Comments Add Comment

यो साताका किताब : ‘मीटू’देखि ‘सिड्नी सपना’सम्म

कथाको बाहुल्य, पछिल्लो किताब–‘दरबारको दुखान्त’

११ जेठ, काठमाडौं । प्रत्येक दिन नेपाली साहित्यमा सरदर दुई–तीनवटा पुस्तकहरु प्रकाशित हुने गरेका छन् । तीमध्ये काठमाडौं बजारमा दैनिक एउटाका दरले नयाँ पुस्तक आउने गरेको अनुभव विक्रेताहरुको छ । यो साता पनि त्यही ट्रेन्ड रह्यो ।

प्रकाशित पुस्तकको सूची हेर्दा यो साता कथा सङ्ग्रहको वर्चश्व देखिएको छ । कथा सङ्ग्रह प्रकाशन गर्ने लेखक मध्ये अधिकांश पुराना छन् । यो साता बजारमा एउटा उपन्यास र एउटा आत्मकथाको पुस्तक पनि बजारमा देखियो । यी दुबै पुस्तकका लेखक भने नयाँ थिए ।

पुराना लेखकहरुले लेखेका कथाहरुको बजारमा केही चर्चा भए पनि नयाँ श्रष्टाहरुको चर्चा भने कमै देखियो ।

अनलाइनखबरले प्राप्त गरेका केही पुस्तकहरु यस प्रकार छन् ।

मिटू

कविका रुपमा परिचय बनाएका र उपन्यास लेखनमा खारिएका लक्ष्मण सिटौलाको कथा सङ्ग्रहको नाम हो, मि टू । पुस्तकको नाम ‘मि टू’ भए पनि यो कथा सङ्ग्रहमा केही अघि सामाजिक सञ्चालमा चलेको महिला हिंसा अभियानको कुरा छैन ।

यो पुस्तक मिटु अभियान सुरु हुनु अगाडि नै प्रकाशन भएकोले पनि यसो भएको हुन्छ । बरु शीर्षक कथाले हरेक व्यक्ति संसारमा अभिनय गर्न केही समयका लागि आएको हो र म पनि यसैको एउटा भाग हुँ भन्ने सन्देश दिन्छ ।

२८ वटा कथा सङ्ग्रहित मि टू पुस्तकलाई युवा पुस्ताका विषयलाई समेटिएको छ । यद्यपि पुस्तकमा भुकम्पको त्रासदीदेखि सामायिक राजनीतिक व्यङ्ग्यका कथा पनि आएका छन् । छोटो समयमै यो सङ्ग्रहले दोस्रो संस्करणको मुख देखेको छ ।

यही कारण कतिपयले यसलाई गएको वर्षको हिट पुस्तकको सूचीमा पनि राखेका छन् । ०७१ सालमा सिटौलाको उपन्यास ‘आर्या’बाट चलचित्र निर्माण भएको थियो । उनका ६ उपन्यास, तीन गीति सङ्ग्रह, एक गीति काव्य, तीन गीति एल्बम, तीन जीवनी पनि प्रकाशन छन् ।

चियर्स

२०७२ सालमा गएको महाभूकम्पपछि नेपाली साहित्यले एउटा विषय पायो–भुकम्प । त्यसपछि प्रकाशन भएका धेरै पुस्तकमा कतै न कतै भुकम्प आउनु सायद नेपाली साहित्यको विशेषता नै हो । कथाकार दिलीप शाहको कथासङ्ग्रह ‘चियर्स’को कभर हेर्दा युवा पुस्तालाई केन्द्रमा राखे जस्तो लाग्छ ।

‘चियर्स’ भित्र भने लेखकले समाजका अनेक समस्याको कथा भन्ने प्रयास गरेका छन् । ५ कथा सङ्ग्रह र एक लघुकथा सङ्ग्रहका अनुभवी श्रष्टा भएका कारण उनको भाषा माझिएको छ ।

जाजरकोटी रजौटा भएका कारण हुनसक्छ, दिलिप शाहका कथाहरुमा पहाडी उच्च वर्गका दुःखद कथाहरु बढी छन् । कतिपय कथा पढ्दा विपी कोइरालाका प्रारम्भिक यौनमनोवैज्ञानिक कथाहरुको झल्को आउँछ ।

गोहो

‘गोहो’ कथा सङ्ग्रह धेरैजसो लामो बुनोटमा लेखिएका १० वटा कथा सङ्ग्रहको पुस्तक हो । कथाहरु खँदिला छन् । यसअघि धेरै साहित्यकारहरुको भाषा सम्पादन गरिसकेका जिके पोखरेलको यो कृतिको भाषा मीठो लाग्छ । अरुको सम्पादन अनुभवले उनलाई सिकाएको जस्तो लाग्छ ।

कथा सङ्ग्रहमा मधेस, पहाड र हिमाल अटाएका छन् । गाउँ र सहर दुबै खालका पात्रहरु छन् । धनी र गरिब सबै वर्गको उपस्थिति छ । प्रेमी–प्रेमिकाको कथा भन्दा दाजु–बैनीको प्रेमले महत्व पाएको छ ।

माओवादी द्वन्द्व र मधेस आन्दोलन पनि समेटिएको छ । थोरै कथामा नेपालका सबैजसो प्रमुख समस्यालाई केन्द्रमा राखेर कथाकार जिके पोखरेलले आफूलाई केही फरक देखाउने प्रयास गरेका छन् ।

यति हुँदा हुँदै उनका कथाहरु यसअघि नै लेखि सकिएका र भनि सकिएका कथाको पुनरावृत्ति जस्तै लाग्छन् । सामान्य पात्रहरु पनि झकिझकाउ भएर आउँदा मूल पात्रहरु ओझेलमा परेको महसुस हुन्छ ।

सिड्नी सपना

 

सानु घिमिरेको उपन्यास ‘सिड्नी सपना’ नेपाली युवाहरुको अस्टे«लिया सपनामा आधारित छ । दुई साता अघि नै बजारमा आएको हो ।

अस्ट्रेलियामा बसोबास गर्ने भएका कारण पनि लेखिकाले उपन्यासमा अस्ट्रेलिया जाने र त्यहाँ नेपाली युवाले भोग्ने समस्यालाई गम्भीररुपमा उठाएकी छन् । उपन्यासमा नेपाली अभिभावकको मनोविज्ञान पनि राम्रोसँग देखाइएको छ ।

‘सिड्नी सपना विशुद्ध डायस्पोरिक उपन्यास हो । डायस्पोरिक लेखन कस्तो हुनुपर्छ भन्ने प्रश्नको जबाफ दिने प्रयासमा र अस्ट्रेलियामा नेपालीहरुको अवस्थाको विषयमा यो लेखिएको हो ।’ अस्ट्रेलियाबाट आफ्नो उपन्यासका विषयमा सानु घिमिरेले अनलाइनखबरसँग भनिन्, ‘उपन्यासले विदेशमा नेपालीहरुले पनि भोगिरहेका ‘लिभिङ् टुगेदर, विवाहत्तोर सम्बन्ध र त्यससँगै आउने यौन हिंसाको अवस्थालाई पनि उठाउने प्रयास गरेकी छु ।

यो उनको पहिलो आख्यानात्मक कृति हो । सानु घिमिरेले यसअघि एउटा कविता सङ्ग्रह प्रकाशन गरिसकेकी छन् ।

संसदमा पहिलो पाइला

संसदमा पहिलो पाइला संविधानसभा सदस्य एवं सांसद अनारकली मियाको संस्मरणात्मक कृति हो । दोस्रो संविधानसभामा तत्कालीन नेकपा (एमाले) बाट समानुपातिक सभासद रहेकी मियाले बाल्यकालदेखि सभासद हँदै नयाँ संविधान जारीपछि सिर्जित नयाँ परिस्थितिसम्मका विषयवस्तुलाई पुस्तकमा समेटेकी छिन् ।

सल्यानको दुर्गम त्यसमाथि मुस्लिम समुदायमा जन्मिएकी अनारकली मियाले तत्कालीन समाजमा पढ्न र राजनीति गर्न गरेको गरेको संघर्ष प्रेरणादायी छ ।

शिक्षा र चेतनाले ग्रस्त समाज, छोरीमाथि हेरिने दृष्टी, जात, धर्म र संस्कृतीका अनेक उल्झनका बिरुद्ध सचेततापूर्वक कदम उठाएकी एक बिद्रोही मुस्लिम महिलाको कथा हो –संसदमा पहिलो पाइला ।

अन्तरजातीय मात्र होइन अन्तरधार्मिक प्रेम विवाह गरेर साँचो अर्थमा समाज रुपान्तरणको कदम उठाउने मिया जोडीको प्रेम बिद्रोह रोचक तवरले प्रस्तुत गरिएको छ ।

यसका अतिरिक्त सुरेन्द्रप्रताप रानाको ‘दरबारको दुखान्त’ शीर्षकको अर्को पुस्तक पनि यो साता बजारमा आएको छ ।
यो पनि पढ्नुहोस पुस्तक चर्चा : दरबार हत्याकाण्डबारे (अ) प्रत्यक्षदर्शीको वर्णन कति पत्यारिलो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment