Comments Add Comment

नवलपुरमा ट्रकमा पेट्रोल बम प्रहार, चालक घाइते

१३ जेठ, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरमा एक ट्रक र एक जिपमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइतेसमेत भएका छन् ।

सोमबार बिहान २ बजेतिर मध्यबिन्दु नगरपालिका–११ दाउन्नेमा लु २ ख १०८ नम्बरको सिमेन्ट लोड गरेको ट्रकमा विप्लव समूहका कार्यकर्ताले पेट्रोल बम हानेको डन्डा प्रहरीले जनाएको छ ।

पेट्रोल बम प्रहारबाट ट्रक अनियन्त्रित भइ सडकबाट अन्दाजी ५ मिटर तल खसेर आगो लागेको थियो । घटनामा ट्रक चालक तनहुँको ब्यास नगरपालिका ४ बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहार जलेको छ । उनको स्थानीय मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ । सहचालकको अवस्था भने सामान्य छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी नायव निरीक्षक जनक बुढा नेतृत्वको टोलीले बिहान करिब ३ बजेतिर ट्रकमा लागेको आगो निभाएको थियो । घटनास्थल डण्डा प्रहरी चौकीबाट करिब १ किलोमिटर पूर्व पर्दछ ।

यसैगरी कावासोती नगरपालिका–१६ पत्थरखोला पुल नजिकै गुडिरहेको बा ३ च ९३ नम्बरको जिपमा पनि पेट्रोल बम प्रहार भएको छ । सोमबार बिहान करिब साढे ३ बजेतिर खाली जिपमा विप्लव समूहका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । पेट्रोल बम प्रहारबाट जिपमा राखिएको त्रिपाल पूर्णरुपमा जलेको छ ।

यसैगरी नवलपुरकै बुलिङटार गाउँपालिका अध्यक्षको घर नजिक सिलिण्डर विष्फोट गराउने प्रयास असफल भएको छ । गाउँपालिका अध्यक्ष शशीकिरण बास्ताकोटीको घरभन्दा करिब ३०० मिटर पूर्व श्रीधर गिरीको खेतमा सिलिण्डर विष्फोट गराउने प्रयास गरिएको थियो ।

खेतमा मोटरसाइकलको टायर र दाउरा बालेर सिलिण्डर बिष्फोट गराउन खोजिएको तर सिलिण्डरको क्यापबाट ग्यास लिक भएर नपड्किएको प्रहरीले जनाएको छ । सिलिण्डर पड्काउने प्रयास कसले गरेको भन्ने खुलेको छैन । तर, यसमा पनि विप्लव समूहकै संलग्नता रहेको प्रहरीको अनुमान छ ।

बन्दका कारण पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलेका छैनन् । नवलपुरका मुख्य बजार क्षेत्र पनि सुनसान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment