Comments Add Comment

समयमा काम नसक्ने ठेकदारले उन्मुक्ति पाउँदैन : मन्त्री महासेठ

मध्यपहाडी र हुलाकी राजमार्ग समयमा सक्न संसदीय समितिको निर्देशन

Photo Credit : रासस

१७ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले समयमा काम नसक्ने ठेकदारको ठेक्का सम्झौता खारेज गर्ने बताएका छन् ।

शुक्रबार संसदको विकास तथा प्रविधि समितिमा उनले विकास निर्माणमा ढिलासुस्ती रोक्न सार्वजनिक खरिद नियमावली सशोधन गरिएको भन्दै समयमा काम नसक्ने ठेकदारले उन्मुक्ति नपाउने बताएका हुन् ।

‘नेपाल सरकार, सम्बन्धित विभागको निर्देशन नमान्ने, राजनीतिक पावरका आधारमा काममा ढिलासुस्ती गर्नेलाई कारबाही गर्न लागिरहेका छौं’, मन्त्री महासेठले भने, ‘त्यस्ता ठेक्का सम्झौताहरु नियमावली अनुसार खारेजीमा जान्छन् । कालोसूचीमा पर्छन् ।’

सरकारले गरेको नियमावली संशोधनको विरोधमा निर्माण व्यवसायी आन्दोलनमा उत्रिसकेका छन् । तर मन्त्री महासेठले संशोधित व्यवस्थाले निर्माण व्यवसायीलाई नै फाइदा पुग्ने दावी गरे । ‘आज सम्झौता गरेर भोलिदेखि नै काम गर्ने वातावरण बनेको छ । यो कुराको ग्यारेण्टी भएपछि व्यवसायीलाई नै थप सहज हुन्छ’ उनले भने ।

दुई राजमार्ग समयमा नै सक्न निर्देशन

संसदको विकास समितिले शुक्रबारको बैठकमा मध्यपहाडी र हुलाकी राजमार्गको कामको प्रगतिबारे छलफल गरेको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठ र सचिव देवेन्द्र कार्कीसँग छलफलपछि समितिले दुबै आयोजनालाई समयमा सक्न आग्रह गरेको हो ।

छलफलमा मन्त्री महासेठले आर्थिक वर्ष २०७९/८० सालसम्म दुबै आयोजना सम्पन्न गरिने प्रतिवद्धता व्यक्त गरे । ‘यी दुई वटा आयोजना मात्रै होइन । राष्ट्रिय गौरवका अन्य आयोजनाहरु पनि २०७९/८० सालसम्म जसरी पनि सम्पन्न गर्ने सरकारको योजना छ’ मन्त्री महासेठले भने ।

पुल निर्माण निराशाजनक

मध्यपहाडी र हुलाकी राजमार्गमा पुल निर्माण प्रगति निराशाजनक रहेको पाइएको छ । मध्यपहाडी राजमार्गमा १३३ वटा र हुलाकी राजमार्र्गमा २१९ वटा पुल निमार्ण गर्नुपर्ने सरकारी तथ्याङ्क छ ।

त्यसमध्ये मध्यपहाडी राजमार्गमा ७० वटा मात्र निर्माण भएको छ, २६ वटा निर्माणको क्रममा छ । १४ वटा पुलसर्भे डिजाइन हुने चरणमा रहेको छ ।

हुलाकी राजमार्गमा भने ८० वटाको निमार्ण सकिएको छ भने ८० वटा निमार्णाधीन अवस्थामा छ । ५९ वटा पुलको डिजाइन तयार हुने क्रममा छ । निर्माणाधीन ८० मध्ये अधिकांशको सम्झौताअनुसार ठेक्का अवधि सकिएको मन्त्रालयका सचिव कार्कीले समितिलाई जानकारी गराए ।

सम्झौता अवधि सकिएको ६ वर्षसम्म निर्माणाधीन !

सिन्धुलीको साङ्गसाङ्ग खोला/सोखु खोलामा निमार्णाधीन पुलको ठेक्का सम्झौता २०७० पुस २८ गते सकिएको थियो । हालसम्म पनि यसको ठेक्का तोडिएको छैन ।

मन्त्रालयको तथ्याङ्कमा हाल सोखु खोलामा पुल निर्माण भइरहेको उल्लेख छ । ‘निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमा काम हुन नसकेको र बारम्बार लिखित तथा मौखिक ताकेता गरिएको’ मन्त्रालयले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ । यो पुलको काम ७० प्रतिशतमात्रै सकिएको छ ।

सिन्धुलीकै बहादुरे खोलामा निमार्णाधीन पुलको ठेक्का सम्झौता पनि २०६८ असार २४ गते सकिएको थियो । पटक पटक म्याद थपिएको यो पुलको काम ५७ प्रतिशत सकिएको छ ।

पाँचथरको ओसम खोलाको पुल २०७५ मंसिर २२ गने नै सकिनुपर्ने थियो, त्यस्तै सुखा खोला पुल २०७५ फागुन २८ गते तयार हुनुपर्ने थियो । हाल यी दुबै पुलको म्याद थप गर्न ठेकदारले माग गरेको मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए ।

पाँचथरकै खण्डुवा खोलाको पुल निर्माणको ठेक्का सम्झौता २०७५ चैत २९ गते र छाङ्गे खोलाको पुल निमार्णको ठेक्का सम्झौता २०७५ माघ २९ गते सकिएको थियो । यी आयोजनाको पनि म्याद थपका लागि फाइल पेश भएको छ । खण्डुवा खोलाको पुल जम्मा १० प्रतिशत र छाङ्गे खोलाको ५० प्रतिशत सकिएको छ ।

तेह्रथुमको खोरुङ्गा खोला, धनकुटाको मङ्गमाया खोला, खोटाङ्को पङ्खु खोला, भुल्के खोला र दौन्ते खोला, सिन्धुलीको बहादुरे खोला, साङ्गसाङ्ग खोला, बागलुङ्को खहरे खोला, रुकुमको रेली खोला र पश्चिम रुकुम÷जाजरकोटको भेरी खोलामा निमार्णाधीन पुलहरुको ठेक्का सम्झौता पनि सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment