Comments Add Comment

विप्लव समूहबारे गुप्तचरको रिपोर्ट- प्रधानमन्त्री कार्यालयबाटै हेलचक्रयाइँ

१४ जेठ, काठमाडौं । आजका पत्रिकाहरु विप्लव समूहप्रति प्रधानमन्त्री र गृहमन्त्रीले दिएका अभिव्यक्ति तथा आर्थिक सर्वेक्षणमा केन्द्रित छन् । धेरैजसो पत्रिकाहरुले सरकार विप्लव समूहप्रति कठोर बनेको निष्कर्षसहित समाचार लेखेका छन् ।

प्रधानमन्त्री ओलीले मानवअधिकार आयोगको एक कार्यक्रममा विप्लव समूहलाई आतंककारीको संज्ञा दिएका थिए । यसैगरी गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्ला घटनाबारे संसदमा जानकारी दिँदै काठमाडौंमा भएका श्रृंखलावद्ध विष्फोटमा मारिनेहरु अनागरिक रहेको अभिव्यक्ति दिएका थिए ।

नागरिक दैनिकले भने विप्लव समूहको गतिविधिबारे गुप्तचर निकायले पूर्वजानकारी दिँदादिँदै पनि प्रधानमन्त्री कार्यालयबाट हेलचक्र्याइँ भएको समाचार छापेको छ । समाचारमा लेखिएअनुसार राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले एक साताअघि नै मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेटेर विप्लव समूहको आउजाउ बढेको, बैठक भेलाहरु सुरु भएको र त्यसमा जेसुकै निर्णय गर्न सक्नेगरी उनीहरु अघि बढेको भन्ने सूचना दिएका थिए । बिभागले प्रत्येक दिन खामबन्दी रिपोर्ट प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई पनि बुझाउने गरेको छ । किनभने हाल राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत ल्याइएको छ ।

तर पनि ‘राष्ट्रिय अनुसन्धान विभागले दिने सूचनामा पिनप्वाइन्ट नहुने भएकाले प्रधानमन्त्री कार्यालयले गम्भीरताका साथ नलिने गरेको अनुसन्धान विभागको अनुभव छ,’ समाचारमा लेखिएको छ । नागरिक दैनिक थप लेख्छ– भोजपुरमा प्रहरी कारवाहीमा गोली लागेका तीर्थराज घिमिरेको मृत्युदेखि नै उनीहरु राजधानी र देशका ठूला सहर केन्द्रित गुप्त गतिविधिमा संलग्न थिए । तर, यो विषयलाई प्रधानमन्त्री कार्यालयले बेवास्ता गरेको र राष्ट्रिय अनुसन्धानको सूचनालाई कमजोर ठानेकाले काठमाडौंमा विस्फोटका घटना भएको स्रोतको दाबी छ ।

कान्तिपुर दैनिकले काठमाडौंमा भएका बम विष्फोटका घटनामा सुरक्षा निकायको कमजोरी केलाउने प्रयास गरेको छ । ‘कहाँ चुके सुरक्षा निकाय ?’ शीर्षकको समाचारमा लेखिएको छ– आइतबार अपराह्नदेखिका श्रृंखलाबद्ध विष्फोट, विष्फोटक पदार्थहरु फेला पर्नुले चन्द समूहका कार्यकर्ता राजधानीमा राम्रै सक्रिय छन् भन्ने देखाएको छ । समूहका गतिविधिमा प्रतिबन्धको घोषणापछि पनि चन्द समूहका कार्यकर्ता यसरी सक्रिय रहनुले सुरक्षा निकाय कहाँ चुक्दै छ भन्ने प्रश्न खडा गरेको छ ।

तर, नेपाल प्रहरी प्रमुख सवेन्द्र खनाल भने प्रहरी र गुप्तचर निकाय कहिँ नचुकेको दाबी गर्दछन् । उनले नयाँ पत्रिका दैनिकसँग कुराकानीको क्रममा प्रहरी बलियो भएकैले विप्लव समूहका कार्यकर्ताहरुले विष्फोटक पदार्थ घर बाहिर ल्याएर पड्काउन नसकेको बताएका छन् ।

उनले भनेका छन्, ‘प्रहरीसँग प्रस्ट योजना छ । योजनाअनुसार नै हामीले काम गरिरहेका छौं । हाम्रो योजनाकै कारण उनीहरुले घरबाट बाहिर निस्किएर विष्फोट गर्न नसकेका हुन् । प्रहरीको उपस्थितिले नै घरभित्रै उनीहरु आत्तिएर बम पड्किने अवस्था आएको छ । प्रहरी बलियो भएकाले नै सर्वसाधारणलाई लक्षित गरेर विष्फोट गर्ने उनीहरुको योजना असफल भएको हो ।’

कान्तिपुर दैनिकमा मुलुक साढे १० खर्ब ऋणमा रहेको मुख्य समाचार छ । डलरको मूल्य वृद्धि र वैदेशिक ऋण बढ्नाले नेपालको ऋणभार चुलिएको समाचारमा उल्लेख छ । समाचार लेखिएअनुसार हरेक नेपालीको थाप्लोमा ३६ हजार रुपैयाँ ऋण भार छ । यो सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा टेकेर लेखिएको समाचार हो ।

कारोबार दैनिकले भने आर्थिक विकासको बलियो आधार मानिएको वैदेशिक ऋण तथा सहायताको अंश भने घट्दै गएको समाचार लेखेको छ । विकास साझेदारले नपत्याएकाले त्यसको असर आगामी बजेटमा पर्न सक्ने समाचारमा उल्लेख छ । समाचारमा लेखिएको छ, ‘विकास साझेदारलाई विश्वासमा लिन नसकिए यसबाट आगामी आर्थिक वर्षको स्रोत व्यवस्थापनमा समेत थप कठिन हुने देखिएको छ । नेपालको आफ्नै आन्तरिक स्रोतले बजेट खर्च धान्न धौधौ पर्दै गइरहेको छ ।’

राजधानी दैनिकले आर्थिक परिसूचक उत्साहजनक रहेको समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment