Comments Add Comment

वीरगञ्जबारे एक विद्यार्थीको निबन्ध

वीरगञ्जलाई व्यवस्थित बनाउन एकताको खाँचो

नेपालमा भएका ६ वटा महानगरपालिका मध्ये वीरगञ्ज एउटा हो । जहाँबाट देशकै सबैभन्दा बढी राजश्व असुली हुन्छ । यसलाई व्यापारिक हबको रुपमा पनि चिनिन्छ । पर्सा जिल्लामा भएको १४ वटा स्थानीय तहअन्र्तगत सबैको केन्द्रविन्दुको रुपमा वीरगञ्ज नै छ ।

वीरगञ्जमा अहिले विकासको लहर चलेको छ । तर पनि अपेक्षाकृत विकास नभएको गुनासो नगरबासीको छ । जस्तै ट्राफिक अव्यवस्था, सरसफाईमा समस्या, अव्यवस्थित पार्किङ, अव्यवस्थित सहरीकरण, अव्यवस्थित बजारीकरण लगायतका थुप्रै समस्याबाट वीरगञ्ज ग्रसित छ, भन्ने कुरा सबै नगरबासीलाई थाहा छ ।

अव्यवस्थित रुपमा गुज्रिरहेको वीरगञ्जलाई व्यवस्थित बनाउन मेरो कर्तव्य तथा भूमिका के हो त ? कुनैपनि कुराको सुरुवात आफूबाट गर्नुपर्छ । तसर्थ मैले व्यवस्थित वीरगञ्ज बनाउन मबाट त्यस्तो अव्यवस्थित काम हुँदैन भनेर प्रतिज्ञा गर्नुपर्छ । एउटा विद्यार्थीको रुपमा मैले जति सक्दो मद्दत गर्नुपर्छ । आफ्नो घरपरिवार, छरछिमेक र साथीहरुमा यसबारे जनचेतना जगाउनको साथै यस विषयमा प्रकाश पार्न सफल भयो भने अलिकति भए पनि सघाउ पुग्छ । यसका लागि सम्पूर्ण नगरवासीको साथ आवश्यक छ ।

किन हामी विभिन्न कुरामा बाँडिन्छौं ? कोही भन्छन्, म पहाडी, कोही भन्छन म मधेसी । यदि यही पारामा हिँड्ने हो भने कहाँबाट हुन्छ एकता ? अनि कसरी हुन्छ विकास ?

हाम्रा पूर्खाहरुले वीरगञ्जलाई व्यवस्थित बनाएर छाडेका थिए तर हामीले यसलाई अव्यवस्थित बनाएका छौं । यदि सबै नगरबासीले ठाने कि अब हामी वीरगञ्जलाई व्यवस्थित बनाउँ, तब वीरगञ्ज व्यवस्थित बन्न पुग्छ । संस्कृतमा एउटा भनाई छ ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात आम र आफू जन्मेको ठाउँ स्वर्ग जस्तै हुन्छ । व्यवस्थित वीरगञ्ज बनाउन कुनै एक व्यक्तिको भूमिका व्यर्थ हुन्छ त्यसका लागि सम्पूर्ण निकाय र नगरबासीले आफ्नो काम ईमान्दारीका साथ निर्वाह गरे भने वीरगञ्ज स्वर्ग जस्तै नहोला, तर व्यवस्थित अवश्य हुन्छ ।

मेरो विचारमा वीरगञ्जलाई व्यवस्थित बनाउन सर्वप्रथम फोहोर व्यवस्थापन हुनुपर्छ । आ–आफ्नो घरबाट निस्कने फोहोरलाई नगरबासीले निश्चित ठाउँमा राख्नुपर्छ । महानगरपालिकाले उठाएर डम्पिङ साईटमा लैजानुपर्छ । एउटा फाईदा त यसो गर्दा फोहोरबाट दुर्गन्ध फैलदैन । अर्को बाहिरबाट आउनेले वीरगञ्ज सफा देख्छन् । त्यसपछि अरु अव्यवस्थित पक्षमा ध्यान दिनुपर्छ । व्यवस्थित वीरगञ्ज अभियानमा नागरिक मात्र नभई स्थानीय सरकार पनि जोडिनुपर्छ । फोहोर व्यवस्थापनका लागि टोल टोलमा डस्टवीन वितरण, ट्राफिकलाई व्यवस्थापन गर्न रुट निर्धारण र फराकिलो सडक निर्माण हुनु आवश्यक छ ।

अव्यवस्थित शहरीकरणले गर्दा हरेक वर्ष धेरै मानिस वीरगञ्ज छोडेर गईरहेका छन् । यसका लागि पनि स्थानीय सरकारले नियम कानुन बनाउनुपर्छ । ट्राफिक अस्तव्यस्तताका कारण हरेक वर्ष धेरै मानिसहरुले आफ्नो ज्यान गुमाउने गरेका छन् ।

वीरगञ्जमा यसका लागि विभिन्न नियम कानुनहरु लागु भयो तर फाईदा केहि भएन । हरेक वर्ष ६० देखि ७० जना मानिस सडक दुर्घटनाबाट ज्यान गुमाउने गर्छन् । यसका लागि वीरगञ्जमा जनचेतनामूलक कार्यक्रमका साथै अन्य कार्यक्रम गर्नुपर्छ । जसले गर्दा मानिसहरुमा चेतना फैलियोस । सडकको प्रयोग कसरी गर्ने भनेर सिकुन् ।

अव्यवस्थित बजारीकरणले गर्दा विभिन्न ट्राफिक समस्याहरु आउने गर्दछन् । त्यसका लागि स्थानीय सरकारले ठाउँ निर्धारण गर्नुपर्छ । हामीलाई थाहा छ, स्थानीय सरकारले मात्रै केहि गर्न सक्दैन, यसमा सम्पूर्ण नगरबासीको भूमिका आवश्यक छ । म जस्ता युवाले योगदान दिन सक्छन् । युवा एउटा यस्तो शब्द हो जसलाई उल्ट्याउँदा ‘वायु’ बन्दछ, बायु एउटा यस्तो तत्व हो जसले ठूला ठूला चट्टानहरुलाई हल्लाउने क्षमता बोकेको हुन्छ ।

व्यवस्थित वीरगञ्ज अभियानमा सबै नगरबासी सहभागी भएर यसमा बनेका नियम कानुनको पालना गर्नुपर्छ । व्यवस्थित वीरगञ्ज अभियानबाट वीरगञ्ज अमेरिका जस्तो त बन्न सक्दैन । तर, नेपालकै सबैभन्दा व्यवस्थित ठाउँ त पक्का बन्न सक्छ । सडकमा हिड्दा, सवारी साधन चलाउँदा मोबाइएल प्रयोग गर्नु हुन्न । तर, यसको पालना कोहि गर्दैनन् । यसैकारणले कतिपयको ज्यान गएका घटना पनि छन् । हामी त्यसलाई नजरअन्दाज गर्छौ । ट्राफिक नियमको पालना नगर्ने अनि त्यसमा आफ्नो गल्ती स्वीकार नगरेर ट्राफिकलाई नै दोष दिन्छौं । नियमकानुन तोडेर भन्छौं, ‘नेपालमा सब चल्छ । ’ आफैं गल्ती गर्ने र देशलाई दोष दिने ?

वीरगञ्जमा भएका ऐतिहासिक ठाउँहरु जस्तै घण्टाघरले वीरगञ्जको पर्यटनमा मद्धत पुर्‍याउँछ । शंकराचार्य गेट, माईस्थान मन्दिर, घडिअर्वा पोखरी लगायत अन्य ठाउँहरुको पनि संरक्षण गर्नुपर्छ । यसमा मेरो मात्रै होईन, वीरगञ्जमा बस्ने प्रत्येक नागरिकको भूमिका छ, वीरगञ्जलाई अव्यवस्थित बनाउने गतिविधि भइरहेको छ भने हामीले सम्बन्धित निकायमा तुरुन्त खबर गर्नुपर्छ ।

नगरका विभिन्न स्थानमा ट्राफिक नियमका बोर्डहरु लगाईएको छ, त्यसको सबैले पालना गर्नुपर्छ । तर, यहाँ १०० जनामा १० जनाले मात्रै पालना गर्छन् ।

वीरगञ्जलाई व्यवस्थित बनाउनका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको आपसी एकता नै हो । एकता भएन भने कुनै पनि काम सफल हुन सक्दैन । तर, पनि किन हामी विभिन्न कुरामा बाँडिन्छौं ? कोही भन्छन्, म पहाडी, कोही भन्छन म मधेसी । यदि यही पारामा हिँड्ने हो भने कहाँबाट हुन्छ एकता ? अनि कसरी हुन्छ विकास ? सबैले आ–आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्ने हो भने वीरगञ्ज व्यवस्थित हुन बेर लाग्दैन ।

(आदर्श शिवम कर्ण, वीरगञ्ज स्थितकञ्चनजंघा माविमा कक्षा १० मा अध्ययनरत छन् । जेठ ११ गते भएको ‘व्यवस्थित वीरगञ्ज अभियानमा मेरो भूमिका’ विषयक निबन्ध प्रतियोगितामा उनले लेखेको यो निबन्ध प्रथम भएको थियो । उनलाई जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नगद १५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको थियो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment