Comments Add Comment

करिश्माको प्रश्न–‘बालाजुको एनएफडीसीको २७ रोपनी जग्गा खै ?’

केही बर्ष अगाडिसम्म पनि बालाजुमा रहेको एनएफडीसी परिसरमा पुग्दा चलचित्रकर्मीले नै गर्व गर्ने ठाउँ थियो । ठूलो क्षेत्रफलमा फैलिएको स्थानमा इनडोर स्टूडियो थियो । चलचित्र प्रशोधनको ल्याबदेखि पुराना चलचित्रका नेगेटीभ सबै थिए । तर, अहिले सो स्थानको जग्गा खुम्चिएर ६.७५ रोपनीमा आइपुगेको छ ।

यो बिषयमा चलचित्र विकास बोर्ड पनि जानकार छ । नेपाल सरकारले ल्याएको नयाँ बजेटमा काठमाण्डौमा इनडोर स्टूडियो बनाउने बताइएको छ । तर, यसका लागि बालाजुको जग्गा अहिले पर्याप्त छैन ।

यो बिषयमा नायिका करिश्मा मानन्धरले प्रश्न उठाएकी छिन् । करिश्माले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्–‘बालाजु औद्योगिक क्षेत्रमा रहेको एनएफडीसी जुन चलचित्र क्षेत्रको विकास प्रवद्र्धनको लागि उपलब्ध गरिएको थियो, जहाँ नेपाली चलचित्रले आफ्नो शैशव काल बिताउँदै आजको यात्रा सम्म आइपुगेको छ । पर्दामा देखिने कलाकारदेखि यूनिलाई चिया बनाउने स्पोर्ट बोइसम्मको दिन रात त्यही वित्थ्यो । हरेक चलचित्रकर्मील्े आफ्नो घर जस्तो महशुश गर्ने ठाउँ थियो ।’

करिश्माले अगाडि लेखेकी छिन्–‘२७ रोपनी जग्गा जहाँ भवन, स्टूडियो, उपकरणहरु सबै थिए । तत्कालिन लिज होल्डर डीबी थापाले उद्धव पौडेललाई लिजमा बेच्नुभयो । त्यसपछि न त्यो ठाउँको संरक्षण भयो, न सिनेमाका काम जसरी हुन्थ्यो त्यो नै भयो ।’ उनले आज आफूले अब त्यहाँको जग्गा लिजमा मात्र होइन, सबै बेचविखन भएको आफूले सुनेको भनेर पनि उल्लेख गरेकी छिन् । पब्लिक शेयर भएको, सरकारी सम्पत्ती कसरी बेचविखन भयो भनेर उनले तुरुन्तै छानविनको माग समेत गरेकी छिन् ।

करिश्माले यो बिषयमा अरु कोही नबोलेपनि आफू बोल्ने उल्लेख गरेकी छिन् । चलचित्र विकास बोर्डलाई पनि अहिले जम्मा ६.७५ रोपनी जग्गा मात्र भएको जानकारी दिइएको छ । आखिर, एनएफडीसीको सरकारी जग्गा २७ रोपनीबाट खुम्चिएर ६.७५ रोपनीमा मात्र कसरी आयो, पक्कै चलचित्र विकास बोर्डले छानविन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment