Comments Add Comment

प्रदेश ३ को नाम गौरीशंकर राख्न काठमाडौंमा छलफल

१२ जेठ, काठमाडौं । प्रदेश ३ को नाम गौरीशंकर राख्नुपर्ने प्रस्तावमा केन्द्रित भएर बहस सुरु भएको छ ।

प्रदेश ३ का प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुले प्रदेश ३ को नामाकरण गौरीशंकर राख्नुपर्ने प्रस्तावमा केन्द्रित भएर आइतबार काठमाडौंमा बहस सुरु गरेका हुन् । प्रदेश सांसद विशाल खड्काले प्रदेश ३ को नाम गौरीशंकर राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गराएपछि सो सम्बन्धमा विज्ञहरुसहितको बहस सुरु भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद एवम् पूर्वमन्त्री राजेन्द्र पाण्डेले नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा अझै परिचित गराउन प्रदेश ३ को राजधानीको नाम गौरीशंकर राख्न उपयुक्त हुने धारणा राखे । उनले ७ वटा प्रदेशमध्ये अन्य प्रदेशले हिमालको नामबाट नामाकरण नगरेकाले पनि प्रदेश ३ को नामाकरण हिमालको नामबाट राख्न उपयुक्त देखिएको तर्क पनि गरे ।

प्रदेश सांसद खड्काले नेपालको पहिचान हिमाल पनि भएकाले आफूले प्रदेश ३ को नाम गौरीशंकर हिमाल राख्न उपयुक्त हुने प्रस्ताव प्रदेश सभामा पेश गरेको बताए ।

उनले प्रदेश ३ हिमालय श्रृङ्खलाहरुको बाहुल्यता रहेकोे प्रदेश भएकाले पनि यहाँका सबै समुदायको साझा प्रस्तावको रुपमा गौरीशंकर हिमाललाई अघि सारिएको बताए । प्रदेशसांसद पशुपति चौंलागाईंले पनि प्रदेश ३ को नामाकरण गौरीशंखर नै राख्नुपर्ने अडान राखे ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरु पार्वत गुरुङ, जिपछिरिङ लामा, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, नेपाली कांग्रेस दोलखा जिल्ला कार्य समितिका सभापति रुद्रबहादुर खड्काले प्रदेश ३ को नाम गौरीशंकर राख्ने प्रस्तावमा सहमति जनाए ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठले गौरीशंकर नाम सबैको साझा हुन सक्ने बताए । संस्कृतिविद् डा. जगमान गुरुङले गौरीशंकर हिमालको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वको बारेमा चर्चा गरेका थिए । संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाका सदस्यहरुको दुई तिहाई बहुमतले सम्बन्धित प्रदेशको राजधानी र नामाकरण गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment