार्यालयको बैठकको निर्णय अनुसार भन्दै सूचना निकालेर कार्यालय बन्द गरेर जनताको काम ठप्प पारेका हुन् ।

झाँकी प्रदर्शनीको लागि १ लाख बजेट विनियोजन भएकोमा प्रतिस्पर्धामा थोरै समूह मात्र सहभागिता भएकोले पुरस्कार बाँड्दा के कति खर्च लाग्यो भनेर गाउँलेले जनप्रतिनिधिलाई प्रश्न गरेको स्थानीय वासिन्दा जोगेन्द्र किरातीले जानकारी दिए । झाँकी प्रदर्शनीमा ९ वटा टिम सहभागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । तर, वडाअध्यक्ष सहदेव राईले १५ टिम सहभागी भएको दावी गरेका छन् ।

वडाअध्यक्ष राईले सूचनामा कार्यक्रम भव्य रुपमा गरेको तर बेलुका मादक पदार्थ सेवन गरेर जनप्रतिनिधिलाई गाली तथा आरोप लगाएकोले चरित्र हत्या गरेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment